ढुङ्गाको काप फोरेर निस्किएका लेकाली


मिलाप टिम

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेजस्तै साँच्चै ढुङ्गाको काप फोरेर निस्किएका हुन् कवि राधेश्याम लेकाली । जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै उनले हरेस खाएनन् र लागिरहे आफ्नो लक्ष्यमा ।
इलामको मालापथमा २०१५ साल असार २२ गते जन्मिएका लेकालीको जीवनमा अनेक बाधा–व्यवधान आए । तर, उनले ती अवरोधलाई सहजै पन्छाएर अघि बढे । वास्तवमै ढुङ्गाको काप फोरेर निस्किएका हुन् लेकाली भन्दा असान्दर्भिक नहोला । सूक्ष्म रुपमा उनलाई नजिकबाट नियाल्नेहरु राष्ट्रकविको उक्त कविताको यर्थाथ विम्ब उनको जीवनमा देख्न पाइन्छ भन्ने गर्छन् ।

थर गुप्ता भए पनि लेकालीका नामबाट परिचित छन् उनी । …निरन्तर मिहिनेती र इमानदार हुन सकिएमा सफलता सजिलै हात पर्ने रहेछ,’ मिलापसँगको भेटमा उनले भने, ‘इच्छाशक्तिको आवश्यकता पनि त्यत्तिकै पर्दो रहेछ ।’

हुने बिरुवाको चिल्लो पात भनेझैं उनमा सानैदेखि सिर्जनात्मक विश्लेषण गर्ने क्षमता थियो । तीक्ष्ण बुद्धिका लेकाली नयाँ कुरा देख्नासाथ त्यसलाई कवितामा ढाल्न सक्छन् ।

कक्षा चारमा पढ्दाताका उनलाई पढाउने शिक्षकले कविता लेख्न लगाए । तर, उनले कविता कहिल्यै नलेखेको प्रतिक्रिया दिए । कविता लेख्दा पुरस्कार पाइने आश्वासन गुरुले दिए । तर पनि उनी कविता लेख्न हच्किए ।

दशैंको समय थियो । सबैतिर चङ्गा उडिरहेका थिए । उनले चङ्गा कसरी बनाइन्छ, कसरी उडाइन्छ, चङ्गा टाढा जानबाट कसरी नियन्त्रण गरिन्छ, अर्को चङ्गासँग जुधाउँदाको उत्साह र डरका बारेमा गुरुलाई आफ्नो अनुभव सुनाए । ‘त्यो कविताको पारामा सुनाएछु,’ उनले त्यसबेलाको सम्झना सुनाउँदै भने, ‘गुरुले यही हो कविता भन्नुभयो ।’

आफ्नो कविता सुनेर दङ्ग परेका शिक्षकबाट पुरस्कारको आशमा थिए उनी । तर, पुरस्कार भने उनलाई दिइएन । अरुलाई नै दिइयो ।
‘त्यतिबेला ज–जसले पुरस्कार पाए, उनीहरु व्यापारी भए,’ उनले भने, ‘पुरस्कार नपाउनेहरु कवि भएका छन् ।’

पुरस्कार नपाए पनि वितृष्णा भने उनमा पैदा भएन । बरु कविता अझ कसरी राम्रो लेख्न सकिन्छ भन्ने धाउन्नमा उनी तल्लीन रहे ।

स्कुल पढ्दा अटो लेख्ने खुबै प्रचलन थियो । कक्षा ६ मा उनी पढ्दा अटो लेख्ने सौभाग्य उनले पाए । केटा र केटीको छुट्टै स्कुल थियो । त्यसबेला केटाले केटीको र केटीले केटाकोमा अटो लेख्ने गरिन्थ्यो । कसले राम्रो सायरी वा कविता लेख्न सक्छ भन्ने प्रतिस्पर्धा नै हुन्थो,’ उनले त्यतिबेलाको अनुभव सुनाउँदै भने, ‘शब्द चयन गरेर मिठो पारामा लेख्ने र सुनाउने गरिन्थ्यो ।’

कक्षा चारमा गुरुले कविता लेख्नका लागि हौसला दिएको र कक्षा ६ मा अटो लेखनले नै लेकालीलाई कविता लेखनमा प्रेरित गरेको थियो ।
तनाव, होहल्लाभन्दा पनि सुन्दर र रमणीय वातावरणमा गहन किसिमका लेख तथा कविता लेख्न सकिन्छ । लेकालीलाई पनि यस्तै वातावरणले साथ दियो ।

उनको जन्मस्थान इलामलाई त्यसैपनि सुन्दरताको खानी भनिन्छ । लेकालीको मावली घर दाजिर्लिङ पनि त्यत्तिकै मनमोहक । नलेखौं भन्दा पनि त्यहाँ पुग्दा जो–कोहीलाई कविता फुर्ने सम्भावना उत्तिकै हुन्छ ।

बाहिरको वातावरण र परिवेशले मानिसको जीवनमा ठूलो भूमिका खेल्छ । यस्तै परिवेशमा हुर्किएका हुन् लेकाली ।

मिलापसँगको करिब तीन घण्टाको बसाइँमा लेकालीले आफ्नो स्कुलेजीवनको अनेकौं आरोह र अवरोह सुनाए । स्कुल पढ्ने बेलादेखि नै भलिबल, फुटबल र टेबल टेनिस खेल्न रुचाउँथे उनी । टेबलटेनिस धेरै तरिकाबाट खेल्ने गर्थे उनी । कक्षा ८ मा पढ्दा लेकालीलाई खुट्टा उचालेर खेलेको र गुरुहरुको अनादर गरेको आरोप लाग्यो । ‘खुट्टा उठाउँदा शिक्षकको अपमान गरेको आरोप ममा लगाइयो,’ उनले त्यतिबेलाको स्मरण गर्दै भने, ‘त्यही कारण खेलको प्रतियोगिबाट नै आउट गरियो ।’

प्रतियोगिताबाट बाहिरिए पनि उनले माफी मागेनन् । माफी मागेको भए प्रतियोगितामा भाग लिन पाउँथे उनले । ‘गल्ती गरेको भए पो माफी माग्नु त,’ अलि बढी भावात्मक स्वरमा लेकालीले भने, ‘खाएको विष पो लाग्छ, नखाएको विष के लाग्नु ?’

एउटा अवसरबाट वञ्चित गरिए अर्को आउँछ भन्ने लाग्यो रे उनलाई । गल्ती नै नगर्दा गल्ती गरेको आरोप लागेपछि उनमा विद्रोहको भावना आयो ।
जायज कुरामा अडिग रहने लेकालीको बानी छ । जस्तोसुकै परिस्थितिमा पनि सत्य कुरादेखि डराउँदैनन् उनी ।

२०३१ सालको कुरा हो, उनी कक्षा ९ मा पढ्दा भारतले सिक्कमलाई आफूमा विलय गरायो । त्यसबेला उनले भारतीय विस्तारवाद मुर्दावादको नारासमेत लगाए । भारतको विरोध गर्दा उनलाई तीन–चार दिन भूमिगत हुनुपरेको थियो । ‘कैयौं दिन लुक्नुप¥यो,’ त्यसबेलाको कुरा सम्झँदै उनले भने, ‘राष्ट्रियताको सवालले मनै छँुदो रहेछ ।’

राष्ट्रियताका बारेमा निकै संवेदनशील छन् उनी । भन्छन्, ‘राष्ट्र नरहे हामी कहाँ रहौंला ?’

सानैदेखि विद्रोही स्वभावका हुन् लेकाली । २०३० को दशकमा विद्रोही खालका कविता जन्मिएका थिए । अहिले पनि धेरैजसो कवितामा त्यसैको प्रभाव कायम रहेको देखिन्छ ।

२०३६ सालको जनमतसङ्ग्रहअघि पञ्चायती व्यवस्थाका विरुद्ध पनि उनी खुलेरै विरोधमा उत्रिए । ‘खुलेर कवितावाचन गर्न दिइँदैनथ्यो,’ उनले त्यसबेला गरेको कार्यको बेलिविस्तार लगाउँदै भने, ‘बुट्यानभित्र छिरेर पनि कवितावाचन गथ्र्यौं हामी ।’

जनमतसङ्ग्रहको अघिल्लो दिन सडकमा कविताक्रान्ति भएको थियो । त्यसबेलाको पञ्चायती शासन व्यवस्थाले कवितावाचनमा प्रतिबन्ध लगाएको थियो । तर पनि ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि’ भनेजस्तै जहाँ भिडभाड हुन्छ, त्यहाँ कविताको माध्ययबाट पञ्चायती शासन व्यवस्थाप्रति कडा प्रहार गर्थे उनी ।

२०३३ सालमा कवितावाचन गरेकै कारण लेकालीलाई दुई दिन प्रहरी हिरासतमा राखिएको थियो । पञ्चायती व्यवस्थाको दमनकै कारण २०३४ सालमा ढाकर पत्रिका छाप्न प्रतिबन्ध लगाइएको थियो । उनले त्यतिबेलाको कुरा सम्झँदै भने, ‘राजाको फोटो छाप्ने शर्तमा हामीलाई छाडियो ।’
उनीसँगको भेटका क्रममा यस्ता धेरै घटनाको बेलीविस्तार लगाए लेकालीले । पञ्चायती व्यवस्थामा पाएको सास्ती, स्कुलले जीवनमा पाएको कष्ट र पीडालाई लिपिबद्ध गर्ने काम पनि उनले गरेका छन् ।

राजनीतिलगायत विभिन्न विषयवस्तु वा सन्दर्भलाई सरल र सहज ढङ्गले कवितात्मक ढाँचामा ढाल्न सक्ने खुबी छ, लेकालीमा ।

उनको कवितामा स्वच्छन्दतावादी, क्रान्तिकारी–प्रगतिवादी, मानवतावादी, प्रेमवादी झल्किन्छ । समसामयिक विषयवस्तुलाई केलाएर कविता सिर्जना गर्नु लेकालीको अर्को खुबी हो ।

लेकालीका कविता पढ्दा विषयवस्तु वा भावगत विविधता पाइन्छ । सुरुसुरुमा स्वच्छन्दतावादी एवम् प्रेमप्रणयमूलक कविका रुपमा देखापरेका लेकाली पछिपछि विद्रोही खालका कविता लेखनतर्पm पनि उन्मुख भएको पाइन्छ । उनका कविता तत्कालीन पञ्चायती व्यवस्थाका विसङ्गति र अराजकताको विरोधमा क्रान्तिकारी विद्रोही चेतनाको प्रसारका साथ मानवतावादी मूल्यको स्थापनामा केन्द्रित रहेको देखिन्छ ।

यो देशमा
गिद्धहरुले राज्य गरिरहेछन्
लाखौं जनता
भोकै र नाङ्गै बस्दा पनि
मुठीभर सत्तासीन गिद्धहरु
देशलाई लुछिरहेछन्
ठुँगिरहेछन् ।

लेकालीले आफ्ना कवितामा समाजमा व्याप्त अन्याय, अत्याचार एवम् वर्गीय विभेदप्रति व्यङ्ग्य गर्दै तिनका विरुद्ध हुँकार गरेका छन् ।
यहाँ मिहिनेत गर्नेहरू

भोकै सुत्छन्
र ठगेर खानेहरू
डकारेर निदाउँछन्
चोरहरु जति
साधु देखिन्छन्
र शकुनीहरु जति
नेता भएका छन् ।

युवावस्थादेखि नै आपूmले भोगेको युगप्रति सचेत भएर कविता सिर्जना गर्ने क्रान्तिकारी–विद्रोही कवि हुन्, लेकाली । यिनका कवितामा आस्था र विचारलार्ई थुनछेक गर्न नसकिने भावहरु सल्बलाएका छन् ।

सिक्री र साङ्लोले बाँधेर
थुनछेक र धरपकड गरेर
अमानवीय यातनाले
स्थापित विचार कुल्चिन सकिँदैन
डर, धम्की र क्रुरताले
स्थापित आस्था मेट्न सकिँदैन
विचार÷आस्था
सधैं अमर हुन्छ ।

लेकालीका अधिकांश कविता तत्कालीन पञ्चायती व्यवस्थाका विकृति–विसङ्गति तथा अराजकताका विरुद्ध लेखिएका छन् ।
समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन आदिको अन्त्य गरी समतामूलक शोषणरहित समाजको स्थापनाका लागि आह्वान गरिएका छन् ।

आपूm बाँचेको युग र समयलाई लिएर सार्वजनिक ढङ्गले कविता सिर्जना गर्न सक्षम युगसचेत कवि हुन्, लेकाली । मानवजीवनका विसङ्गति र दुर्नियतिको मार्मिक चित्रण पाइने यिनका रचनामा राजनीतिक स्वेच्छाचार र आर्थिक विषमताजस्ता दुर्नियतिहरुमाथि व्यङ्ग्य प्रहार गरिएको छ । शाश्वत मानवीय मूल्य र मान्यतालाई सहजतापूर्वक प्रस्तुत गर्ने लेकालीले अधिकांश कवितामा विद्रोहात्मक अनुभूतिलाई सरल, स्वाभाविक ढङ्गले अभिव्यक्त गरेका छन् । सरल ढङ्गमा प्रभावकारी कविता रच्ने कविका रुपमा परिचित लेकालीले कवितामार्फत् आफ्ना युगका कथाव्यथालाई मुखरित गरेका छन् ।

आरम्भमा प्रेमप्रणयमूलक कविका रुपमा देखापरेका तथा मानवतावादी एवम् विद्रोही लेखनतर्पm उन्मुख भएका कवि लेकाली आधारभूत रुपमा विद्रोही एवम् क्रान्तिकारी कवि हुन् । यिनका कवितामा तत्कालीन राजनीतिक अड्बाङ्गाहरुको चर्काे विरोध पाइन्छ । प्रेम र विद्रोहका कवि लेकालीको प्रेम मानवीय प्रेम, राष्ट्र प्रेम÷जन्मभूमि प्रेमका रुपमा अभिव्यक्त भएको छ भने विद्रोह मानवतावादतर्पm अग्रसर भएको छ । युवासुलभ जोश, जाँगर, आक्रोश, विद्रोही–क्रान्तिकारी चेतनाको प्रबलता, राजनीतिप्रतिको सचेतता र राजनीति सापेक्ष कविताको सिर्जना, अन्याय–अत्याचारको विरोध, परिवर्तनको चाहना, विकास र निर्माणको आह्वान, युगीन सामाजिक, राजनीतिक, आर्थिक विसङ्गति, विकृति र विषमताप्रति आक्रोश, व्यङ्ग्य र विद्रोह, राष्ट्र, राष्ट्रियता र जन्मभूमिप्रति अगाध श्रद्धा, क्रान्तिकारिता, वैचारिकता, सन्देशमूलकता, आशावादी स्वरलाई सरल भाषामा गम्भीर भावको प्रस्तुति, विविध विम्ब, प्रतीकको सहज र स्वाभाविक आयोजन, मुक्तछन्दमा कविता सिर्जना आदि लेकालीका कवितामा पाइने मूलभूत काव्यप्रवृत्ति हुन् ।

लेकाली साहित्यिक सङ्घ–संस्थामार्फत् अग्रज पुस्तालाई सम्मान र नयाँ पुस्तालाई साहित्यमा लाग्न प्रेरित गर्ने व्यक्ति हुन् ।
पत्रकारितामा स्नातक र नेपालीमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका लेकाली विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक एवम् सामाजिक सङ्घ–संस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहिसकेका छन् । साहित्यिक पत्रकार सङ्घको महासचिव तथा अध्यक्षसमेत भइसकेका उनी नेपाल बालसाहित्य समाज, साहित्यिक पत्रकार सङ्घ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्यसमेत छन् । विभिन्न सामाजिक एवम् मानवअधिकारवादी संस्थामा पनि संलग्न रहेका लेकाली मिडिया इन्टरनेसनल, भूगोल म्यागजिन, बोस्टर मिडिया, नेपाल म्युजिक फाउण्डेसन (नेदरल्याण्ड) नेपाल च्याप्टर, म्युजिक खबर न्युज डट कम, नेपाल पत्रकार महासङ्घ, नेपाल वाणी नेटवर्क आदिको सल्लाहकार, राष्ट्रिय आध्यात्मिक ज्योतिष विज्ञान प्रतिष्ठानको संरक्षक, मैना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उपाध्यक्ष, नागरिकसभा नेपालको सचिव, नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको केन्द्रीय पार्षद्, एमनेस्टी इन्टरनेसनल नेपालको सदस्य, नेपाल मुक्तक प्रतिष्ठानको सदस्य आदि अनेक संस्थाका विभिन्न पद समालिसकेका छन् । हाल यिनी साहित्यिक पत्रकार सङ्घको विशेष कार्यसमितिको संयोजक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय वरिष्ठ उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको अध्यक्षका साथै नेपाल केबल टेलिभिजन सङ्घको कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । यी सबै सन्दर्भलाई हेर्दा यिनी एउटा कुशल सङ्गठकका रुपमा देखिन्छन् ।

लेकालीले विभिन्न पत्रपत्रिकाका साथै अनेकौं साहित्यिक कृतिको पनि सम्पादन गरेका छन् । उनीसँग अन्तर्दृष्टि, अभिभारा, अनुगमन, कदर, महिमा, विज्ञप्ति, बहस, सिर्जना, सचेतना, पर्यावरण मञ्च, साहस, सर्वाेदय, जन दैनिक, श्रम अवधारणाजस्ता दैनिक, साप्ताहिक, मासिक, द्वैमासिक, त्रैमासिक आदि अनेक पत्रिकाका साथै ढाकर नामक सामयिक सङ्कलन, सागर, विष्णु नवीन स्मृति ग्रन्थ, वैदेशिक रोजगार स्मारिका, कवि हरिहर शास्त्री स्मारिका, प्राज्ञ बालकृष्ण पोखरेल अभिनन्दन ग्रन्थ, ब्रिटिस गोर्खा सन्धिदेखि सर्वाेच्चसम्म, डायस्पोरामा देवकोटालगायतको पनि सम्पादन गरेको अनुभव छ ।

नेपाली साहित्यमा सक्रियताका साथ निरन्तररुपमा क्रियाशील राधेश्याम लेकालीले विभिन्न साहित्यिक–सामाजिक सङ्घ–संस्थाहरुबाट सम्मान प्राप्त गरेका छन् । उनी अनेसास बेस्ट संयोजक सम्मान (सन् २०१२), मिडिया इन्टरनेसनल सम्मान (२०६९), कपन–बानेश्वर साहित्यिक साप्ताहिक स्रष्टा सम्मान (२०६९), नेपाल सम्मान (२०७०), हातेमालो अभियान सम्मान (२०७१), तन्नेरी सम्मान (२०७१), अनेसास सम्मान (सन् २०१४), नेसनल क्यापिटल साहित्य अवार्ड (२०१५), अनेसास बेस्ट प्रेसिडेन्ड अवार्ड (२०१५) आदि सम्मानहरुबाट सम्मानित भएका छन् । यसैगरी, उनी ब्रिटिस गोर्खा अध्ययन तथा अनुसन्धान केन्द्र, राइटर्स फेडरेसन बङ्गलादेश, नेपाल टेलिभिजन सङ्घ, शास्त्रीय मार्ग र टोल उपभोक्ता समिति, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका, नागरिक विकास अनुसन्धान केन्द्र, शान्ति र विकासका लागि नागरिक आवाज, सिर्जनशील साँस्कृतिक प्रतिष्ठान नेपाल, लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान बालतृष्णा विशेष सम्मान आदि थुप्रै साहित्यिक एवम् सामाजिक संस्थाहरुबाट पनि सम्मानित छन् ।

सानै उमेरदेखि कविता लेखनतर्पm उन्मुख भएका लेकालीको औपचारिक रुपमा साहित्य यात्राको प्रारम्भ २०३३ सालको सौगात नामक मासिक पत्रिकामा प्रकाशित ‘भानुप्रति’ शीर्षक कविताका माध्यमबाट भएको हो । विभिन्न साहित्यिक–सामाजिक सङ्घसंस्थामा आबद्ध रहेर पनि समसामयिक नेपाली कविताका फाँटमा सक्रियतापूर्वक अघि बढी आफ्नो सिर्जनालाई निरन्तरता दिइरहेका लेकालीको सिर्जनाको मूल क्षेत्र कविता रहेको छ । हालसम्म उनका वर्तमानको दस्तावेज (२०३९), प्रेमाभिव्यक्ति (२०४३), काठमाडौं र काठमाडौं (२०६२), निरङ्कुशता (२०६७), स्वतन्त्रताको साइपाटा (२०६८), प्रस्थान बिन्दु (२०६९), आगतको ढाडमा वर्तमानको सर्प (२०७०) जस्ता कविताकृति प्रकाशित छन् । यीमध्ये अघिल्ला तीन कृति मुक्तकसङ्ग्रह हुन् भने पछिल्ला चार कृति कवितासङ्ग्रह हुन् । यीबाहेक यिनका शब्द सान्तनु, त्रासको बस्ती, पहाडहरु जलिरहेछन्, नाथे भात, शब्दहीनता, लासहरुको सहर, लेकालीका प्रतिनिधि कविताहरुजस्ता कविताकृतिहरु प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।

