आजदेखि तिहार सुरु, आज काग तिहार र धनतेरस


काठमाडौं,
कार्तिक १९ ।
– अशोक धनञ्जय

पाँच दिनसम्म मनाइने नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको हो ।

यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई ‘पञ्चक’ भनेर मनाउने चलन नेपालमा प्रसिद्ध छ । यो पर्व फूल, माला, झिलिमिलि बत्ती र द्यौसी भैलोका लागि अनि सेलरोटी, अर्सा–अनर्सा, रोटेपिङ–लिङ्गेपिनकाा लागि बढी प्रसिद्ध छ ।

तिहार नेपालीहरुको लौकिक, सामाजिक पर्व हो । दाजुभाइ, दिदीबहिनीको पर्व हो । तिहार दशैंको १५ दिनपछि आउने सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागतिहारको नामले सुरु भएर कार्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । हिन्दू धर्मावलम्बीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसँग मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै ‘तिहार’ बनेको अनुमान पनि लगाइन्छ ।

पाँचदिने तिहारको पौराणिक कथा
पाँच दिनसम्म मनाइने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन् । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा, बस्दा यमुनाको व्यवहारले निकै प्रशन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ, दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने/गराउनेहरुको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्नरुपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवम् सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

तिहारको सामाजिक महत्व
तिहारको साँस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषिप्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो अन्न उमारेर अन्नरुपी सम्पत्ति घरमा ल्याउने समय जब हुन्छ, तब उसको खुसी एवम् उमङ्गको सीमा हुँदैन । यस खुसीको अवसरमा ऊ भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दशैं अनि त्यसको १५ दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेषगरी भारत, नेपाल, भुटान र बर्मा (म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।

नेपालमा तिहार
तिहार विशेषतः नेपाली हिन्दूहरुको सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागतिहारको नामले सुरु भएर कार्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ । हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथिअनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेन्डरअनुसार प्रायः अक्टोबर वा नोभेम्बर महिनामा पर्छ ।

कागतिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पंक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरु खाइदिन्छ ।

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेष्णा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

धनतेरस
प्रत्येक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन धनवन्तरी त्रयोदशी मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धनवन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

धनतेरसका दिन नेपालको तराई क्षेत्र र भारतमा नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । काठमाडौंलगायतका ठाउँहरुमा पनि यसको प्रचलन व्यापक भएको छ यतिबेला । समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरुमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।

यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धनवन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार