भारतीय नेपाली गीत साहित्य – प्रद्युम्न श्रेष्ठ


भारतीय नेपाली गीति साहित्य जो अति गहन विषय हो । भनिन्छ, सङ्गीत नै जीवनको जीनव हो, यही सङ्गीतमा गीत अन्तर्निहित छ । कीट–पतङ्ग, चरा–चुरूङ्गी र पशुहरुसमेत सङ्गीतमा मुग्ध–मस्त हुन्छन् भने मनुष्य सङ्गीतदेखि विमुख रहनै नसक्ने कुरा हो । वास्तवमा मान्छेको त जन्मँदाको च्याँ–च्याँदेखि नै गीतसँग सम्बन्ध हुन्छ । आमाले नानीलाई काखमा राखेर थपथपाउँदै वा कोक्रोमा हालेर हल्लाउँदै आहो….लै….लै….लै…. नानीलाई भन्दै ललरी गराउँदै सुताउने गरेको क्षणदेखि मनुष्यको गीत प्रत्यक्ष वा परोक्षरुपमा सम्बन्ध रहिआएको छ । यसकारण गीत भनेको जीवनको लय हो, जीवनलाई जीवित राख्ने छन्द हो । यो संसारमा गीतलाई मन नपराउने मान्छे सायदै छैन भन्दा पनि हुन्छ । गीतको प्राचीनताकै सन्दर्भमा भन्ने हो भने उद्गम स्रोत मानिने ऋगवेदका पंधसहित वा ऋचाहरु सबै लयात्मक नै छन्, जसलाई पठन गर्दा गायनरुपमै गरिन्थे र सामवेदमा त सङ्गीत (गायन वादनको विधि) नियम वा सिद्धान्तकै सम्पूर्ण चर्चा रहेकाले गीतको मुहान नै वेद थियो । गीतकै सन्दर्भमा महाकवि जयदेवका १२ सर्ग रहेका गीत गोविन्द सन् ११०० तिरको रचनालाई गीत लेखनको एक अनुपम कृति मानिन्छ । नेपाली भाषामा भन्ने हो भने मौखिक परम्परा लोकगीतहरुबाट लेख्य गीति परम्परा प्रारम्भ भएको ठहर गर्न सकिन्छ । सवाइ र लहरी काव्यहरु नै लोकगीतहरु थिए । अहिले गीत भनिनेलाई लेखन सृजनात्मक विद्याको रुपमा विकसित भएको पाइन्छ ।

  • प्रद्युम्न श्रेष्ठ

गीत मुख्य तीन प्रकारका हुन्छन्ः-
१) शब्दाश्रित गीत
२) सङ्गीताश्रित गीत
३) शब्द-सङ्गीताश्रित गीत

१) शब्दाश्रित गीतः

त्यस्तो गीत हो, जसमा सङ्गीतलाई भन्दा शब्दलाई प्राधान्य दिइन्छ अर्थात् जुन शब्द रचनामा काव्यिक गुण (अलङ्कारिक सौन्दर्य र भाव गाम्भीर्य) सम्पन्न रहन्छन्, जसलाई सङ्गीतले अझै उजागर गर्ने प्रयास गर्दछ ।

२) सङ्गीताश्रित गीतः

त्यस्तो गीत हो, जसमा शब्दभन्दा सङ्गीतको प्राधान्य रहेको हुन्छ अर्थात् शाब्दिक सौन्दर्य नभए पनि सङ्गीतले नै गीतमा महक र मिठास भरिदिन्छ ।

३) शब्द-साङ्गीताश्रित गीतः

यो यस्तो गीत हो, जसमा शब्द र सङ्गीत दुवै समान र सन्तुलित रहेको हुन्छ अर्थात् शब्दमा सङ्गीतले खुबै राम्ररी तालमेल राखेको हुन्छ । यस्तो गीत शब्द र सङ्गीत दुवै पक्षबाट सम्पन्न हुन्छ । वास्तवमा यस्ता गीत नै लोकप्रिय र कालजयी बन्दछन् । एउटा कालजयी गीतको सृजना साँच्चै भन्नु हो भने शब्द र सङ्गीतले मात्र हुँदैन । जबसम्म शब्द र सङ्गीतले सजेको गीत कुनै सफल गायक वा गायिकाले जादुभरि कण्ठद्वारा स्रोताको मन आलादित र प्राभावित हुने गरी प्रस्तुत हुँदैन, तबसम्म एक लोकप्रिय एवम् अमर गीतको जन्म हुँदैन । यस अर्थमा एउटा सर्वप्रिय एवम् कालजयी गीत तयार हुनुमा शब्दकार, सङ्गीतकार, सङ्गीत संयोजक (म्युजिक एरेञ्जर) गायक–गायिका र केही हदसम्म स्रोताहरुको समेत योगदान रहेको हुन्छ । यसकारण भनिन्छ गीतको धरातल शब्द हो, जसमाथि धुन तथा सङ्गीत निर्माण हुन्छ, जुन शब्द–सङ्गीतलाई गायन कलाकारको गलाको कलाले बृहत् क्षेत्रमा फैलाएर स्रोतावर्गको हृदयलाई नै अनुप्राणित गर्दछ । यसकारण शब्द शिल्पीलाई पनि महत्व दिनु अति आवश्यक छ जो गीतकारलाई भारतीय परिप्रेक्ष्यमा प्रायः सामान्य चर्चामात्र हुन्छ । हाम्रो साहित्यमा गजललाई काव्य विधाको एक उपविधाको रुपमा स्वीकृति प्राप्त हुँदा गीतलाई भने एक छुट्टै उपविधाका रुपमा मान्यता मिलेको छैन ।

अब भारतीय नेपाली गीतलाई पनि एक अलग्गै उपविधाको रुपमा अध्ययन–अध्यापन गर्नुपर्ने समय भइसकेको छ । यो बारे हाम्रा प्राज्ञहरुले सोच्ने दिन आएको छ, जो नेपाली विभागको पाठ्यक्रममा कलेजस्तरमा र विश्वविद्यालयस्तरमा राखिनुपर्छ भन्ने सोच आउनु अति जरूरी छ ।

गीतलाई मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छः
१) शास्त्रीय (उपशास्त्रीय, ठुमरी, कजरी, होरी, गजल) आदि ।
२) लोकगीत (जुवारी वा दोहोरी) आदि ।
३) आधुनिकगीत (अचेल पप र र्याप समेत) भनेर विभाजन गर्न सकिन्छ ।
यसबाहेक देशभक्ति गीत, ईश्वरभक्ति (भक्तिगीत) माया–प्रीतिका गीत, चाडपर्वका गीत, ऋतुगीत, पर्यावरणगीत, शोकगीत, स्वागतगीत (उद्बोधनी), विज्ञापनगीत इत्यादि नामले वर्गीकरण गर्न सकिन्छ । यस्तै प्रकारले गीतलाई गाउने कलाकारले सङ्ख्याका हिसाबले एकल गीत, युगल गीत, समूह गीत पनि भनिन्छ । ऋतु गीतभित्र पर्ने धान रोप्दा गाइने रसिया र असारे गीत, अङ्ग्रेजको शासनमा दार्जीलिङमा अलकत्र रोडा पेल्दा गाइने गीतलाई ‘ढ्वाङ तान्ने गीत’ र पहाडमा जङ्गलमा घाँस दाउरा र गाइवस्तु चराउँदा गाइने गीतलाई ‘गोठालो गीत’ पनि भन्ने गरिन्छ ।

भारतीय नेपाली गीत साहित्यको कुरा गर्नुपर्दा सन् १९०० दार्जीलिङबाट प्रकाशित अनि हाजिरमान राईद्वारा कथित मीठा नेपाली गीतलाई नै भारततिरबाट रचित एवम् प्रकाशित पहिलो गीतसङ्ग्रह मान्नुपर्छ । यसपछि सन् १९१६मा धनवीर मुखियाले नाटक र रङ्गमञ्चमा गीतहरु रहेको पाइन्छ र एउटा नाटक ‘हरिशचन्द्रमा’ उनले गीत रचेका थिए । उनले नै सन् १९३२मा दार्जीलिङमा गोर्खा दुःख निवारक सम्मेलन स्थापना भएपछि एउटा सरस्वती भजनस्तुतिको सृजना गरेका थिए । उनले भजन, गीतहरु लेखेको बुझिन्छ, जुन युवाजागरण, धर्म, समाज, जाति, उत्थान र सेवामा आधारित पाइन्छ । यसपछि पारसमणि प्रधानले सन् १९१९मा खरसाङको गोर्खा पुस्तकालय भवन उद्घाटनको अवसरमा गीतहरु लेखेको पाइन्छ । सन् १९२७ तिर दार्जीलिङमा एलडी लामाले पनि धेरै गीतहरु रचेका थिए । त्यस समय हिराकुमार सिंह पनि एक मानिएका गीतकार थिए ।

भारतीय नेपाली गीतकारहरुमा बिर्सन नपाइने नाम हो– बहादुर सिंह बराल । उनको बरालको आँशु भन्ने गीत भजनसङ्ग्रह सन् १९३८ मै देहरादुर भाग्सुबाट प्रकाशित भएको पाइन्छ । यस सङ्ग्रहमा मित्रसेन थापा, दिलिप, दुर्गा मल्ल, मैतराज, पृथ्वीध्वज, समशेर सिंह, जगत रञ्जित, मनवीर, गंगावती, पवित्रादेवी आदिका गीत गजल र भजनहरु पनि समाविष्ट भएको पाइन्छ । सन् १९३८ मै मित्रसेन थापा र दिलिपका संयुक्त प्रतिष्ठामा ‘मनको बिहे’ शीर्षकमा देहरादुनबाट प्रकाशित भएको पाइन्छ । उनका खुबै प्रचलित गीतका मुखुडाहरु यसप्रकार छन्ः–

क. मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रै बैनीले….
ख. लाहुरेको रेलीमाई फेशनै राम्रो,
छत्रे टोपी रेलीमाई खुकुरी भिरेको….
ग. अब त जाऊँ कान्छी घरबाट छ उकाली ओराली…
घ. धानको बाला झुल्यो हजूर देशै रमाइलो…
ङ. काली ठेकी नारान काली काठको रातो ठेकी…
च. सासूज्यू भन्नुभयो घाममा लुगा सुका….

सन् १९४०–५०को दशकमा दार्जीलिङबाट भैयासिंह, हरिमदन गुरूङ, देवप्रकाश राई, साहित्यकार एमएम गुरूङले धेरै गीतहरु रचेका थिए । त्यस समय गायक कलाकार नवीन बर्देवा एक सफल गीतकार र सङ्गीतकार थिए भने सन् १९६०को दशकमा बहुप्रचलित उर्मिला श्रेष्ठले गाएको, गोपाल श्रेष्ठको सङ्गीतले सजिएको गीत ‘सन्ध्या तिम्रो रिमझिमतामा दुःखैदुःखले भरेको…’ निकै राम्रैसँग सबैले मनपराएका थिए । नवीन बर्देवाको गीतकुञ्ज सन् १९६१मा प्रकाशित कृतिमा अगमसिंह, मनबहादुर कालुसिंह गहतराज, गगन गुरूङ, विषाशन लामा, अम्बर गुरूङ, पासाङ वाङबल, शिवप्रसाद सिंह, मानवीर गुरूङ आदिका गीतहरु पनि प्रकाशित छन् । भारतीय नेपाली गीतकारहरुमा अर्को नाम हो नरेन्द्र प्रधान ‘अज्ञात’ । उनी सङ्गीतकार र गायक पनि थिए । उनका धेरै कालजयी गीतहरु छन् जस्तै-

१. बगेको खोला फर्केर आउँदैन, गएको जोबन फर्केर आउँदैन…
२. छकछक आइपुग्यो रेल बिदा हुने भइसक्यो बेला…
३. धानको बाला झुलेको हेर नाचेको हेर…
४. नरोऊ न्याउली पारि वनमा…

सन् १९५६ मा उनको सरगम गीत सङ्ग्र प्रकाशित भएको थियो । यसमा धेरै मीठा–मीठा गीतहरु थिए । अगमसिंह गिरीको ‘कर्तव्य पथिक तिमी’ र ‘नौलाख तारा उदाए’ जस्ता गीतमा अम्बर गुरूङले सङ्गीत दिएका थिए, जो अति प्रसिद्ध भएका थिए । उनले गोर्खा पत्रिकामा २५ वटा गीतहरु रचेका थिए । साथै, धेरै बालगीतहरु पनि रचेका थिए । अर्काे प्रचलित नाम हो मनबहादुर गुरूङ, जो गीतकार र नाटककार पनि थिए । सङ्गीतकार श्री अशोक राई, गायिका दावा ग्याल्मो र अमर गुरूङ १९६०–६१ तिरका नामी गायक–सङ्गीतकार थिए । अम्बर गुरूङ र पासाङ वाङवलले रचेका गीतहरु अति प्रसिद्ध भएका थिए ती हुन्-

१. म अम्बर हुँ तिमी धरती…
२. घाम जून पञ्च राखी वाचा मार…
३. ऊ पनि त कोही पराय त होइन…
४. ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न…
५. उम्लने माया पोखिन्छ गम्भीर पिरती रोज न…

भारतको पूर्वाञ्चल भेकका पण्डित हरिनारायण उपाध्यायका गीतमालामा ८७ वटा गीतहरु सङ्ग्रहित थिए । वनारसबाट मोतीराम भट्ट र शम्भुप्रसाद ढुङ्गेल आदिले गजल लेखेको बुझिन्छ । असमबाट प्रेमसिंह सुवेदीको ‘तीजको मैदानमा बहिनीको आँशु’ सन् १९५५ तिर गीतसङ्ग्रह प्रकाशन गरेको छ । त्यस्तै, सन् १९५८मा हिमालको फूल शीर्षक गीतसङ्ग्रह लिएर गोविन्द शर्मा गौतमले ११ वटा गीत लेखेका थिए । त्यस्तै, गुवाहटीबाट गौतम प्रसादले ‘पहाडी गफ’ भन्ने गीतसङ्ग्रहको प्रकाशन सन् १९५८मा गरेका थिए । असम डिगबोइबाट हरिभक्त कटुवालले सन् १९६० तिर लेख्दै १९७२ सम्ममा ‘सम्झना’ गीतसङ्ग्रह प्रकाशित गरेका थिए, जसमध्येका केही कालजयी गीत यसप्रकार रहेका छन्ः-

१) पोखिएर घामको झुल्का भरी सङ्घारमा….
२) मेरो यी गीतमा जुन मूच्र्छना छ…
३) मलाई नसोध कहाँ दुख्छ घाउ…
४) हाँगा हाँगा वनभरि चैत फुलेछ…

यसरी कटुवालले कवितासँगै गीतमा पनि धेरै प्रतिभा दर्शाएको पाइन्छ । कटुवालपछि पूर्वाञ्चलबाट धेरै गीतहरु छापिएको पाइन्छन् । त्यो सबै शोधको विषय पनि हो । अब सिक्किमको सन्दर्भमा भन्ने हो भने सिक्किम भारत राष्ट्रमा विलय हुनुभन्दा पहिलादेखि नेपाली गीतलाई प्रचारप्रसार गर्नेहरुमध्ये अगमसिंह तामाङ, डा. रत्नकमल देवान, बेञ्जामिन राई, सानु लामा आदि प्रमुख छन् । सानु लामाका प्रसिद्ध गीतहरुमाः

१) जहाँ बग्छ टिष्टा रङ्गीत…
२) बालापनको आँगन त्यागेर…
३) वैंशको हुरीसँग मायालु तिमीलाई…
४) मितेरी साइनो लाएँ हजुर…

जस्ता नेपाली गीतहरु बेग्लै किसिमका भावनुभूतिलाई आफ्ना परिवेशिक शब्दशिल्पद्वारा कुँदेर स्रोतालाई भिन्नै स्वाद र मिठास दिनुमा सफल भएको छ । अर्को ओजस्वी गीतहरुको सृजना गर्ने शिल्पी हुन् श्री पवन चामलिङ ‘किरण’, जसको गीतसङ्ग्रह मान्छेको साइनो (सन् २००८मा प्रकाशित) मा धेरै मीठामीठा गीतहरु सङ्ग्रहित छन्, जहाँ माया–पिरती, जिन्दगीका औडहा र भाव र मान्छे हुनुको महता एवम् मान्छेमा निहित सत्ताको अभिव्यञ्जना रहेको छ । त्यसबाहेक ‘उपमा, मेरो मूच्र्छना, समर्पण, मेरो बस्तीमा, नयाँ क्षितिज, क्रान्तिका धुनहरु, मेरो बस्ती’ गीतएल्बमहरुमा यी गीतहरु आइसकेका छन् । त्यसमध्ये केही गीतहरु यसप्रकार रहेका छन्ः-

१. मान्छेको साइनो जातले होइन…
२. तिमी जसो भन जस्तै जातमा भन…
३. मान्छेको सुरक्षा कर्म हो मेरो…
४. हजार जुनीसम्म खोजी बसें तिमीलाई…
५. मलाई सिक्किम मनपर्छ…

यी गीतहरुलाई नेपालका प्रसिद्ध सङ्गीतकार र गायक गायिकाद्वारा स्वरबद्ध गरिएका छन् भने यसको भिडियो एल्बम पनि बनिसकेको छ ।

अर्का सिक्किमका एक चर्चित गीतकार हुन् बलि सुब्बा, जसले लगातार पाँचवटा गीतिक्यासेट प्रकाशन गरिसकेका छन्, जसमा निम्न रहेका छन्ः

१. एकै गीतकार बली सुब्बाको गीतहरु
२. हजुरलाई जागृति गान
३. परेलीबाट
४. एउटै आँगन एउटै घर
५. गीतै भो आधार… इत्यादि ।

यी गीतहरुमा शान्ति ठटाल, अरूण लामा, कुमार सुब्बा, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, एडविन पाख्रिन, देवकुमार दुमी, सुकमित अधिकारी, सुनिल मोहरा र अनेक गायन कलाकारहरुका स्वरहरुमा बाँचिरहेका छन् । अर्का सिक्किमबाट गीतकार रबिन गुरूङले राम्रा–राम्रा गीतहरु सृजना गरेका छन् । त्यसमध्ये एक झलक यस्तो छ:-

१. चिठ्ठी मेरो आउँछ भनेर बाटो कति हेरौं…
२. खोला यहाँ बगिसक्यो बगर प्यासै रह्यो…

त्यसरी नै अर्का गीतकार हुन् रूद्र पौड्याल, जसका गीतिएल्बमहरुमध्ये १. घर–आँगन २. चेतना ३. हाम्रो श्रद्धाञ्जली तिमीलाई र ४. स्मृतिका मूच्र्छनाहरु ।

यी गीतहरुमा लोकसाहित्य, देशप्रेम, सामाजिक चेतना र समाजलाई केही सन्देश दिन शब्दकार सफल भएका छन् ।
अर्को गीतकारको रुपमा प्रद्युम्न श्रेष्ठका गीतहरु ‘चाँदनी रात’ (श्री गणेश ढुंगेल, धनकुमार गुरूङ, धिरज सापकोटा) र ‘तिम्रो मुस्कान’ (गणेश ढुंगेल र दिपेन मगर) यी सिडी एल्बमबाट जम्मा १६ वटा गीतहरु बजारमा आइसकेका छन् भने चारवटा गीतहरुबाट भिडियो एल्बम पनि प्रदर्शन भइसकेका छन् । भर्खरै श्रीमती विमला प्रधानको सङ्गीतमा १० वटा भजनहरुको सङ्गालो ‘ॐ भजन मञ्जरी’ पनि बजारमा आइसकेको छ । अर्का गीतकार हुन् श्री पूर्ण योञ्जन, जसले ‘आत्मा विस्मृति’ सिडी एल्बममा राम्रा राम्रा गीतहरु सृजना गरेका छन् । अर्का गीतकार एलबी बस्नेत, जोरथाङे र सुवास सोताङले पनि थुप्रै गीतहरु लेखेको पाइन्छ । श्री अमर बानियाँ ‘लोहोरो’को गीतिएल्बम ‘आन्तरिक अनुगुञ्जन’ पनि बजारमा आइसकेको छ । श्री देवकुमार दुमीका गीतहरु धेरै प्रसिद्ध छन्, जो स्वयम् गायक एवम् शब्दकार पनि हुन् । यसरी नै फुटकर गीतिरचनामा कलम चलाउनेहरुमा वीरू वाङ्देल, ध्रुव लोहागण, डिल्लीप्रसाद अधिकारी, थमन नौवाग, कालुसिंह रनपहेली, सीता शर्मा, चुन्नीलाल घिमिरे, अप्सरा दाहाल, पूजन लोहागण, थिरुप्रसाद नेपाल, दाउछो लेप्चा, विक्रम प्रधान, धिरज प्रधान, भक्ति बस्नेत, जीविका अश्रु आदिको नाम सम्मानपूर्व लिन सकिन्छ । अन्य धेरै गीतकारहरुको नाम यहाँ छुट्न गएको छ जो शोधको विषय हो ।

हाम्रा अग्रज गीतकार, सङ्गीतकार र गायक गायिकाहरुले हाम्रो समाजमा गीतको माध्यमबाट धेरै ऊर्जा, साहस र प्रभावित पारेका छन्, ती गीतहरु सधैं अमर रहनेछन् । तीमध्ये मलाई थाहा छ सन् १९६० मा एस रविदासले गाएको गीत सर्वप्रिय लाग्छ, जसको झलको यस्तो छ:-

१) स्वर्णीम रुपमा साथ सँगाली तिमी निदायौ होली…
२) चन्द्रमामा पनि म कलङ्क देख्छु तर पनि किन हो प्यार गर्छु…

अर्का गीतकार बैरागी काँइला पनि हुन्, जसले धेरै मीठा–मीठा गीतहरु सृजना गरेका छन् र अम्बर गुरूङद्वारा सङ्गीत भरिएका गीतहरुको झलक यसप्रकार रहेका छन्ः-

१) औंलाहरु चुमेर औंलाभरि सलाम… मेरो हजुरलाई आँखाभरि सलाम
२) यो फूल तिम्रै हो तर नटिप यसलाई…
३) कसको जोबन अल्झिएछ चाँप गुराँसमा…

प्रसिद्ध कवि ईश्वर बल्लभले पनि दार्जीलिङमा बसेको समयमा गीतहरुको सृजना गरेका छन् । त्यसमध्ये एक यस्तो छ– विरानाहरुको सभामा के हुन्छ गीतको अर्थ ।

अर्का नामी गीतकार एवम् सङ्गीतकार हुन् गगन गुरूङ, जसले १९६० तिर एक नामी गीत गाएका थिए– …वारि खोला पारि खोला बीचैमा पानी दोभान… जुन बहुप्रचलित गीत थियो । अर्का दार्जीलिङका पोख्त गीतकार हुन् जीतेन्द्र बर्देवा, जसको गीत अरूण लामाले गाएकी थिइन्, जो यसप्रकार रहेको छः– १) हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो २) देउरालीको पाखामा आज ३) यहाँ निश्चल छ जीवन ।

मनबहादुर मुखियाको बहुचर्चित नाटक ‘अनि देउराली रून्छ’मा एउटा गीत मार्मिक छ– ‘हे फूल चुँडेर लाने हो यहाँ माली रोएको देख्यौ के ?’ अर्का एक गीतकार हुन नरदेव रूम्बा, जसले धेरै राम्रा–राम्रा गीतहरु रचेका छन् । तीमध्ये १) बादलको दरबारमा पहाडको मेला २) फूललाई सोधे कहाँ गयो कता गयो भमरा ।

अर्को गीत छ बद्री दुर्गा खरेलको सङ्गीत र दुर्गा खरेलले गाएको गीत– बोलाउँ भने तिमीलाई बात लाग्ने डर… ।
गीतकार बन्नलाई प्रतिभा, समयबोध, सतत् साधना चाहिन्छ अनि चाहिन्छ गीतप्रतिको प्रतिबद्धता । भाषाको भाव नबुझी शब्दहरुको फोस्रो जडाउले गीत बन्दैन । लय र छन्दको मोल नजानी जबर्जस्तीको बोलले गीत हुँदैन । गीतकार आज ओझेलमा परेका छन् तर पनि साहित्यको विधामा गीत पनि एउटा विधा हो, जुन आज हामीले ग्रहण गर्नुपर्छ ।

भारतीय नेपाली गीति साहित्य धनी छ र नेपालको सन्दर्भमा भारतमा पनि कुनै कमी छैन भनेजस्तो लाग्छ । मेरो अध्ययनमा धेरै गीतकारहरुको नाम छुटेको छ, त्यसमा अग्रिम माफी चाहन्छु, जुन शोधकर्ताले शोध गर्ने विषय हो ।

यसमा तपाइको मत

अन्य समाचार