विविधतासँगै दर्शकको रूचिलाई ख्याल गर्नुपर्छ -अजय स्याङ्तान

नेपाली नृत्य विधामा काम गर्दा आफूलाई खुसी लाग्ने र यसै क्षेत्रमा निरन्तर लागिरहने मनसाय बनाएका हालका चर्चित नृत्य निर्देशक अजय स्याङ्तानले तामाङ, भोजपुरी, मैथली, मगर, राई भाषाका चलचित्रहरुमा नृत्य निर्देशकको भूमिका निभाइसकेका छन् । व्यस्त नृत्य निर्देशकको पहिचान बनाइसकेका स्याङ्तान सङ्ख्यात्मकभन्दा गुणात्मक रुपमा काम गर्ने भएकाले चलचित्र निर्माता तथा निर्देशकको नजरमा पर्न सफल छन् । विभिन्न सङ्घ–संस्थाबाट सम्मानित स्याङ्तानले डी सिने अवार्ड, बक्स अफिस फिल्म अवार्ड, तामाङ फिल्म तथा म्युजिक अवार्ड, अल ईण्डिया भोजपुरी तथा मैथली फिल्म अवार्ड हात पारिसकेका छन् । पहिलोपटक चलचित्र ‘अँगालो अँगालोमा’ सहायक नृत्य निर्देशकको रुपमा काम गरेका उनले ६ दर्जनभन्दा बढी चलचित्र र आठ सय जति म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनीसँग मिलापले गरेको सङ्क्षिप्त कुराकानीः-

यो रङ्गीन दुनियाँमा कसरी प्रवेश गर्नुभयो ?
‘घामछायाँ’ भन्ने फिल्ममा कोरस नृत्यबाट म नेपाली चलचित्र दुनियाँमा प्रवेश गरेको हुँ । त्यसपछि २०५९ सालमा भोजपुरी फिल्म ‘घर ज्वाइँ’बाट नृत्य निर्देशन सुरू गरेको हुँ ।

नृत्य निर्देशनलाई नै जोड दिनुको कारण  ?
गाउँमा पूजा, विवाह, व्रतबन्ध आदि हुँदा गाना बज्नेबित्तिकै कुदि हाल्थेँ । नाच्न भनेपछि साह्रै रमाइलो लाग्थ्यो । स्कुल जाँदाजाँदै बाटोमा कसैको विवाह भएको देखे विद्यालय नै जान छोडेर म उतै नाचेर बस्थेँ । मेरो अभिरूचिको विषय भएका कारण पनि यही पेशामा लागेको हुँ ।

नृत्यको प्रशिक्षण कहाँ लिनुभयो  ?
भारतको हैदरावादको कृष्ण गल्लीमा तालिम लिएको हुँ । गाउँका साथीहरुसँग विहार गएको थिएँ । नृत्यमा नै मेरो रूचि रहेको थाहा भएपछि आफन्तहरुको सहयोगमा हैदरावादमा तालिमका लागि पठाउनुभयो । उहाँहरुको सहयोगले म त्यहाँ ४ वर्ष बसेँ । २०५२ सालदेखि ५६ सालसम्म बसेपछि म ०५६ मा नेपाल फर्कें । मोर्डन डान्स, ब्रेक डान्स सिकेर नेपाल आएपछि नेपाली डान्सबिना नेपालमा काम पाउन गाह्रो हुने भएकाले काठमाडौंमा छ महिना नेपाली डान्स सिकेँ ।

कसरी नृत्य निर्देशकका रुपमा स्थापित हुन सफल हुनुभयो त  ?
सुरूमा मैले नाच्ने क्रममा स्व. वसन्तजंग रायमाझीसँग भेट भयो । उहाँको असिस्टेन्टका रुपमा काम गरँे । यही क्रममा विभिन्न डाइरेक्टरहरुसँग सङ्गत भयो । उहाँहरुसँगै काम गर्दागर्दै मूलधारका चलचित्रमा काम गर्न थालियो । मुख्यगरी निर्माताहरु चिन्ने मौका पाइयो । यसरी एकपछि अर्को गर्दै आजको अवस्थामा पुग्ने अवसर मिल्यो ।

चलचित्रमा नृत्य गर्नेहरुको पारिश्रमिक कम छ, काम गर्न गाह्रो छ भन्छन् नि  ?
पारिश्रमिकको त कुरै छाडौैं, पाउरोटी, चिया र चनाको भरमा कति काम गरियो गरियो । पारिश्रमिक पाउने भनेको त उस्तै हो । निर्माताको, निर्देशकको समस्या छँदै थिए । सँगैका साथीहरु पलायन भए । कोरसले पैसा मागेर हैरान पार्थे । कति दिन त काठमाडौंमा भोकै पनि बस्नुप¥यो । पैसाका लागि स्टुडियो स्टुडियो धाउनु त दिनचर्या नै बनेको थियो ।

अहिले कस्तो छ त यो अवस्था  ?
नृत्यमा धेरै सुधार आएको छ । पहिला पश्चिमी शैलीको नाच गर्दा भात खान पनि पाइन्न, जा नेपाली सिक भन्थे, मैले पश्चिमी शैलीको थालनी गर्दा समस्या नै आएको थियो । तर, अहिले पूरै चेन्ज भएको छ । पश्चिमा शैलीमा नृत्य भएन भने अहिलेका कोरियोग्राफरले भात खान पनि पाउन्नन् । अहिले डिजिटलाइज भएपछि धेरै कुरा परिर्वतन भएको छ । पहिला वान टेक ओके भए ठीक थियो तर अहिले यो उल्टो नै भएको छ । जति सक्दो नयाँ प्रविधिको प्रयोग गर्न स्टाइल चाहिने भएका कारण यो पेशामा आउनेहरुलाई पनि सजिलो नै भएको छ । पहिलेको अवस्था र अहिले हेर्ने हो भने त आकाश र जमीनको फरक भएको छ ।

अहिले तपाईंको दैनिकी कसरी चलेको छ  ?
दैनिकी नै अहिले नृत्यमा बितेको छ । महिनाको कम्तीमा २ वटा चलचित्र, ५ देखि ६ वटा म्युजिक भिडियो आउने गरेको छ । भ्याउन नै मुस्किल हुने गरेको छ ।

निर्माता, निर्देशकको पहिलो रोजाइमा पर्नुको कारण  ?
अरूले एउटा गीतका लागि ५ देखि ७ दिन लगाउँछन् तर म त्यही काम २ दिनमा सक्छु । यस हिसाबले प्रोडुसरको पैसा पनि जोगिने, छिटो पनि हुने । अनि त काम पाउन सहज भइहाल्छ नि ।

ख्यातिचाहिँ कत्तिको कमाउनुभएको छ  ?
भोजपुरी चलचित्रको आइटम डान्सका कारण म राइजमा आएँ । यसैको प्रभावस्वरुप मूल धारका चलचित्रमा पनि भ्याईनभ्याई नै भयो । इमानदार र लगनशील भएका कारण पनि यो पेशामा सबैले पत्याउँदा रहेछन् भन्ने थाहा भयो । योभन्दा ठूलो ख्याति के होला  ?

कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
भारतमा प्रतिदिन ३५ सय भारूको कमाइ छोडेर नेपालमा केही गर्छु भनेर २०५६ सालमा आउँदा हालत खराब नै भयो । क्यासिनोमा नाच्ने, होटलहरुमा रातिराति नाच्ने गरेर नेपालमा टिकिरहेको थिएँ । हाल विभिन्न गीत–सङ्गीत एवम् चलचित्रहरुमा व्यस्त छु । आज जुन अवस्थामा छु, त्यसमा म सन्तुष्ट छु । पैसाभन्दा ठूलो नाम कमाएको छु  ।

अन्तमा के भन्न चाहनुहुन्छ  ?
नृत्य पेशा अँगालेर पहिलाको जस्तो भोकभोकै बस्नुपर्ने अवस्था अहिले छैन । तर, आधुनिकतासँग भने फाइट गर्न सक्नुपर्छ । नयाँपन हुनुपर्छ । नयाँ आउनेहरुले पनि समयानुसार नयाँपन दिन सकेको खण्डमा यो पेशालाई राम्रो रुपमा लिन सकिन्छ । अहिले नृत्यमा विविधता आएसँगै दर्शकहरुको रूचिलाई पनि ध्यान दिन जरूरी भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार