पैसाभन्दा उपल्लो नियात्राकारको पहिचान पाएँ -घनश्याम राजकर्णिकार 


नेपाली साहित्यमा नियात्रा विधाको उन्नयनमा साढे चार दशकदेखि समर्पित अग्रज नियात्राकार हुन्– घनश्याम राजकर्णिकार । नेपालीहरु दुर्लभरुपमा मात्र विदेश पुग्ने समयमा नै उनले विश्वका विभिन्न मुलुकको भ्रमण गरेर नियात्राका पुस्तक प्रकाशित गरिसकेका थिए । नियात्रा साहित्यको पाठक बढाउन र नेपालीहरुलाई विदेश भ्रमणका लागि उत्प्रेरित गर्ने काममा घनश्याम राजकर्णिकारका कृतिको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । उनी विदेश यात्रामा आफ्नो आँखाले देखेका सत्यतथ्य र मनले अनुभव गरेका अनुभूतिलाई शब्दचित्रमा स्वाभाविक र कलात्मक ढङ्गले प्रस्तुत गर्न सिपालु छन् । वि.सं. १९९८ माघ ३ गते काठमाडौंको कमलपोखरीमा जन्मेका राजकर्णिकार नेपालको पहिलो पाउरोटी उद्योग कृष्ण पाउरोटी भण्डारका संस्थापक कृष्णबहादुरका कान्छा छोरा हुन् । २०२४ असार २० गतेको ‘गोरखापत्र’ मा ‘मिलनको क्षण’ एकाङ्की प्रकाशित गराएर उनले साहित्यिक यात्राको शुभारम्भ गरेका थिए । सतहत्तर वर्षको उमेरमा पनि घरव्यवहार, उद्योग व्यापार र लेखनमा उत्तिकै सक्रिय उनका हालसम्म चारवटा नियात्रासङ्ग्रह, तीनवटा संस्मरणसङ्ग्रह, एक–एकवटा निबन्ध, अनुसन्धान र अन्तर्वार्तासङ्ग्रह प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भलाद्मी र मृदुभाषी नियात्राकार घनश्याम राजकर्णिकारसित साहित्यकार श्रीराम राईले ‘मिलाप’ मासिकका लागि गरेको कुराकानीः–

तपाईंको लेखनको सुरुवात कसरी भएको थियो  ?
वि.सं. २०१६ साल अर्थात् कलेज जीवनमा प्युखा टोलमा रहेको त्यसबेलाको ‘राष्ट्रिय पुस्तकालय’ बाट कथा, कविता, उपन्यासजस्ता साहित्यिक पुस्तकहरु ल्याएर पढ्ने बानी बस्यो । ती पढ्दा जीवनजगत्का उतारचढाव थाहा पाउँदै गएँ । त्यसबेला घरायसी जीवनमा मेरो पढ्ने वातावरण थिएन । व्यवसायमा अरू दाजुहरुसरह खट्नुपथ्र्यो । आमाबुबाको आशीर्वादले कलेज जानमात्र पाएको थिएँ । दाजुहरु मलाई पढाइबाट वञ्चित गराउन अनेक किसिमका अड्को थाप्नुहुन्थ्यो । झन् त्यही साल बुबाको निधन भयो । म छाँगाबाट खसेझैँ भएँ । तर, आमाको सदिच्छा पाई घरदैलोभित्रै दाजुहरुको विरोधको सामना गर्दै पढाइलाई निरन्तरता दिँदै थिएँ । त्यसबेला साहित्यिक पुस्तकहरुको अध्ययनले मलाई धेरै पे्ररणा मिल्यो । र, मलाई यथेष्ट भावुक बनायो । आफूलाई पनि केही लेख्न उत्प्रेरणा मिल्यो । कथा, कविता र एकाङ्की लेख्न थालेँ । वि.सं. २०२४ आषाढ १० गते ‘गोरखापत्र’को शनिबारीय परिशिष्टाङ्कमा प्रकाशित ‘मिलनको क्षण’ एकाङ्की मेरो प्रकाशित पहिलो रचना हो । यसबाट मलाई धेरै हौसला मिल्यो र लेख्दै गएँ । समय–समयमा मेरा रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै गए । यसरी साँच्चै भन्ने हो भने मेरो लेखनको सुरुवात अध्ययनका लागि गर्नुपरेको सङ्घर्षको उपज हो ।

तपाईंले साहित्य सिर्जना गर्नुको मुख्य उद्देश्य के हो  ?
पहिलो कुरा त म आत्मसन्तुष्टिका लागि लेख्छु । मैले यो पाउँछु, त्यो पाउँछु भन्ने आशा गरेर लेख्ने गरेको होइन । म समाजबाट केही पाउनुभन्दा समाजलाई केही दिनका लागि लेख्छु । मैले साहित्य लेख्नुको उद्देश्य यो संसारबाट बिदा लिएपछि पनि नेपाली साहित्यमा बाँचिरहन हो । अर्थात्, मृत्युपछि बाँच्नका लागि म लेख्छु । मलाई विश्वास छ, मेरा कृतिहरुले मलाई पछिसम्म नेपाली समाजमा बचाइराख्नेछन् । त्यसैले म लेख्ने गर्छु ।

तपाईंको विचारमा यात्रासाहित्य कस्तो हुनुपर्छ  ?
मेरो विचारमा यात्रासाहित्यमा आफूले देखे–भोगेका, रमाइला–नरमाइला, तीता–मीठा त्यस्तै दुःख पाएका, हन्डर खाएका एवम् आफ्नो कमीकमजोरी सबैलाई यथास्थानमा सरल, रोचक, कौतूहल एवम् इमानदारीपूर्वक लेख्नुपर्छ । तर, त्यसमा काँटछाँट, ढाकछोप र कल्पना गरेर असत्य कुरा लेख्नु हुन्न । अर्को कुरा, यात्रासाहित्यमा स्थान, व्यक्ति वा घटनाको कोरा विवरणमात्र हुनु हुँदैन । यसमा हुनुपर्ने मुख्य कुरा निजात्मक अभिव्यक्ति र अनुभूति हो । यात्रासाहित्यमा लेखक नै नायक हो । र, उसले आफूले देखे–भोगेका कुराहरुप्रति विचार–विमर्श गर्दै आत्मपरक तरिकाले अभिव्यक्त गरेको हुनुपर्छ । यसो गर्दा लेखकले पाठकको आत्मीयता एवम् विश्वसनीयता पाएको हुन्छ र यो नै यात्रासाहित्यको मूल कुरा हो ।

यात्रा र नियात्रामा तात्विक भिन्नता के हो  ?
यात्रासाहित्यभित्र यात्रा र नियात्रा दुवै पर्दछन् । तर, ती दुवै एक–अर्कोसँग अन्तरङ्ग दृष्टिले भिन्न छन् । ती दुवैलाई एकै ठाउँमा राखेर लेख्ने लेखकहरु पनि मनग्य छन् । यो ठीक होइन । यात्रा गर्दा देखेका निर्माण, स्थान र भोगेका विषय र भेटेका मानिसहरुबारे जसरी सरसर्ती लेख्ने गरिन्छ, कोरा सामान्य विवरण राखिन्छन्, त्यस्तो प्रस्तुतिलाई यात्रा संस्मरण, यात्रा विवरण वा यात्रा वृत्तान्त भनिन्छ । तर, नियात्रामा लेखकले यात्रा गर्दा देखे–भोगेका ठाउँ एवम् घटेका घटनाको विवरण प्रस्तुत गर्दा त्यहाँ ठाउँठाउँमा नवीन विचारको आयोजना गर्दै निजात्मक अभिव्यक्तिबाट एवम् आत्मपरक प्रस्तुतिबाट पाठकवर्गको आत्मीयता र विश्वसनीयतालाई राम्ररी अङ्गीकार गरेको हुन्छ, जसबाट नियात्रा यात्राभन्दा बढी रोचक, ओजपूर्ण, भावनामय र आत्मपरक हुन्छ । यसरी यात्रा र नियात्राबीच तात्विक भिन्नता छ ।

नियात्रा लेखनमा तपाईंका विशेषता के–के हुन्  ?
नियात्रामा मेरो आफ्नै प्रकारका केही भिन्नता भएर नै तपाईंले यस्तो प्रश्न गर्नुभएको होला । मेरो विषयमा मैले भन्नुभन्दा तपाईंहरुजस्ता प्रबुद्ध पाठकहरुले औंल्याइदिए बेस हुने थियो होला । तैपनि तपाईंले सोध्नु भइहाल्यो । यसबारे मैले आफ्नो लेखकीय दायित्व निर्वाह गर्नै पर्दछ ।
मैले नियात्रामा विविध विषयलाई पनि चटनीको रुपमा प्रस्तुत गर्ने गर्दछु । मेरा प्रस्तुतिहरु सहज, सरल, बोधगम्य हुँदै साधारणदेखि विशिष्ट पाठकहरुलाई आकर्षित तुल्याउन सक्नु मेरो नियात्रात्मक विशेषता हो । म जता गए पनि आफ्नो राष्ट्र र राष्ट्रियतालाई बोकेर जाने गर्छु र त्यसलाई ठाउँठाउँमा पहिचान गराउनु पनि मेरो नियात्रात्मक विशेषता हो । पूर्ववर्ती र उत्तरवर्ती नियात्राकारहरुबीच मेरो आफ्नो नियात्रात्मक प्रस्तुतिमा छुट्टै पहिचान बनाउन सफल भएको छ भन्ने जुन कुरा सुन्दछु, त्यो पनि मेरो नियात्रा लेखनको अर्को विशेषता हो ।

नेपाली नियात्रा लेखनको वर्तमान अवस्था कस्तो छ  ?
अहिले नियात्रा लेखनको राम्रो अवस्था छ । मैले सुरुसुरुमा अर्थात् वि.सं. २०३०/३१ सालतिर नियात्रा लेख्दा नियात्रा लेख्नेहरु औंलामा गन्न सक्ने थिए तर हाल यस्तो छैन । राम्रा–राम्रा नियात्राकार र नियात्रा पुस्तकहरु एकपछि अर्को आइरहेको देख्दा मलाई खुसी लाग्ने गर्छ ।

नेपाली नियात्रालाई थप उर्बर बनाउन के गर्नुपर्छ  ?
यात्रा विभिन्न उद्देश्यले गरिन्छ । तर, त्यसबारे लेख्न खोज्नु भनेको एउटा गम्भीर सत्कार्य हो । नियात्रा लेख्नकै लागि भनेर नियात्रा लेख्नु हुन्न । यसका लागि गम्भीरता एवम् साधना चाहिन्छ । त्यस्तै, नियात्राकारले आफ्नो अध्ययनको क्षितिज फराकिलो पार्नुपर्छ । नियात्राकारले आफूले देखेका दृश्य र भोगेका घटनालाई आत्मसात् गर्दै आफ्नो स्वच्छन्द निजात्मक प्रतिक्रिया दिँदै आलोचनात्मक एवम् चाखलाग्दो किसिमले आफ्नो रचना प्रस्तुत गर्न सक्नु पर्दछ । यसो भएमा मलाई लाग्छ, नेपाली नियात्राले अझ बढी उर्बरता प्राप्त गर्न सक्नेछ ।

