ममताको पर्व तिहार


– अशोक धनञ्जय

राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको साँस्कृतिक र धार्मिक महत्व छ । यो हाम्रो भ्रातृत्वको पर्व पनि हो । तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई ‘पञ्चक’ भनेर मनाउने चलन नेपालमा प्रसिद्ध छ । यो पर्व फूल, माला, झिलिमिली बत्ती र द्यौसी भैलोका लागि अनि सेलरोटी, अर्सा–अनर्सा, रोटेपिङ–लिङ्गेपिङका लागि बढी प्रसिद्ध छ ।

तिहार नेपालीहरुको लौकिक, सामाजिक पर्व हो । दाजुभाइ, दिदीबहिनीको पर्व हो । तिहार दशैंको १५ दिनपछि आउने सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागतिहारको नामले सुरु भएर कार्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । हिन्दू धर्मावलम्बीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसँग मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै ‘तिहार’ बनेको अनुमान पनि लगाइन्छ ।

पाँचदिने तिहारको पौराणिक कथा
पाँच दिनसम्म मनाइने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन् । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा, बस्दा यमुनाको व्यवहारले निकै प्रशन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ, दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने÷गराउनेहरुको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्नरुपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवम् सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

तिहारको सामाजिक महत्व
तिहारको साँस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषिप्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो अन्न उमारेर अन्नरुपी सम्पत्ति घरमा ल्याउने समय जब हुन्छ, तब उसको खुसी एवम् उमङ्गको सीमा हुँदैन । यस खुसीको अवसरमा ऊ भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दशैं अनि त्यसको १५ दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेषगरी भारत, नेपाल, भुटान र बर्मा (म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।

नेपालमा तिहार
तिहार विशेषतः नेपाली हिन्दूहरुको सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागतिहारको नामले सुरु भएर कार्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ । हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथिअनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेन्डरअनुसार प्रायः अक्टोबर वा नोभेम्बर महिनामा पर्छ ।

कागतिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पंक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरु खाइदिन्छ ।
कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेष्णा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

कुकुरतिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवम् सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ ।

कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवम् रक्षकमात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी, कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचनासमेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना खुवाई पूजा गरी माला लगाइदिन्छौं ।

गाईतिहार
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिप–पोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ ।

गाईलाई पशुधनका रुपमा लिइन्छ । हिन्दूहरु गाईलाई लक्ष्मी र गौमाताका रुपमा मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धनधान्यकी देवी एवम् ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंशीको रातलाई अत्यन्त अँध्यारो रातका रुपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तनिर्हित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरुको नाश गरेपछि कार्तिक कृष्ण औंशीको दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महङ्खव रहेको तथ्य स्पष्ट हुन्छ । सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंशीका दिन माता लक्ष्मीको विशेष रुपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिन्ह अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिकरुपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरु भैलो खेलेर रमाइलो गर्छन् । तिथिअनुसार कार्तिक कृष्ण अमावश्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ ।

यस दिनसित जोडिएका रोचक तथ्य
– महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनः विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन काठमाडौंको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो । यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ ।

-हिरण्यकश्यपको वधः यसै दिन विष्णु भगवान्ले हिरण्यकश्यपको वध गरेको बताइन्छ ।
-लक्ष्मी र धन्वन्तरि प्रकटः यसै दिन समुद्रमन्थनपछि लक्ष्मी र धन्वन्तरि प्रकट भएको भनिन्छ ।
– महावीर स्वामीको निर्वाण दिवसः जैन धर्मावलम्बीअनुसार चौबीसौं तीथङ्र्कर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ ।
-अमृतसरको स्वर्ण मन्दिरको शिलान्यासः सिखहरुको निम्ति पनि यो दिन महत्वपूर्ण छ किनकि यसै दिन अमृतसरमा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो ।
-नेपाली साल (विक्रम संवत् होइन)ः यस दिन नेपाली सालको नयाँ वर्ष सुरु हुन्छ ।
-मुगल वंशका अन्तिम सम्राट बहादुर शाह जफर पनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित कार्यक्रमहरुमा उनी भाग लिन्थे ।
– शाह आलम द्वितीयको समयमा शाही महललाई दीपावलीमा दीपहरुले सजाइन्थ्यो एवम् लालकिलामा आयोजित कार्यक्रमहरुमा हिन्दू–मुसलमान दुवै धर्मावलम्बीहरुले भाग लिन्थे ।
– पञ्जाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्युः पञ्जाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु दुवै दीपावलीको दिन भएको थियो ।
– महर्षि दयानन्दले भारतीय संस्कृतिका महान् जननायक बनेर दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग गरेका थिए ।
– दीन–ए–इलाहीका प्रवर्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिन लगाइन्थ्यो ।
– बादशाह जहाँगीरले पनि दीपावली धूमधामसित मनाउँथे ।

