महाकवि देवकोटाको रोचक जीवनी


हरेक साहित्यमा उल्लेख्य योगदान दिने आफ्ना विशेष लेखकहरु हुन्छन् । संसारको साहित्यलाई अध्ययन गर्ने हो भने त्यो पाइन्छ । नेपाली साहित्यले समेत समग्रतामा केही लेखक र साहित्यकारहरु चिरकालपर्यन्त सम्झनुप¥यो भने आदिकवि भानुभक्त, युवाकवि मोतिराम, कवि शिरोमणि लेखनाथ, महाकवि देवकोटा र नाट्य सम्राट बालकृष्ण समजस्ता महारथिहरुलाई पछिल्ला शताब्दीसम्म सम्झिरहनेछ । देवकोटामाथि नामोल्लिखित गरेका साहित्य साधकहरुमा सबैभन्दा पृथक र अति समादरणीय साहित्यिक धरोहर देखिन्छन् ।

पेशल आचार्य

उनको जीवनशैली, आनिबानी, लेखन, सोच, दर्शन र व्यवहारले नेपाली साहित्यका समग्र विधामा चलायमान् भएका सैयौं लेखकहरुमा अनुपम उदाहरण प्रस्तुत गरेका छन् । स्वच्छन्दतावादले आजसम्म जुन प्रभाव कायम राखेको छ त्यो कतै न कतै देवकोटाबाट अनुप्राणित छ ।
आधुनिक नेपाली साहित्यका त्यस्तै विशेष र महान् लेखक लक्ष्मीप्रसाद देवकोटा हुन् । आफ्नो पचास वर्षे छोटो अल्पायूमै नेपाली आधुनिक साहित्यलाई धेरै कृति र उपलब्धि दिएर जाने महाकवि देवकोटाले भविष्यका पुस्तालाई समेत मार्गदर्शन गर्न सक्ने प्रशस्त कार्यहरु गरेर गएका छन् । कवित्व सिद्धि प्राप्ति गरेका देवकोटा बात मार्दा, हिँड्दा, खाँदा, पिउँदा र सुत्दासमेत कविता सोचिरहेका हुन्थे ।

एकपटक दार्जिलिङमा उनले खल्तीबाट कागज निकालेर स्वतःस्फूर्तरुपमा कहीँकतै नहेरी छन्दको कविता वाचन गरेबाट उनको आशुकवित्व र उद्भटकवित्व शक्तिको परिचय मिल्छ । पारसमणि प्रधानले सो व्यवहारबाट प्रभावित भएर उनले उत्तिखेरै देवकोटालाई ‘बिजुलीकवि’ को संज्ञा दिएका थिए । यस्ता उदाहरणहरु उनको जीवनमा सैयौं भेटिन्छन् ।

देवकोटाको जीवन बिताएको युग नेपालको अँध्यारो थियो भन्दा सर्वथा गल्ती हुँदैन । राणाशासनकालमै जन्म लिएर सोही कालमै आफ्नो कलमलाई गतिमय ऊर्जाका साथ साहित्यमा घोट्नुप¥यो । पेसागत रुपमा लेख्ने, पढ्ने र पढाउने काममै प्रवृत्त देवकोटा केही समय राजनीतिमा समेत हेलिएका थिए । उनी तीन महिना शिक्षा तथा स्थानीय स्वायत्त शासनमन्त्रीसमेत भए । उनले आफ्नो मन्त्रीको कार्यकालमा नेपाली भाषाका लागि उच्च प्राथमिकतापूर्वक विद्यालयहरु खोल्न स्वीकृति दिएका थिए । भाषाशास्त्री महानन्द सापकोटाले त्यो बेला पूर्वतिरका धेरै स्थानमा विद्यालय खोल्न महाकविबाट सहयोग पाएका थिए भनेर पुराना विद्वान्हरु अझै सम्झन्छन् ।

गरीब थिएनन् देवकोटा
देवकोटालाई उनका समकालीन र पछिका धेरै लेखकहरुले गरीब भनेर चित्रण गरेका छन् । तर, चित्रण गरेजस्ता गरीब भन्नलायक देवकोटा कवै थिएनन् । उनी त्यस बेला पनि साइकल चढेर हिँड्थे । जुन बेला मोटर चढेर हिँड्न राणा प्रधानमन्त्रीहरु र तिनका भाइभतिजासमेत काबिल थिएनन् । त्यो बेला मोटर चढेर हिँड्नु भनेको आम नेपालीका लागि असम्भवजस्तै थियो । देवकोटा मध्यम वर्गीय परिवारमा जन्मेका व्यक्ति हुनाले उनको वशमा पनि मोटर चढ्नु सम्भव थिएन । उनले चढ्ने गरेको चाइनिज साइकल त्यो जमानाको हिरो वाहन हुन्थ्यो ।