समग्र नेपाली साहित्यमा नियात्राको स्थिति कस्तो देख्नुभएको छ  ?
मैले माथि पनि भनिसकें, वि.सं. २०३०/३१ सालतिर नेपाली नियात्रा साहित्य बामे सर्न प्रयत्नशील थियो । त्यसबेला यसलाई कौमार्य ९खष्चनष्ल० विधा मानिन्थ्यो । तर, अहिले त्यो अवस्था छैन । अहिले अरू विधामा कलम चलाउने लेखकहरु पनि नियात्रातिर आकर्षित भइरहेका छन् । नेपाली साहित्यमा छोटो समयमै यो विधा अति लोकप्रिय बनिरहेको छ । पाठकीय सर्वेक्षण गरेर हेर्दा मैले अरू विधाभन्दा नियात्रामा आकर्षित भइरहेको पाएको छु । त्यसको उदाहरणका रुपमा मेरा नियात्रा कृतिहरुलाई नै हेरे पुग्छ । अर्थात्, मेरा सबै नियात्रा कृतिहरुले एकपछि अर्को संस्करणहरुको रेखा पार गर्दैछन् । एकजना नियात्राकारलाई योभन्दा खुसीको कुरा अरू के होला र ?

पहिले र अहिलेको साहित्यिक स्थितिको तुलना कसरी गर्नुहुन्छ  ?
पहिलेभन्दा अहिले साहित्यको मनग्य विकास भएको छ । म भर्खर–भर्खर साहित्यतिर लाग्दा अर्थात् वि.सं. २०२१/२२ तिरका लेखक–साहित्यकारहरु बढी इमानदार, परिपक्व र सहिष्णु भएको लाग्दछ । उहाँहरुप्रति हाम्रो राम्रो सद्भावना हुन्थ्यो । तर, अहिलेको हाम्रो साहित्यिक वातावारणमा इमानदारीताको ह्रास भइरहेको छ । आआफ्ना मानिसलाई माथि उठाउने, राजनीतिक विभाजन गरी आफ्ना मानिसलाई सम्मान गर्ने, पुरस्कार दिने र प्रतिष्ठित तुल्याउने होडबाजी छ । यसले गर्दा इमानदार साहित्यकारहरु ‘हिस्स बूढी हरिया दाँत’ को अवस्थामा जाकिइरहेका छन् । यस्तो कलुषित वातावरण हुनु सभ्य साहित्यिक स्थिति होइन । यसको निराकरण हुनुपर्छ ।

लेखकीय जीवनबाट कहिलेकाहीँ निराश हुनुभएको छ  ?
छैन । टपरटुइँयाहरुझैं केही पचाउन साहित्यमा लागिपरेको भए भनेजस्तो नपाउँदा निराश हुनुपर्ने थियो होला । लेखनजस्तो गरिमामय क्षेत्रका लागि आज नियात्राकार भनेर पहिचान गराउन पाउनु मेरा लागि ठूलो खुसी र सन्तोषको कुरा हो । साहित्यमा लागेर मैले पैसाभन्दा उपल्लो नियात्राकारको पहिचान पाएँ र म यसैमा सन्तुष्ट छु ।

सतहत्तर वर्ष पुग्नुभयो । आखिर के रहेछ त जीवन  ?
जीवन के हो ? यसको उत्तर जति जान्न खोज्यो उति नै फेरि जान्नुपर्ने देखिन्छ । घामछाया, सुखदुःख, उत्थानपतन, कटुमधु यी सबैका विविध पक्ष वस्तुतः जीवनका नैसर्गिक गुण हुन् । कुनै बेला कसैलाई जीवन एउटा ज्योतिझैँ लाग्दछ त कसैलाई यो बादलैबादल भएको आकाशजस्तो । तर, जुनसुकै बादलको घेरामा प्रकाश भएझैँ जान्नबुझ्न चाहने मानिसका लागि जीवन एउटा यस्तो ज्योति हो, जसमा सत्यम् शिवम् र सुन्दरम्को त्रिवेणी सन्निहित छ । अन्त्यमा विविधतामा एकता र एकतामा अनेकताले भरिपूर्ण यो हाम्रो जीवनको कुनै एउटै परिभाषामा सीमित नगरुँ कि ?

तपाईं सफल व्यवसायी हुनुहुन्छ । लेखनमा समर्पित हुँदा अप्ठेरो त भएको छैन नि  ?
विश्वविद्यालयको अध्ययन पूरा गरेपछि पनि मैले पद र प्रतिष्ठाका लागि जागिर खाइनँ । बरु बुबा कृष्णबहादुरले नेपालमा पहिलोपटक स्थापना गर्नुभएको पाउरोटी व्यवसायलाई निरन्तरता र समय सुहाउँदो परिमार्जन गर्न लागिपरेँ र यसैमा सन्तुष्ट छु । लेखन र व्यवसाय छुट्टाछुट्टै क्षेत्र हुँदा असजिला परिस्थिति त आइपर्छ नै । तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ मेरो इच्छालाई केहीले ढलमल गर्न सकेन ।

एउटा साहित्यकारको रुपमा के पाउनुभयो ? के गुमाउनुभयो  ?
साहित्यकारको रुपमा मैले धेरै पाएँ । पैसाले किन्न नसकिने नियात्राकारको पहिचान पाएँ । म मरे पनि मेरो कृतिले मलाई बचाइराख्ने सौभाग्य पाएको छु । मेरो पुर्खामा अहिलेसम्म कसैले ओगट्न नसकेको लेखक भन्ने पदवी पाएको छु  ।
साहित्यमा नलागेको भए आर्थिक हिसाबले म अझ बढी सक्षम हुने थिएँ हुँला । अर्थात्, बढी पैसामुखी हुन्थेँ हुँला । र, बढी पैसामुखी हुँदा पाइने मानसिक अशान्तिचाहिँ मैले गुमाएँ, होइन त ?

आफ्नो साहित्यिक यात्रालाई कसरी मूल्याङ्कन गर्नुभएको छ  ?
मैले आफ्नो साहित्यिक यात्रालाई उत्साहजनक र उपलब्धिमूलक ठानेको छु । माथि उल्लेख भएका भनाइहरुले पनि यस कुरालाई राम्ररी पुष्टि गरेको छ ।

राज्यले साहित्यलाई हेर्ने दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने लाग्छ  ?
पहिलेपहिले साहित्यलाई राज्यले अनुत्पादक ठानेर वास्तै गर्दैनथ्यो । अहिलेचाहिँ सरकारको घैँटोमा घाम लाग्न थालेको हो कि जस्तो झझल्को देखिन्छ । हेर्नुस्, साहित्य भनेको राष्ट्रको गहना हो । यस्तो गहनाको जगेर्ना गर्न आर्थिक रुपले असक्षम साहित्यकारहरुलाई सहज तरिकाले सहयोग पु¥याई सुरक्षित गर्ने दायित्व सरकारको हो ।

विश्व बजारमा नेपाली साहित्यको अवस्थालाई कसरी हेर्नुहुन्छ  ?
नेपाली साहित्य विश्वबजारमा त होइन तर पहिलेको भन्दा अहिले विश्वको विभिन्न ठाउँ पुगेको छ । विश्वको कुनाकाप्चामा नेपाली साहित्यको प्रवद्र्धन भइरहेछ । यो खुसीको कुरा हो तर विश्व बजारमा पु¥याउनचाहिँ हामीले विभिन्न भाषामा नेपाली साहित्यका पुस्तकहरुलाई अनुवाद गर्ने÷गराउने परिपाटीको विकास गर्न अपरिहार्य छ । उदाहरणार्थ ‘विदेशको यात्रा स्वदेशको सम्झना’ नामक मेरो नियात्रा पुस्तकलाई रत्न पुस्तक भण्डारले ‘त्चबखभकि स् भ्बकत बलम ध्भकत ’ नाममा अनुवाद गरेको पुस्तक अमेरिकाको एउटा पुस्तक पसलमा देख्दा म अचम्मित भएको थिएँ ।

यसमा तपाइको मत

अन्य समाचार