भैली अनि देउसी
अयोध्यावासीहरुले आफ्ना परमप्रिय राजाको आगमनमा खुसियाली मनाएका थिए । श्रीरामको स्वागतमा अयोध्यावासीहरुले घ्यूका दियाहरु बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावश्यको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो ।

मानिसहरुले घर–घरमा, गल्ली–गल्लीमा देव श्रीराम (जसको अर्थ हुन्छ– हाम्रा राम देउता हुन्) को नारा लगाउँदै घुमेका थिए, देव श्रीरामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ । सोही परम्परालाई मान्दै आज पनि नेपालीहरु देउसी खेल्दै हिँड्ने चलन छ । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि–पछि देउसिरे भन्ने हुन्छन् ।

देउसीको पछि एउटा अर्को कथा पनि जोडिएको छ, जो यस प्रकार छः–
बताइन्छ, एकजना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे । उनी अति नै दानी थिए । प्रत्येक दिन दान नगरी उनी केही खाँदैनथे । यस पुण्यको प्रतापले स्वर्गादि लोकहरु हल्लिन थाले र देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे, जसमा विष्णुले बलिलाई दमन गरी पाताल पु¥याउने आश्वासन दिए । त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमीन दानको याचना गरे, यसमा बलिले सोचे ‘यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु पनि अति साना छन् र यसले अति थोरै जमीन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान सङ्कल्प के सकेका थिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश ।

त्यसपछि तेस्रो पाउभरिको जमीन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्नासाथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस् । यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यही तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाइ छ । देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्री जातिहरुले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन् । औंशीको रातभरि भैली खेल्छन् ।

गोरुतिहार
गोरु तिहार, हल तिहार वा गोवद्र्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथाअनुसार गोवद्र्धन गोकुलनजिकै रहेको एक पर्वत हो । विश्वासअनुसार कृष्ण भगवान् गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवद्र्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवद्र्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवद्र्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराउँछन् र भगवान् कृष्णले गोवद्र्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानी गल्तीका लागि कृष्णसमक्ष क्षमा माग्दछन् । भनिन्छ, त्यसै समयदेखि गोवद्र्धन पूजाको आरम्भ भएको हो ।

संस्कृतमा ‘गौ’ भनेको गाई हो । त्यसैले गोवद्र्धन, गोकुल, गोपाल यी शब्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवद्र्धन पूजा तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यस दिन घरघरमा गाईको गोबरले गोवद्र्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ ।
त्यसै दिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन् ।

भाइतिहार (भाइटीका)
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवम् वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तनिर्हित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवम् दीर्घायूको कामना अन्तनिर्हित छ ।
दिदीबहिनीले आफ्ना दाजु–भाइलाई टीका र माला लगाउँछन् ।

भाइटीका पौराणिक कथाअनुसार परापूर्वकालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमराज यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यही बेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दीगो बनाउने माध्यमका रुपमा लिइन्छ ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्तास्वरुप पान–सुपारी, फूल आदि दिने चलन छ । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ ।
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभीषण, परशुराम अष्टचिरञ्जीवीभित्र पर्छन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रुपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधैँ हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिँदा शान्ति बर्सिन्छ । दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयू बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् ।

सप्तरङ्गी टीका
हिन्दूधर्ममा टीकाको धेरै महत्व छ । पूजा–पाठपछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ । टीका विशेषतः रातो वा पहेलो रङ्गका लगाइन्छ । टीका निधारमा लगाइन्छ । तिहारमा लगाइने टीका सात रङका हुन्छन्– पहेँलो, नीलो, सुन्तले, सेतो, हरियो, रातो र कालो । सात रङका यी टीकालाई सप्तरङ्गी भनिन्छ । सप्तरङ्गी टीकालाई निधारमा सीधा रेखामा लगाइन्छ ।

भारतमा दिवाली
तिहारलाई भारतमा दिवालीको नामले जानिन्छ । यो पर्वका दिनहरुमा भारतमा विभिन्न स्थानहरुमा मेला लाग्छन् । दिपावली एक दिनको पर्व नभएर पर्वहरुको समूह हो । दशैंपछि दीपावलीको तैयारी गरिन्छ । दीपावलीको दुई दिन पहिला त्रयोदशीका दिन धनतेरस मनाइन्छ । यस दिन बजारहरुमा चारैतिरबाट मानिसको भीड लाग्छ । भाँडा–कुँडाको पसलमा र साज सज्जाका पसलहरुमा अति नै भीड देखिन्छ । धनतेरसका दिन भाँडाहरु किन्नु अति शुभ मानिन्छ । यस कारण प्रत्येक परिवारले अफ्नो आवश्यकताअनुसार केही न केही किन्ने गर्छन् ।

यस दिन तुलसी अथवा घरको ढोकामा एउटा दियो बालिन्छ । भोलिपल्ट नरक चतुर्दशी अथवा सानो दीपावली मनाइन्छ । यस दिन यम पूजा हेतु दीपक जलाइन्छ । त्यसको भोलिपल्ट दीपावली मनाइन्छ । यस दिन घरहरुमा बिहानदेखि नै तरह–तरहका पकवान बनाइन्छ । बजारमा खील–बताशा, मिठाईहरु, खांडक खेलाउने सामान, लक्ष्मी–गणेश आदिका मूर्तिहरु बेचिन्छन् । ठाउँ–ठाउँमा आतिशबाजी (पटेका) पसलहरु सजाइन्छ । बिहानदेखि नै मानिसहरु आफन्त, साथी–भाइ र सम्बन्धीहरुको घर गएर मिठाई र उपहार बाँड्छन् । दीपावलीको बेलुका लक्ष्मी र गणेशजीको पूजा गरिन्छ । पूजापछि मानिसहरु आ–आफ्ना घर बाहिर दीपक र मैनबत्तीहरु बाल्छन् । चारैतिर बालिएका दियाहरुको कारण सबैतिरको दृश्य मनमोहक हुन्छ । रङ्ग–विरङ्गका बिजुलीका बल्बहरुले बजार र गल्लीहरु जगमगाउँछन् । केटा–केटीहरु पनि पटेका, झिरझिरे चलाएको दृश्य हेरेर अति खुसी देखिन्छन् । मध्यरातसम्म कार्तिकको अँध्यारो रात पूर्णिमाभन्दा पनि उज्यालो हुन्छ । अर्को दिन मानिसहरु गाई–गोरुलाई सजाउँछन् तथा गोबरको पर्वत बनाएर गोवद्र्धन पूजा गर्छन् । त्यसको भोलिपल्ट भाइको तिहार मनाइन्छ । दीपावलीको भोलिपल्ट व्यापारीहरु आ–आफ्ना पुराना बहीखाता बदली गर्छन् । उनीहरु पसलमा लक्ष्मी पूजन गर्छन् । यस्तो मानिन्छ कि यसो गर्दा धनकी देवी लक्ष्मीको उनीहरुमाथि विशेष अनुकम्पा हुनेछ । कृषक वर्गको निम्ति यस पर्वको विशेष महत्व छ । फसल पाकेर तयारी भएको कारण कृषकहरुका खेतहरु समृद्ध बन्छन् । कृषक समाज आफ्नो समृद्धिको यो पर्व उल्लासपूर्वक मान्छन् ।

धनतेरस
प्रत्येक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन धनवन्तरी त्रयोदशी मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धनवन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्र र भारतमा नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । काठमाडौंलगायतका ठाउँहरुमा पनि यसको प्रचलन व्यापक भएको छ यतिबेला । समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरुमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धनवन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

लक्ष्मीपूजा
लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरुमध्ये एक हो । तिथिअनुसार कार्तिक कृष्ण अमावश्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।
नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ ।
वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ । लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

लक्ष्मी शब्दको सर्वप्रथम उल्लेख ‘ऋग्वेद’ को पुरूष्सूक्तमा भेटिन्छ । ‘श्रीश्च ते लक्ष्मीश्च ऊषण ।’ हे परमेश्वर, अनन्त शोभास्वरुप श्री र अनन्त शुभ लक्षणयुक्त लक्ष्मी दुवै हजुरका पत्नी हुन् । तन्त्रागमका अनुसार सर्वोत्तम अवस्थामा विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् । विष्णु र लक्ष्मी एक–आपसमा अभिन्न छन् । केवल सृष्टिको समयमा भिन्न देखिन्छन् ।

