रेलले किच्दा ७० जनाको मृत्यु


एजेन्सी,

कार्तिक ३।

भारत पञ्जाबस्थित अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब साढे ६ बजेको उक्त घटनामा १४२ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा पुगेको थियो । लिक छेउमै पुत्ला जलाउँदै गरेका स्थानीयको भीडले रेल आइरहेको नदेखेको बताइएको छ ।

प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन् ।

अधिकारीहरूका अनुसार दिल्लीबाट अमृतसर र अमृतसरबाट हावडाका लागि छुटेका दुई रेल एकैचोटी आमनेसामने हुँदा स्थानीय दुई रेलको बीचमा परेका थिए । हावडा छुटेको रेलको रफ्तार ८५-९० किलोमिटर प्रतिघन्टा थियो । यही रेलले धेरै मानिसहरूलाई किचेको अनुमान गरिएको छ ।

मानिसहरू भीड भएको ठाउँ पार गर्न यो रेललाई पाँच सेकेन्ड पनि लागेको थिएन । अर्को रेलको रफ्तार ६०–६५ किलोमिटर प्रतिघन्टा थियो ।

अमृतसर सरहमा रावणको पुत्ला दहनका क्रममा पटाकाहरू पड्काइएको थियो । त्यसको आवाजका कारण मानिसहरूले रेल आफूतिर आइरहेको पत्तै पाएनन् ।

मृतकहरूमा बुढाबुढी, महिला तथा बालबालिका बढी छन् । उनीहरू उत्तरप्रदेश–बिहारमा बस्नेहरू थिए ।

दशहराको बाँण महिला पार्षद विजय मदानका छोरा सौरब मदानले प्रहार गरेका थिए । सो कार्यक्रममा प्रशासनले सुरक्षाको भरपर्दो व्यवस्था नमिलाउँदा भयानक घटना घटेको स्थानीयले बताएका छन् ।

कार्यक्रममा पञ्जाब सरकारका मन्त्री नवजोत सिंह सिद्धुकी पत्नी नवजोत कौर प्रमुख अतिथि थिइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलमा तुरुन्तै उद्धार र सहयोग गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार