साहित्य उन्नयनमा डीआर

मिलाप टिम

साहित्यका विविध विधाहरु हुन्छन् । ती विधाहरुभित्र पनि अनेकन आयाम (धार) हुन्छन्, जसमध्ये स्वैरकाल्पनिकता र यर्थाथता दुई मुख्य धार हुन्छन् । साहित्यका लागि यी दुवै धार अपरिहार्य भए पनि यथार्थतामा उभिएको साहित्य नै जीवन्त हुन्छ । किनभने स्वैरकाल्पनिकताले साहित्य अथवा साहित्यका पाठकहरुलाई सपनामा जस्तै भ्रमित यात्रा गराउँछ, जुन यात्रा सपनाबाट ब्युँझनासाथ पलभरमै हराउँछ । त्यस्तो हराइजाने यात्राले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ ? हामी जो–कोहीले सजिलै भन्न सक्छौँ कि त्यसैले सपनाभन्दा विपना अर्थात् काल्पनिकभन्दा यर्थाथ साहित्य नै प्राणयुक्त साहित्य हो । यर्थाथ साहित्यभित्र पनि विभिन्न रुपहरु हुन्छन् जस्तै– विचार, विम्ब, प्रतीक आदि । यी तमाम रुपहरुका जगमा उभिएको यथार्थ साहित्यभित्र पनि विचार साहित्यको मूल जरा हो । जरा समातेर उभिएको साहित्य सधैँ जीवित हुन्छ । विचारबाहेक अन्य रुपहरु जस्तै विम्ब, प्रतीक आदिको साहित्यमा कुनै अर्थै छैन भन्नेचाहिँ होइन । विम्ब भनेको कला हो । कलाले रचनालाई सदा चम्किलो र सुन्दर बनाउने भूमिका निर्वाह गर्छ भने प्रतीक भनेको माध्यम हो, जसले साहित्यलाई वैकल्पिक एवम् कलात्मक बाटो हिँडाउने प्रयत्न गर्छ । यसर्थ, सबै रुपहरुको सन्तुलित र समुचित सम्मिलनबाट मात्रै उत्कृष्ट अर्थात् पूर्णरुपको साहित्य जन्मिन्छ । र, त्यस्ता साहित्य जन्माउने साहित्यकार असल र जिम्मेवार साहित्यकार ठहरिन्छ । यस्तै जिम्मेवार साहित्यकार, उपन्यासकार एवम् गीतकार हुन् डा. डीआर उपाध्याय । पिता शिवशंकरप्रसाद उपाध्याय तथा माता उमादेवी खनालका कान्छा सुपुत्रका रुपमा वि.सं. १९६२मा वीरगञ्जमा जन्मिएका साहित्यकार डा. डीआर उपाध्यायले २०३५ सालमा वीरगञ्जस्थित त्रि–जुद्ध व्यावसायिक मा.वि.बाट एसएलसी उत्तीर्ण गरेका हुन् भने भारतबाट विद्यावारिधि गरेका हुन् ।

सानैदेखि साहित्य सिर्जना गर्न थालेका डा. उपाध्यायको पहिलो रचना सायरी थियो । उक्त सायरीमा कुनै युवतीको सुन्दरताको वर्णन गरिएको थियो । जुन कुरा मुस्कुराउँदै अहिले पनि सम्झने डा. उपाध्यायले ती सायरीमा चित्रण गरिएकी युवती को थिइन् भन्नेचाहिँ आजसम्म कसैलाई खुलाएका छैनन् । जे होस्, सायरीबाट लेखन प्रारम्भ गरेका साहित्यकार डा. उपाध्याय त्यसपछि मुक्तक, गीत, कविता, उपन्यास हुँदै आजसम्म साहित्यको अनन्त यात्रामा हिँडिरहेका छन् ।

आममानिसको पीर, वेदना, पीडा र आँसुलाई सानैदेखि आफ्नै ठान्ने उनलाई त्यही मानिसका गहिरो वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरुले सृजनकर्ममा लाग्न प्रेरित ग¥यो । त्यसैले उनको रचनामा प्रायः मानिसको भोगाइका अवयवहरु सजीवरुपमा समेटिएको पाइन्छ । उनी भन्छन्– ‘म साहित्यमा जनजीवनले भोग्दै आइरहेका तमाम आरोह–अवरोहको स्पष्ट चित्र उतार्न रूचाउँछु ।’ लेखन नै आफ्नो जीवनको नशा र सौख ठान्ने साहित्यकार डा. उपाध्यायका समसामयिक रचनाहरु नेपालका प्रायः सबै राष्ट्रिय दैनिकहरुमा नियमित प्रकाशित हुँदै आइरहेका छन् । लेखनको केन्द्रविन्दु सामाजिक यर्थाथवाद हुनुपर्छ भनी दावी गर्ने उनका हालसम्म ८ वटा उपन्यासहरु ‘वज्राघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’ प्रकाशित छन् भने गीतिएल्बमहरु ‘प्रणय’, ‘नशालु नजर’, ‘जखम’, ‘प्रतिनाद’, ‘अन्तराप’, ‘सहेली’, ‘जोहो’, ‘माउन्टेन मेलोडी’ आदि बजारमा आएका छन् ।

मिलनसार स्वभावका उनी आफूभन्दा अग्रज स्रष्टाहरुलाई सधैँ सम्मान गर्छन् भने नयाँ पिढीका स्रष्टाहरुलाई स्नेह गर्छन् । जीवनको अन्तिम क्षणसम्म आफूलाई साहित्यमै समर्पित गराउने उद्देश्य बोकेका उनलाई यस क्षेत्रमा हिँड्न उनकी श्रीमती सुनिता खनालका साथै छोरा अंकित र छोरी ईशाले साथ दिइरहेका छन् । प्रेरणाको स्रोत भने गीतकार सुरेश घिमिरे ‘निश्चिन्त’लाई मान्छन् उनी ।

साहित्यकारहरु भनेको समाजका गहनाहरु हुन् भने सिर्जना भनेको स्रष्टाहरुलाई मृत्युपछि पनि अमर राख्ने संजीवनी हुन् भन्ने धारणा राख्ने उनी भन्छन्– ‘हरेक लेखकले आफ्नो लेखनमा नवीन विषयहरुको खोजी गर्नुपर्छ । साथै, आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ । त्यही हो लेखकको मौलिकता या पहिचान ।’ उनी अगाडि भन्छन्– ‘अहिले सबै मानिस हतारमा छन्, जसलाई मध्यनजर गर्दै हरेक लेखकले बोझिलो होइन, बरू आम पाठकले तुरून्त बुझ्ने गरी आफ्ना रचनालाई पस्कनुपर्छ ।’ नभन्दै साहित्यकार डा. डीआर उपाध्यायका हरेक रचना जो कोही पाठकले पनि सजिलै ग्रहण गर्ने खालका छन् ।

अत्यन्त चलाखीपूर्वक विम्ब, प्रतीकलाई आवश्यकतानुसार प्रयोग गरी सरल भाषामा लेखिएका उनका रचनाहरुमा अत्यन्त गहन विचारहरु प्रतिविम्बित भएका छन्, जसले आजको परिस्थिति अर्थात् समाजलाई बदलिँदो समय सँगसँगै हिँडाउन अथवा मानिसको चेतनालाई अझै समुन्नत बनाउनका लागि अहम् भूमिका खेलेको छ ।

प्रणय, रोमान्स, भावनात्मक यातना, कष्ट र वैभव ऐश्वर्यपूर्णलगायत जीवनका अनेकौँ आरोह–अवरोहका भुक्तभोगी डा. डीआर उपाध्याय जीवनलाई सृष्टिकर्ताको एक उत्कृष्ट नाटक र त्यही अदृश्य महाशक्तिलाई निर्माता–निर्देशकका रुपमा लिन्छन् ।

यसमा तपाइको मत

अन्य समाचार