नेपाल संम्वत ११३९ र म्हः पूजा, देशभर विविध कार्यक्रम गरी मनाइँयो


काठमाडौं,
कार्तिक २२ ।

नेपाल सम्वत ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँएको छ । यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले वि.सं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल सम्वतको शुरुवात गराएका थिए ।

वि.सं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

वि.सं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाएका छन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको बताइन्छ । आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

यसमा तपाइको मत

अन्य समाचार