दशैँको अर्थशास्त्र


दशैँ लगभग नेपालीका घर–आँगनमा आइसक्या छ । समस्त हिन्दू नेपालीहरुले मान्ने यो शारदीय पर्वोत्सवले घरदेश र परदेशका सबै नेपालीलाई एकै र एउटै हिसाबले छुन्छ ।

नेपालीमा एउटा कर्मचारी लक्षित आहान छ– ‘कखुरो काट्यो दशैँ, झोला बोक्यो बसैँ ।’ अब जमाना बदलियो । नेपालीहरूका दिनचर्या र जीवनका शैली फेरिए । के गाउँ के सहर, सबैतिर उपभोक्तवादी संस्कृतिले छपक्कै ढाकेको छ । मानिसहरू उत्पादन गरेर खानेभन्दा पनि किनेर खानेमै गर्व गर्छन् । जो किनेर खान सक्दैन, उसले आफूलाई निम्छरो ठान्ने देखिन्छ । यसो किन भयो त ? यसका पछि निकै लामो फेहरिस्त प्रस्तुत हुन सक्छन्– तर्कका ।

  • पेशल आचार्य

अहिले दशैँको माहोल भएकाले विषयान्तर नगरौं । दशैँमा नेपाली अर्थतन्त्र सबैभन्दा बढी चलायमान हुने गर्छ । व्यापारीहरूले यो सिजनमा आफ्नो कूल वार्षिक व्यापारको लगभग ५० प्रतिशतभन्दा बढी व्यापार गर्ने गरेका अनुभवहरू सुनाउने गरेका छन् ।

यातायात, लत्ताकपडा, खानेकुरा, पेयपदार्थ, जुत्ता, माछामासु, अण्डा, फलफूल, हरियो तरकारी, सुकेका फलफूल र मरमसलाको सबैभन्दा बढी बिक्री हुने समय नै दशैँ हो । दशैँमा नयाँ नोटको पनि वालछ्याल हुन्छ । सबैकुरा नयाँमा डिल हुने दशैँमा अब प्रविधि पनि नयाँनयाँ भएर जाँदो छ ।

गाडी, बाइक, मोबाइल, फ्रिज, टेलिभिजन र ससाना घरायसी वस्तुहरूमा पनि व्यापारीहरूले अफर दिएर ग्राहकहरू पट्याउन खोजेका हुन्छन् । लगभग नेपाली अर्थतन्त्रको एक चौथाई हिस्सा दशैँ, तिहार र छठका नाममा नेपालीहरूले खर्च गरेका हुन्छन् ।

यतिमात्र नभएर पुस्तक, गीतसङ्गीत, सिनेमा, निर्माण सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक्सका सामानहरू पनि यही समयमा आफ्ना ग्राहकहरू तान्न तँछाड–मछाड गरिरहेका हुन्छन् । नगर, बजार, सहर, महानगर जताततै मानिसहरूको भीडले हिँड्ने बटुवाहरूलाई पनि बाटो नदिने अवस्थाको सिर्जना भएको देख्दा आमजनमानस छक्क पर्छन् ।

मन्दिरका पुजारीदेखि, बाहिर बस्ने भिखारीसम्मको भाउ यही बेलामा बढेकोे देख्न पाइन्छ । कर्मचारी, पेन्सनर, व्यापारी, ठेकेदार, कुल्ली, ज्यामी, श्रमिक, किसान र सामान्य जनताहरूमा पनि एक प्रकारको हर्षोल्लासको वातावरण आउने गर्छ । दशैँका नाममा धेरैजसो शिक्षित र सांस्कारिक मानिसहरू मित्रमिलन समारोहको आयोजना गर्छन् ।

शैक्षिक सङ्घसंस्थाहरूले आफ्ना पुराना विद्यार्थीहरूलाई, व्यापारिक सङ्घसंस्थाहरूले आफ्ना ग्राहकहरूलाई र सामान्य व्यापारीहरूले आफ्ना ग्राहकहरूलाई दिने छुट र अफरका माहौलहरूले बजार रङ्गीन त हुन्छ नै । यही सन्दर्भमा चोरी गर्ने, ठगी गर्ने मानिसहरूले पनि आफ्नो दुनो सोझ्याउने काम गर्छन् । विद्यालय, क्याम्पस, अफिसहरूमा लामो विदा हुने हुनाले मानिसहरू आआफ्ना घर जाने गर्छन् । देवी पूजनोत्सव, बली दिने, तासजुवा खेल्ने, पेयपदार्थमा झुल्ने मानिसहरूका अलावा पिङ, लङ्गुरबुर्जा, तास, कौडा र अनेक प्रकारका खेलबाडले पनि दशैँको अर्थशास्त्रलाई चलायमान गरेको हुन्छ ।