लेकालीका एक थान गीति एल्बमसहित चारवटा मुक्तकसङ्ग्रह प्रकाशित छन् भने एक दर्जन कवितासङ्ग्रह प्रकाशित छन् । यत्तिकै सङ्ख्यामा उनका अन्य कृतिका पाण्डुलिपीहरु प्रकाशनको पालो कुरेर बसेका छन् । यिनका सबै कवितासङ्ग्रहमा सङ्कलित अधिकांश कवितामा लिखित एवम् प्रथम प्रकाशित मिति उल्लेख गरिएको छ । प्रत्येक कवितासङ्ग्रहमा कविले तत् सङ्ग्रहमा सङ्कलित कविता यतिदेखि यति सालसम्म रचना गरिएका हुन् भन्ने कुरा उल्लेख गरेका छन् । यसतर्पm दृष्टि दिँदा यिनका यी चारवटै सङ्ग्रहमा समाविष्ट अधिकांश कविता सुरुदेखि २०४० सालसम्मको सेरोफेरोमा लेखिएका देखिन्छन् । यिनको पहिलो कवितासङ्ग्रह निरङ्कुशता (२०६७) मा २०३६ सालमा लेखिएका २७ वटा कवितासङ्कलित छन् भने दोस्रो कवितासङ्ग्रह स्वतन्त्रताको साइपाटा (२०६८) अघिल्लाभन्दा पछि प्रकाशित भएको देखिए पनि यसमा २०३४–२०३५ सालमा लेखिएका ३१ वटा कविता सङ्कलित छन् । यिनको तेस्रो कवितासङ्ग्रह प्रस्थान बिन्दु (२०६९) मा २०३२–२०३३ सालको सेरोफेरोमा लेखिएका २६ वटा कविता सङ्कलित छन् भने पछिल्लो कवितासङ्ग्रह आगतको ढाडमा वर्तमानको सर्प (२०७०) मा २०३७ सालदेखि २०४० सालसम्म लेखिएका २३ वटा कविता समाविष्ट छन् । उनका कवितासङ्ग्रहमा सङ्कलित कवितालाई हेर्दा लेखन र प्रकाशन अघि–पछि भएको देखिन्छ । पहिले लेखिएका कविता पछिल्लो र पछि लेखिएका कविता अघिल्लो सङ्ग्रहमा सङ्कलन गरिएका छन् । जे भए पनि यिनका यी कवितासङ्ग्रहमा सङ्कलित कविता सिर्जनायात्राको प्रारम्भतिरका भएकाले तिनलाई आजका सन्दर्भबाट नभएर तत्कालीन सन्दर्भबाटै व्याख्या–विश्लेषण गर्नु आवश्यक देखिन्छ ।

लेकालीका सङ्ग्रहमध्ये निरङ्कुशता र स्वतन्त्रताको साइपाटा कवितासङ्ग्रहको शीर्षक यिनैमा समाविष्ट एउटा कविताका आधारमा चयन गरिएको छ भने अन्य दुई सङ्ग्रहको शीर्षक चयन स्वतन्त्र ढङ्गमा गरिएको छ । यिनका कवितामा प्रयुक्त शीर्षकहरुमध्ये धेरजसो छोटा–छरिता रहेका छन् भने कतिपय कविताशीर्षक लामो आयाममा विस्तारित छन् । यिनका लामा शीर्षक भएका कविता हेर्दा युगीन विसङ्गति एवम् अराजकताप्रति आपूmभित्र रहेको आक्रोश र विद्रोहको ज्वालालाई शीर्षकमै अभिव्यक्त गर्ने अभीष्टबाट प्रेरित भएको देखिन्छ । उनका कतिपय कविताका शीर्षक अभिधात्मक खालका छन् भने कतिपय कविताका शीर्षक प्रतीकात्मक खालका छन् । उनका कविताका शीर्षक अभिधात्मक–प्रतीकात्मक जेसुकै भए पनि तिनमा शीर्षक र कथ्यका बीच भने प्रायः अन्तःसङ्गति रहेको पाइन्छ । लामा–छोटा विभिन्न आयाममा संरचित यिनका यी सङ्ग्रहका कविताहरु प्रगीतात्मक संरचनाको प्रचलित सरदर कविताका ढाँचामा विस्तारित छन् ।

यसमा तपाइको मत

अन्य समाचार