महिलाको साथ विना पुरुषले आफ्नो सत्ता स्थापित गर्न सक्दैन- कवि चन्द्र रानाहँछा


नेपाली साहित्यकाशका जाज्वल्यमान चन्द्र हुन् कवि चन्द्र रानाहँछा । प्रायजसो सवै विधामा शसक्त कलम चलाउने उनी खासगरी कथा र कवितामा उज्यालिन्छन । करिब पचासको दशकबाटै लेखन सुरु गरेका चन्द्रले आफ्ना अमुल्य दुई कृति कथासङ्ग्रह ‘भाउजु लडेको भीर’ तथा कवितासङ्ग्रह ‘थिविया चराको गीत’ पाठकहरुलाई उपहार दिएका छन् । दर्जनौं प्रतिष्ठित पुरस्कार/सम्मान प्राप्त गरिसकेका चन्द्र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव–२०७४ का सर्वोत्कृष्ट (स्वर्ण पदक विजेता) कवि हुन् भने यसै वर्षको ‘युवा वर्ष मोती पुरस्कार २०७५’ द्वारा समेत पुरस्कृत कवि हुन् । उनै कविसित मिलाप मासिकका लागि कृष्ण भुसालले गरेका कुराकानीहरुका संक्षिप्त अंशः-

हिजोआज के लेख्दै हुनुहुन्छ ?
भर्खरै मात्र किरात राई जातीको मूल कथा (मूलधार)मा आधारित चलचित्रको स्क्रिप्ट लेखिसकें, यतिखेर चाहीँ प्रजातन्त्र सेनानी मुगाधन राईको जीवनी लेख्दै छु ।

किरात राई जातिको कथा पनि भन्नुहुन्छ, अनि मूलधार पनि, यो कसरी मूलधार भयो त प्रष्ट पारिदिनुहोस् न ?
जुन जातीको आफ्नै भाषा, सभ्यता र संस्कारजन्य विशिष्ट जीवन दर्शन छ । त्यै हो उसको मूलधार । बरु नेपालमा गैर जनजातीले अवलम्बन गरिरहेको प्रयाशः (आयातित) चीजहरु छन् त्यसलाई आजसम्म जवरजस्ती मुलधार मान्न हामीलाई बाध्य पारिदै आइएको छ र यसैको जगमा राज्यसमेत उभिएको छ । म चाहीँ यी सवलाई मूलधार मान्न तयार छैनँ ।

भनेपछि तपाईं आफ्नो दावीमुताविकको मूलधारमा चलचित्रको कथा लेखनतिर लाग्नुभो, के तपाईं कवितामा झैँ यो क्षेत्रमा पनि सफल हुनुहोला त ?
कवितामा जस्तो चलचित्रमा कुनै एकजनाको मात्र प्रयत्नले काम गर्न सम्भव छैन, त्यहाँ सामुहिकताको भूमिका रहन्छ, त्यसकारण चलचित्रमा सफलता र असफलता चाहीँ त्यहीँ काम गर्ने टिमको मेहेनत र क्षमतामा भरपर्छ ।

किरात राई जातिको कथामाथि यस अघि पनि धेरै चलचित्र बनिसकेका छन्, तिहरु भन्दा फरक के छ तपाईंको कथामा ?
म जहिले पनि चोखो विषयहरुको खोजी गर्छु । अरुले याद नगरेका स–साना लाग्ने तर अनुपम कुराहरु प्रशस्त छन् हामीसित । मैले यस कथामा ति चिजहरुलाई समेटेको छु । जस्तो हाम्रो ओर्जिनल लवज (टोन), भाषा, जीवन पद्धति, चेतना र मनोविज्ञान आदी ।

फेरि चलचित्रकै कुरा गरौं भरखरै मात्र तपाईंहरुको मूलधारको चलचित्र ‘यारी’ले अमेरिकाको न्यूयोर्कमा सम्पन्न इण्डिजिनियस् फिल्म फेष्टिबलमा उत्कृष्ट चलचित्रको उपाधि हात पार्यो जुन चलचित्रमा तपाईं पनि जोडिनुभाछ होइन ?
हो, यो चलचित्रमा मैले पनि गीत लेखेको छु । चलचित्रका तीन सिचुएशनमा मेरो गीतको भूमिका छ । यस अर्थमा स्वभाविक गर्वबोध गरेको छु । यद्यपी चलचित्र ‘यारी’ सफल हुनुको मुख्य श्रेय चाहीँ यसका निर्देशक तथा छायाँकार श्री युवराज राईलाई जान्छ ।

अब कुरा गरौ कविताको, प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा गत साल सर्वोत्कृष्ट कविको पगरी गुथेर स्वर्ण पदक हाँसिल गर्नुभए यता तपार्इंले कविता लेख्न कम गर्नुभएको हो ?
हो, त्यो पुरस्कार प्राप्त गरेयता मैले जम्माजम्मी चारवटा जति मात्रै कविता लेखेछु ।

तर, तपाईंले त निरन्तर कवितै लेखेर त्यो पुरस्कारले सुम्पेको जिम्मेवारीलाई वहन गर्नुपर्ने होइन र ?
मलाई त्यस्तो लाग्दैन, पुरस्कार सम्मानले चाहीँ धेरै लेख भन्दा पनि राम्रो लेख भन्ने जिम्मेवारी दिन्छ भन्ने बुझाइ छ मेरो । यसर्थ थोरै कविता लेखेप्रति किन्चित चिन्तित छैनँ म ।

तपाईंले यस वर्षको प्रतिष्ठित ‘युवा वर्ष मोती पुरस्कार-२०७५’ प्राप्त गर्नुभयो, यो पुरस्कारलाई कसरी लिनुहुन्छ ?

यो पुरस्कार चाहीँ ४० वर्ष उमेर समुहमुनिका लेखकहरुका साहित्यिक योगदान र क्षमतालाई मुल्याङकन गरेर दिइने पुरस्कार हो । जो राष्ट्रिय विभुती मोतिराम भट्टको नामबाट स्थापित छ । यो पुरस्कार मेरो लेखन संघर्ष मूल्यवान प्राप्ति हो, जहाँ मेरो सपना जोडिन्छ । यस पुरस्कार प्राप्त पछि थप जिम्मेवार वोध गर्दै आफ्नो लेखन यात्राका दर्दनाक मोडहरु संझिरहेछु यतिखेर ।

तपाईंलाई प्रभाव पारेका कुनै कथा या कविताहरु ?
धेरै छन् । त्यै पनि इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ त्यस्तै पारिजातको ‘मैले नजन्माएको छोरो’ साथै कविताहरुमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भुपिको ‘हो चि मिन्हलाई चिठ्ठी’, ईश्वर वल्लभको ‘मेरी आमाले आत्महत्या गरेको देश’, बैरागी काँइलाको ‘मातेको मान्छेको भासन मध्यरातपछिको सडक शीत’ र श्रवण मुकारुङको ‘विसे नगर्चीको बयान’ मलाई सारै प्रभाव पार्ने कविताहरु हुन् ।

कविहरु प्रायजसो मदिरा र महिला प्रेमी हुन्छन् भन्ने आरोप लागेको सुनिन्छ, तपाईं यो आरोपबाट कति पर हुनुहुन्छ ?
तपाईंको डोवमा यदी अरु कसैबाट यो प्रश्न

आएको हुन्थ्यो भने म प्रश्नकर्तालाई नै तुरुन्त मदिरा किन्न लाउथें । किनकी, मदिरासित संस्कृति, जोडिएको जातिको कविसित गरिएको भद्धा ठट्टा हो यो प्रश्न । जहाँसम्म महिलाको प्रश्न छ महिलाको साथ विना त कुनै पुरुषले आफ्नो सत्ता स्थापित गर्नै सक्दैनन् नी होइन र ?

युवतिहरु पनि कविहरुको प्रेम पाउन मरिमेट्छन् रे, कविले गर्ने प्रेम आम मानिसको भन्दा फरक हुन्छ र ?
त्यस्तो होइन कविहरु भन्दा व्यापारी, जोगी, पुजारी, दलाल र राजनीतिकर्मीहरुको अगाडि पछाडि हुन्छन युवतिहरु । किनभने कविहरुसित भावना मात्रै हुन्छ । आजको जमनामा भावनात्मक प्रेम गर्ने कुन मुर्ख युवती होलान र ?

यसको मतलव तपाईंमाथि पनि लाग्ने गरेको आरोपमा कुनै सत्यता छैन ?
मलाई अन्तर्यबाट बुझनेहरुलाई मैले पनि त्यही कोटीको प्रेम गरेको छु । जहाँ कुनै स्वार्थ र सम्झौता छैन् ।

प्रेम, साहित्य र जीवनलाई कसरी बुझ्ने ?
जीवनको मार्गदर्शन हो प्रेम । प्रेम नभएको भए साहित्यको पनि जन्म हुने थिएन ।

अन्त्यमा ?
तपाईंले बाँचीरहेको जीवनलाई मायागर्दै आफूले गरिरहेको कर्मलाई सदा आम मानिसको सपनासित जोडनुहोस् ।

मिलापको असोज अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार