नवीन शैलीका गीतकार डीआर

गीत के हो ? गम्भीर प्रश्न हो । महत्वपूर्ण, खोज, अध्ययन र अनुसन्धानको विषय हो । आजको दिनसम्म आइपुग्दा पनि साँच्चिकै गीतको परिभाषा भेटिएको पाइँदैन । गीतको परिभाषामा एकमत छैन । गीतकारले महसुस गर्ने, कल्पना गर्ने, कुनै विषय देख्ने अनि भावको सिलसिलामा बाँडिएर शिल्पका माध्यमबाट पोखिने सबैको आ–आफ्नै बुझाइ पाइन्छ । लेखनमा आ–आफ्नै शैली पाइन्छ । गीतकारहरुको उपस्थिति निरन्तर पाइन्छ । यसै सिलसिलामा अर्का गीतकार डा. डीआर उपाध्यायको उपस्थिति भएको छ । उपाध्यायको उपस्थिति सामान्य छैन । स्वाभाविक छैन । असामान्य छ । अस्वाभाविक छ । सामान्य र स्वाभाविक उपस्थितिले कुनै प्रभाव पार्न सक्दैन वा कुनै परिचय स्थापित गर्न सक्दैन । आजको समयमा नेपाली साङ्गीतिक क्षेत्रमा राम्रा गीतकार पाउन गाह्रो छ । राम्रा गीतहरु पाउन गाह्रो छ । साँच्चिकै राम्रा पाउन त झन् धेरै गाह्रो छ । गीत जस्ता गीतहरुको खोजीमा हुन्छु कहिले काहीँ म पनि ।

– सन्तोष श्रेष्ठ

नेपाली साङ्गीतिक क्षेत्रमा हजारौँ गीतहरुको बीचमा डा. उपाध्यायका गीतहरु पनि मिसिन आएका छन् । अब महत्वपूर्ण प्रश्न उभिएको छ उपाध्यायको अगाडि– उपाध्यायले रचना गरेका गीतहरुले नवीन परिचय स्थापित गर्न सक्छन कि सक्दैनन् ? अनि यिनै गीतहरुका माध्यमबाट उपाध्यायको गीतकार व्यक्तित्व स्थापित हुन्छ कि हुँदैन ? एक गीतकारले मनमा उत्पन्न भावनालाई गीतका माध्यमबाट आफूलाई पोख्नु वा पोखिनु सामान्य भएका भावनालाई गीतका माध्यमबाट आफूलाई पोख्नु वा पोखिनु सामान्य प्रक्रिया हो । गीत रचना गर्नु, सङ्गीतबद्ध गर्नु र त्यसलाई कुनै गायक वा गायिकाले स्वराङ्कन गर्नु पनि सामान्य कुरा ठान्दछु म । किनकि आजको साङ्गीतिक क्षेत्रको क्षेत्रफल हामीले कल्पना गरेको भन्दा धेरै फराकिलो भइसकेको छ र अझै आफ्नो फैलावटलाई विस्तार गरिरहेको देखिन्छ । यस्तो समयमा हामी सामान्य वा कोही–कसैले लखेकोजस्तो देखेकोजस्तो ढङ्गबाट प्रस्तुत भयौँ भने हाम्रो सिर्जनात्मक उपस्थितिमा सुरूवातमै पूर्णविराम लागिसकेको हुन्छ ।

जब डा. डीआर उपाध्यायका सिर्जनाहरुसँग म जोडिन पुगेँ । उनका गीतहरु पढ्ने मौका पाएँ । यो मौकाको मेलोमेसो मिलाउने अर्का गीतकार सुरेश घिमिरे ‘निश्चल’ हुन् । उपाध्यायका गीतहरु अधययनपश्चात् रेकर्डिङमा जाने सल्लाह भयो । रेकर्डिङमा जानुुभन्दा अगाडि धेरै छलफल पनि गरियो । छलफल थियो– कसरी राम्रा गीतहरु स्रोताहरुलाई पस्किने ? विविध भावका गीतहरु पस्किने सल्लाह पनि भयो । गीतहरुलाई सङ्गीतबद्ध गर्ने सिलसिलामा डा. उपाध्यायले जसरी विविध भावमा आफ्ना कलम चलाउनुभएको थियो, ती भावहरुलाई सकेसम्म न्याय हुने गरी मैले पनि हार्मोनियममा आफ्ना औँला चलाउँदै सङ्गीतको धुन खोज्न थालेँ । उपाध्यायका गीतहरुलाई सङ्गीतबद्ध गर्दै सुनाउँदै जाने प्रक्रिया अगाडि बढ्यो । उपाध्यायको गीत लेखनयात्रा अनौपचारिक रुपमा अगाडि भए पनि औपचारिक उपस्थिति त्यति लामो पाइँदैन । तर, गीत लेखनसँगै भाव र शिल्प हेर्दा वर्षौंदेखि गीत लेखिरहेको एक अब्बल गीतकारले लेखेका गीतहरुजस्तै लाग्दछन् उनका गीतहरु ।

उपाध्यायका गीतहरुमा पाइने भाव, विम्ब, प्रतीकहरुको म खुलेर प्रशंसा गर्दछु । वर्षौं लेखिरहेका गीतकारहरुबाट पनि भावको विविधता आउन सक्दैन । साथै, विम्ब र प्रतीकको प्रयोग पनि कमै भएको पाइन्छ । हामीले नेपाली साङ्गीतिक क्षेत्रमा फरक खालको सङ्गीतको अपेक्षा गर्दछौं भने सर्वप्रथम गीत नै फरक शैली र फरक मिटरमा लेखिनु आवश्यक हुन्छ । अनिवार्य हुन्छ । त्यही फरक शैली र फरक मिटरमा उपस्थित भएका छन् डा. उपाध्याय । डा. उपाध्यायका गीतहरु सुनिसकेपछि स्रोताहरुले फरक स्वाद प्राप्त गर्नेछन् भन्ने मेरो पूर्ण विश्वास छ । अर्को गज्जबको कुरा वा फरक कुरा के भने उपाध्यायका गीतहरुमा अरू गीतकारहरुले प्रयोग नगरेका शब्दहरु प्रयोग गरेर गीतहरु लेखेको पाइन्छ । यो एक सचेत लेखक वा गीतकारमा हुनुपर्ने क्षमता हो । त्यो क्षमता आफ्ना गीतहरुमा उपाध्यायले आफ्नो शिल्पका माध्यमबाट बाहिर ल्याएको पाइन्छ ।

मैले उपाध्यायका गीतहरुलाई सङ्गीतबद्ध गर्दै गर्दा महसुस गरेका केही अनुभूतिहरु पस्किँदै छु । आफ्ना भावहरुलाई पस्किने सिलसिलामा अहिलेको स्वार्थी समाजको चित्रण पाइन्छ । आफ्ना सन्तानप्रति वा आमाको कति माया र जीवनभर लगानी हुन्छ तर तिनै सन्तानले दुःख दिएको कुरा पनि पाइन्छ । वैवाहिक जीवनको सुरूवातका दिन अर्थात् सुहागरातको दिनमा बज्ने गीतहरुको अभाव भएको समयमा सुहागरातको गीत पनि ल्याएका छन् उनले । प्रेम र प्रकृति जोडिएका भावहरु पनि आएका छन् । मायामा धोका पाएका कुरा छन् । घात–प्रतिघातका कुरा आएका छन् । मिलन–विछोडका कुराहरु पनि आएका छन् । उपाध्यायको संयोगान्तक भाव र वियोगान्तक भावका गीतहरु दुई नदी मिसिएर सँगसँगै बगेझैँ बगेका छन् गीतिएल्बममा । तर, सम्पूर्ण गीतका आआफ्नै विशेषता र विशिष्टता पनि छन् । संयोगान्तक गीतहरुमा मान्छे मस्त ढङ्गले रमाएर नाच्न सक्छन् । किनकि रमाइलो भावका गीतहरु त्यसमा तीव्र गतिमा तयार गरिएकोले मज्जाले झुमेर नाच्न बन्ने वा नाच्न सक्ने अवस्था सिर्जना तयार हुन्छ । फेरि वियोगान्त भावका गीतहरु सुन्दा स्रोताहरुलाई बेग्लै संसारमा लैजान्छ, जहाँ स्रोताहरु गम्भीर भएर सोच्ने अवस्था सिर्जना हुन्छ । जसरी शब्द र सङ्गीत तयार भएका छन्, गायक गायिकाहरुले पनि त्यत्तिकै मिहिनेतका साथ स्वराङ्क गरेका छन् । सबै स्थापित आवाजहरु भएका कारण कर्णप्रिय आवाजमा सजिएको अनुभूति हुन्छ ।

यसरी गीतहरुको महासागरमा डा. उपाध्यायका गीतहरु केवल मनोरञ्जनका माध्यममात्रै हुने खालका छैनन् । गीतहरुले आजको संसार, आजको समाजलाई समाएर बाहिर आएका छन् । केवल गीतका लागि गीत बनेका छैनन् । साँच्चिकै गीतजस्ता गीत भएर आएका छन् । यति धेरै गीतहरुको बीचमा पनि डा. उपाध्यायका गीतहरुले आफ्नो फरक परिचय बनाउनेछन् भन्ने मेरो विश्वास छ । यही फरक परिचयले नै डा. उपाध्यायलाई एक नवीन शैलीको गीतकारका रुपमा परिचित बनाउने मेरो विश्वास छ ।

यसमा तपाइको मत

अन्य समाचार