एकपटक उनको साइकल चोरियो । केही दिन बित्न नपाउँदै उनले फेरि अर्को साइकल किने । पैसाका सवालमा चाहिँ उनी सही व्यवस्थापन गर्न नजान्ने व्यक्ति पक्कै हुन् । आफूले कमाएको सबै पैसा आफ्नी पत्नीलाई दिनु, घर व्यवहारमा रत्तिभर ध्यान नदिनु र पैसा भएका बेला दुःखी, गरीब र निमुखाहरुलाई बाँड्नु उनका व्यक्तिगत चाख र विशेषता हुन्थे । उनी साहित्य चिन्तनमा घोत्लिरहेका हुन्थे, देश दुनियाँ कहाँ पुगिरहेको हुन्थ्यो, त्यसको केही हेक्का राख्दैनथे । पद, पैसा र पुरस्कारमा झुत्ती खेल्ने उनी साना र फोहोरी मानिस थिएनन् । गज्जबको कुरा त के छ भने उनले आफ्नो जीवनकालमा एक रुपैयाँको पुरस्कारसमेत पाएनन् । कसैले उनलाई सम्झेनन्, उनले पनि देऊ भनेर मागेनन् । कस्तो स्वावलम्बी र निस्वार्थी लेखन ?

अठार घण्टासम्म ट्युसन
पढाउने काम उनले गरे पनि त्यसले स्थिरता भने पाउन सकेन । उनले त्रिचन्द्र क्याम्पसमा पढाए । बाँकी समय उनले घरमा फरक–फरक ६ विषयका ट्युसन एकैसाथ पढाएका थिए । चुरोट र मासुका उनी विशेष अम्मली थिए । उधारो किनेर चुरोट र मासु खाने बानीकै कारण उनलाई कालान्तरमा क्यान्सरजस्तो घातक रोगले समात्यो । उनी अल्पायूमै मृत्युको मुखमा पर्नुको एकमात्र कारण चुरोटी अम्मल नै हो । जुन अम्मललाई उनले जीवनपर्यन्त जारी राखे । कसैले भनेको मानेनन्, सुनेनन् ।

आफ्ना केही बानीका कारण उनी सधैँ किम्वदन्तीजस्तो बनिरहे । एकपटक बालाजुको रानीवन घुम्न जाँदा नाटककार समसँग उनले सोही वनको सेरोफेरोमा बदाम खाने इच्छा व्यक्त गरे । दैवसंयोग त्यो दिन समसँग समेत खल्तीमा पैसा रहेनछ । अनि उनीहरु दुवै महारथीहरु बदाम बेच्ने भाइसँग पुगेर इमानदारीपूर्वक ‘हामीलाई बदाम खाने इच्छा छ । पैसा छैन । भोलि यही स्थानमा आएर तपाईं बदाम बेच्नू, हामी तपाईंको पैसा दिन्छौं’ भन्दा उसले दुवै लेखकलाई चिनेको र आफू सहर्ष उधारो दिन सक्ने बताएपछि दुवैले एक–एक माना बदाम उधारोमा लिएर खाएको कुरा लेखकहरुले रोचक पाराले लेखेका छन् ।

महामानव थिए देवकोटा
मानिस तीन किसिमका हुन्छन् । स्वभावका हिसाबले ती स्वार्थी, परार्थी र परमार्थी हुन्छन् । आफू र आफ्ना परिवारको मात्र हित राखेर सानो सोच राख्नेहरु स्वार्थी हुन् । अधिकांश मानिस यो विश्वमा स्वार्थी छन् ।

आफ्नो मात्र भलाइ नसोचेर अरुको पनि भलाइ होस् भन्ने सोच राख्ने मानिसहरु परार्थी हुन् । तिनीहरु अलि फराकिलो सोचको दायरा बनाएर जीवन बिताउँछन् ।

देवकोटाचाहिँ वृहत्तर समाज र व्यक्तिका भलाइका लागि सोच्ने व्यक्ति थिए । उनी सरकारी र साहित्यिक पद लिन र दिनका लागि लोभानी, पापानी, जालझेल, खुरापात र खुट्टा तान्ने खेलप्रति कहिल्यै प्रवृत्त भएनन् । एक प्रकारले सामान्य मानिसका कोख र घरमा जन्मे पनि महामानव हुन् भन्दा हुन्छ । बाँच्नका लागि एक सुकामा कविता र एक मोहरमा निबन्ध बेचेर पनि वनारसमा उनले आफूलाई टिकाए । यो कुरा २००४ सालमा वनारस प्रवासमा उनले बिताएका अभावको क्षण थियो । जुन बेला उनले केही समय ‘युगवाणी’ पत्रिका सम्पादन गरेका थिए ।

केटाकेटीहरुसँग विशेष सङ्गत गर्नु र उनीहरुको मुहारमा खुसीका उच्छवास हेर्न चाहनु देवकोटाका प्रिय चाहनाहरु हुन्थे । उनी एकान्त स्थल, चराहरुको चिरीबिरी, केटाकेटीहरुसँग झ्याम्मिन्थे । उनले लेखेका कतिपय बाल रचनाहरुले बालकको हृदयको बोली बोलेका छन् । स्वार्थी भावना नराखी बालकलाई चेतनापरक नैतिक मूल्य सिकाउने उनका बालरचनाहरु नेपाली बालसाहित्यको इतिहासमा पनि अजर अमर कृति लाग्छन् ।

दीर्घजीवन पाएको भए देवकोटा के गर्थे होलान् ?
यो सर्वथा काल्पनिक प्रश्न हो । उनी अर्धशताब्दीमात्र बाँच्न सके । धेरै प्रतिभाशाली व्यक्तिहरु आफ्नो जीवनको छोटो उमेरमै बितेका छन् । देवकोटा पनि यो अपवादबाट उम्कन सकेनन् । अव्यवस्थित खानपान, जीवनशैली, सन्तानपीडा, सामयिकरुपका केही अभाव र मानसिक तथा शारीरिक बोझका कारण उनको जीवन अल्पायूमै सेलायो । यो सत्य हो उनी दीर्घजीवी भैदिएका भए नेपाली साहित्यले उल्लेख्य कृतिहरु पाउने थियो ।

यसमा कुनै शङ्का छैन । चर्चा, विश्लेषण, प्रशंसा र सम्मान पाए पनि उनले भनेजति र भनेजसरी कृतिहरु नेपाली साहित्यमा दिन नसकेको पक्कै हो । उनले नेपाली साहित्यका केही ठूला र विश्वस्तरका चर्चित पुरस्कारहरु पनि पाउने थिए । मदन पुरस्कारजस्तो चल्तीको पुरस्कार उनलाई दिइएन । उनले आफ्नो जीवनमा एक रुपैयाँको पुरस्कारसमेत पाएका थिएनन् । मृत्यु भएको सात वर्षपछि उनलाई एकेडेमीले इन्द्र राज्यलक्ष्मी पुरस्कार दियो । मरणोपरान्त दिइएको यो पुरस्कार उनकी पत्नीले ग्रहण गरेकी थिइन् ।

आफ्ना नौजना सन्तानलाई हुर्काउने र योग्य बनाउने काम पनि उनले आफ्नो जीवनमा गर्न सकेनन् । जन्मेका नौमध्ये बाँचेका चार सन्तानले पनि सरकारी सहयोग र छात्रवृत्तिमा पढ्नु पर्ने अवस्था आयो । दैवको चाहना उनले अल्पायूमै जीवनलीला समाप्त पार्नु परे पनि चालीस वर्षको समय भने नेपाली साहित्यमा लगाएका थिए । त्यो समयले नै उनी नेपाली साहित्यमा जबर्जस्त कहिल्यै पुरानिने नभएर बाँचिरहनेछन् ।

एउटा सार्थक, सबल र योग्य नागरिक भएर बाँचुञ्जेल नेपाली भाषा र साहित्यका लागि अथक सेवा गर्ने देवकोटा आफैँमा बेजोडा कवि आइडल भएका छन् । छोटो भएर पनि सार्थक जीवन बाँचेका देवकोटाप्रति नेपाली समाज र साहित्य सदैव नतमस्तक भएर रहनेछ । निबन्धमा पोथीगद्यका प्रयोक्ता, कवितामा छन्द, गद्य र झ्याउरेलाई प्रिय बनाउने पामर राख्ने कवि, नाटक, समालोचना, कथा, उपन्यास, काव्यहरुमा समेत अलौकिक संसार उभ्याउने महाकविजस्ता कविहरु न हिजो जन्मिए न आज जन्मेका छन् । भोलिको के ठेगान् ? जन्मन पनि सक्छन्, नजन्मन पनि सक्छन् ।

देवकोटाका बारेमा लेखेर, बोलेर, छापेर र शोध गरेर कहिल्यै सकिँदैन । उनलाई नजिकबाट चिन्ने अनुसन्धानदाता तथा नेपाली साहित्यका जिउँदा ‘गुगल’ भनेर चिनिने शिव रेग्मीका कोमल शब्दमा भन्दा– ‘देवकोटा नेपाली साहित्यकै अप्रतिम प्राप्ति हुन् । उनीसँग तुलना गर्न सकिने कवि, लेखक र साहित्यकार मैले वास्तवमै देखेको छैन ।’ यति भनिसकेपछि देवकोटाका बारेमा बाँकी कुरा भन्नु, लेख्नु र चर्चा गर्नु नै अर्घेलो हुन जान्छ । अहिले उनको जन्मजयन्तीको सन्दर्भ परेकाले देवकोटाको १०८ औं जन्म जयन्तीका अवसरमा उनको महान् आत्माप्रति सततः श्रद्धासुमन प्रकट गर्नु यो अदना लेखक आफ्नो साहित्यिक धर्म ठान्दछ ।

यसमा तपाइको मत

अन्य समाचार