स्त्रीको ६४ कला मानिएको छ । ६४ कलायुक्त महिलालाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो ।

भाइतिहार
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रुपमा तिहारलाई लिने गरिन्छ । जसरी दशैंको नवरात्रि नौ दिनसम्म मनाइन्छ, त्यसैगरी तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ, जसलाई यमपञ्चक भनिन्छ । यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानव र प्रकृतिबीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यही तिहार पर्वको मूल मर्म हो । दीपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी–भैलो गाएर मनोरञ्जन गरिन्छ । लक्ष्मीपूजा गरेर वर्षभरि आर्थिक अभाव नहोस् भनी माताजीसँग प्रार्थना गरिन्छ । खुसी–खुसी बाँच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई ‘तमसोमा ज्योर्तिगमय’को आभाष दिन्छ । जीवनका अज्ञानरुपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्वले दिएको हुन्छ । अभावग्रस्त जीवनले परिपूर्ण बनाएर आत्म ज्योतिको दिव्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने सन्देश दीपावलीले दिएको छ भन्दा फरक नपर्ला । प्रकृति भोग्य होइनन्, यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्वबाट थाहा हुन्छ । किनकि सर्वत्र चेतनशील मानवले काग, कुकुर, गाई आदिको पूजा गर्नुलाई नै हाम्रो धर्म प्रकृति प्रेमी हो भन्न सकिन्छ । भगवान्ले गीतामा भन्नुहुन्छ ‘स्वीनी चईब स्वपाकेच पन्दिता समदर्शिन’ सबै प्राणीमा रहेको आत्मा र तिमीमा रहेको आत्मामा कुनै भेद छैन । आत्मिक दृष्टिले हेर्दा सबैभित्र एक परमात्माको निवास हुने हुँदा सबैको पूजा गर्नु भागवत पूजा नै हो । जसको अनुभूति ठूला योगीहरु गर्दछन् ।

यस पर्वको अर्को पक्ष हो भाइतिहार । दिदीबहिनीलाई टीका लगाइदिने, मेवा–मिष्ठान खुवाउने, मखमली फूलको माला लगाइदिने आदि मनोहर व्यवहारले भाइबहिनीको प्रेमको उजागर गरेको छ । यमराजलाई बहिनी यमुनाले बार–बार बोलाउँदा पनि व्यस्तताले बहिनीको घरमा नआएको हुँदा यसै दिनका लागि बहिनी यमुनाले घर आउनका लागि वचनबद्ध बनाउँछिन् र यमराज पनि यमुनाको घरमा पुग्छन् । बहिनीले दाइ यमराजलाई स्नान गर्न लगाएर, तेल लागाइदिइन् । टीका र माला पनि लागाइदिइन् । मेवा मिष्ठानहरु सम्पूर्ण गरिन् । बहिनीको प्रेमपूर्ण सम्मानले यमराज अतिशय प्रशन्न भएर वर माग्नका लागि आग्रह गरे । यमुनाले हरेक वर्ष आफ्नो घरमा आई पुञ्ज स्वीकार गर्न बिन्ती गरिन् । यमराजले तथास्तु भनेर बिदा भए र हरेक वर्ष बहिनीको घरमा जान थाले । यसै पौराणिक कथाको आधारमा हामी यो पर्वलाई मनाउने गर्दछौं । यस दिन भाइपूजा गर्नाले यमराजको भय हुँदैन भन्ने पौराणिक मान्यता रहिआएको छ ।

तिहार
मनाइने क्षेत्रः  नेपाल, भारत र हिन्दू बसेका क्षेत्रहरु
आरम्भ: प्राचीनकालदेखि
अनुयायी: हिन्दू
तिथि: औंशी
प्रकार: धार्मिक, सामाजिक
यसपटक: कार्तिक १९ देखि कार्तिक २३ सम्म
अनुष्ठान: कागतिहार, कुकुरतिहार, गाई पूजा, लक्ष्मीपूजा, गोरुपूजा, भाइटीका
उत्सव: सार्वजनिक सजावट, झाँकीहरु
समान पर्व: दीपावली

आवरण कलाः सुमिना श्रेष्ठ

यसमा तपाइको मत

अन्य समाचार