प्रविधिमय दशैँ
लगभग ५० लाख नेपालीहरू अहिले घरदेश छाडी विविध काम र पेसाका सिलसिलामा विदेशमा रहेका छन् । रेमिट्यान्सले चलेको छ देश र देशको अर्थतन्त्र । अरबका मजारेमा खबुज खाएर भए पनि नेपालीहरूले खुन–पसिना एकत्रित गरी आफ्ना नानीबाबु, भार्या र बाबुआमाका नाममा खाईनखाई पैसा पठाउँछन् । ती साधनले यहाँ घरदेशमा भएका पारिवारिक सदस्यहरूले प्रविधिको सदुपयोग गर्दै विगत् केही दशकदेखि दशैँलाई प्रविधिमय दशैँमा रुपान्तरित गरेका छन् ।

आफन्तहरू मान्यजनका सामु उपस्थित हुन नसक्दा ती ल्यापटप, आइप्याड र कम्प्युटरका सहायताले स्काइप, म्यासेन्जर र भाइबरमा आफ्ना नरनातासामु टीकाग्रहण गरेर सान्त्वनाका सास फेर्छन् । यो अहिले आमनेपाली शैली भइसक्यो । हातहातमा मोबाइल, घरघरमा ल्यापटप भएकाले जतिसक्दो प्रविधिको सदुपयोग गरेर आफन्तका सामु नजिक पर्नु हरेकको चाहना भएको छ ।

दिनभरि चर्न गएको गाईभैँसी जसरी बेलुकी आफ्नो गोठ फर्कन्छ, दिनभरि चारो टिप्न गएको चरीपंक्षी जसरी साँझमा आफ्नो गुँड फिर्छ र बचेराहरूलाई न्यानो दिन्छ, त्यसैगरी कमाउन दूरदेश या परदेश गएका अभिभावकहरू पनि वर्षदिनको चाड र लामो छुट्टीको मौका पारेर घर फिर्छन् । झोलामा नाना, चाचा, पापा, चिची र अनेकानेक कोसेलीपात बोकेर घर फिर्नु नेपालीपन भइसक्या छ ।

नेपाली नपुगेको अहिले संसारको कुनै पनि ठाउँ छैन । नेपालीले नगरेको अहिले कुनै पनि काम छैन । नेपालीले नजानेको अहिले कुनै पनि इलम छैन । संसार अहिले विधि र प्रविधि दुवै मिलेर साँघुरो भएको छ । यो स्थितिलाई दशैँका हितमा पनि सक्दो आफू अनुकूल बनाउन जोकोही नेपाली चाहन्छन् । माहोल हेर्दा त्यस्तै देखिन्छ ।

बदलियो नेपाल : बदलिए नेपाली
विगत्मा भएका राजनीतिक र सामाजिक क्रान्तिहरूले नेपालीका चेतनास्तरमा गतिलोसँग फेरबदल ल्याएको छ । अहिले नेपालीहरू विश्वका घटना/परिघटनाहरूमा आफ्ना अभिमत सामाजिक सञ्जालमा राख्न सक्ने भइसकेका छन् । चित्त नबुझेका कुराहरू क्षणपलमा कुनै न कुनै माध्यमले आफ्ना साथीसङ्गी, साथी सर्कल र लक्षित समुदायसामु पस्कने सुविधा हामीलाई विद्युतीय सञ्चारमाध्यमहरूले दिएका छन् । यी सुविधाहरूको धेरै स्थानमा सदुपयोग भएको छ भने केही स्थानमा दुरुपयोग पनि ।

अर्थतन्त्रमा वार्षिकरुपले भएको बढोत्तरीमा नेपालीहरूले विदेशबाट कमाएर पठाएको विप्रेषणले काम गरेको छ । स्थानीय, प्रादेशिक र सङ्घीय सरकार सञ्चालनका लागि पनि देशबाहिरबाट आएको विप्रेषण ठूलो बजेटका रुपमा काम दिने भइसकेको छ । लगभग यतिखेर वैदेशिक रोजगारीमा दिनहूँ नेपालको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर जाने १८ सयभन्दा बढी नेपालीहरू भइरहेका छन् । यो चित्रले पनि नेपालीहरूले मनाउने हरेक दशैँमा प्रविधिको सन्निकटता कति छ भन्ने कुरो देखाउँछ ।

राजनीतिको चित्रलाई मात्र विचित्रका रुपमा यहाँ चित्रण गरिएको छ । नत्र समाजका सबै तह र तप्कामा रहेका नेपालीहरू हिजो दुई–तीन दशकका भन्दा आज नितान्त नौला भएका छन् । खानपान, आभुषण, लवाई, बोलीचाली, अधिकार र विद्रोहका शैलीहरू पनि दिन दुगुना रात चौगुना फेरिएका छन् ।

जो दूरदराजको भनिएको छ, उसैमा प्रविधिप्रतिको चेतना हाई लेभलको भएको देखिन्छ । अहिले दूरसञ्चारको देशव्यापी रुपमा भएको फैलावटका कारण र विद्युतीय सेवा तथा सोलार इनर्जीले गर्दा लगभग बिजुली नपुगेका गाउँ नेपालमा औंलामा गनिन सकिन्छ । यसरी हेर्दा पनि सडक, पुल, स्कुल, क्याम्पस, सङ्घसंस्था र अनेक खालका विकासे संस्थाले मानिसलाई उसका अधिकार र कर्तव्यप्रति चेतनशील बनाएका छन् ।

अहिले गाउँठाउँमा पनि मानिसहरू मोही खाँदैनन्, इज्जत धान्नका लागि कोक र फ्यान्टा नै तन्काउँछन् । चिउराका ठाउँमा चाउचाउ हावी भएका छन् । मकै भटमासलाई पिज्जा र बर्गरले विस्थापित गरेको अवस्था छ । घोडाहरू हराए बाइकहरू आएका छन् । हात्ती विस्थापित भएर मोटरकारहरू बढेका छन् । धोती हराए हाफ प्यान्ट चले । साडी हराए सलवार कुर्ता बढे ।
हातमा मोबाइल र आइप्याड हुनु चानचुने कुरा भइसक्यो । नपढ्ने मानिसहरू कोही छैनन् । गाउँगाउँमा टेन प्सल टुका फसलहरू राम्ररी जमेका छन् । क्याम्पसहरू बढेका छन् । बोर्डिङ स्कुलहरू लहराएका छन् । सामाजिक हरायो र सोसोलोजी भयो । गणित लोप भयो म्याथ आयो । विज्ञान बिर्सिएर साइन्स भयो । दिमाग भुलेछन् माइन्ड भयो । देखासिकीले मानिस झ्याप भयो । सेलो बिर्सिएर ¥याप भयो । नेपालीहरूले अहिले धेरै कुरा छाडे । अर्मपर्म छाडे । धर्म छाडे । सर्म छाडे । १३ दिने काजक्रिया ५ दिनमा झारे । बाबुको श्राद्ध गर्दा कपाल खौरन छाडे । मलामी गएर आएपछि छाक छाड्ने भन्ने चलन थियो । अब सीधै होटलमा गएर खाने भए ।

दशैँको कन्टेन्ट : सार कुरा
दशैँ सनातनदेखि चलिआएको पुरातन पर्व हो । यसमा धेरै मानिसहरू गर्व गर्छन् । जाति जनजातिले समेत केही वर्षअघिदेखि विरोध गर्दागर्दै पनि यसलाई पूरै बहिष्कार गर्न सकेका छैनन् । जतिजति यसलाई विरोध गर्न खोजिन्छ, त्यतित्यति यसको महत्व र इतिहास बाहिर आउन थालेको छ ।

बलीप्रथा आफैँमा खराब हो । मानिसले आफूभन्दा निम्छरो प्राणीको हत्या गरेर देवी खुसी पार्ने होइन कि आफूभित्रका राक्षसी र आसुरी वृत्तिलाई बली दिन सक्नुपर्ने हो । खासमा यो पर्वमा भाइचाराको सम्बन्ध विस्तार गरिनुपर्छ । आफूभन्दा ठूला वा मान्यवरबाट आशीष थाप्नुपर्छ । देखासिकी र फुइँ छाट्नुभन्दा पनि आफ्नो गच्छेअनुसारका काममा आफूलाई क्रियाशील गराउनुपर्छ ।

आम्दानीभन्दा ‘जाम्दानी’ बढी गरेर मानिसलाई देखाउनुभन्दा पनि आफ्ना परिवार, साथीभाइ, इष्टमित्र र कूलकुटुम्बका अघि गतिलो बनेर, सिर्जनशील भएर आफ्ना पुर्खाले चलाएका चालचलन र पर्वलाई हामीले मान्ने हो । यसो भएमा दशैँको साख आउँदा केही शताब्दीसम्म पनि कम हुनेवाला छैन ।

होइन, दशैँका नाममा भए/नभएको खर्च गरेर आफूले नथेग्ने व्यवहार गर्ने हो भने हामीले पाँच–दस वर्ष पनि दशैँ मान्न सक्ने छैनौं । दशैँ त यस–उसै खर्चको सगरमाथा बढेजसरी उँचो हुँदै जाँदा लोप होला साथमा हामी हिन्दू धर्मावलम्बी पनि देखासिकीका मारमा परेर एकदिन लोप हुन बेर लाग्दैनौं ।

अतः दशैँको अन्तर्यलाई बुझेर यसलाई राक्षसी शक्तिमाथि दैवीशक्तिको, पापाचारमाथि धर्मको, अन्यायमाथि न्यायको, विवेकहीनमाथि बुद्धिको, कुविचारमाथि सुविचारको पर्वका रुपमा मनाउन थाल्यौं र कमभन्दा कम खर्चमा दशैँलाई सिर्जनशी बनाउन सक्यौं भने हामीले गर्व गर्ने ठाउँ जति पनि हुन्छ ।

यो दशैँलाई प्रविधिमय बनाऔं । माता दुर्गा भवानीले हामीलाई सिर्जनशील हुन आशीष दिऊन् । दशैँ-२०७५ को असीम शुभकामना ।

मिलापको असोज अङ्क बाट

यसमा तपाइको मत

अन्य समाचार