मेरा प्रत्येक लघुकथा आर्टपिसजस्तो बनाउने प्रयास गर्छु


आजको व्यस्त जीवनमा ठूल्ठूला ग्रन्थ पढ्ने फुर्सद कसैलाई हुँदैन । बेफुर्सदीले गर्दा छोटो लेखन समयको माग बनेको छ । यही कारण लघुकथा दिनानुदिन लोकप्रिय बनिरहेको छ । अहिले लघुकथा लेख्ने सयौंको सङ्ख्यामा भए पनि लघुुकथामा मात्र समर्पित भएर लेख्ने एक मात्र लेखक सुमन सौरभ हुन् । उनका लघुुकथाहरु प्रचलितभन्दा पृथक छन् । सामान्य विषयलाई पनि गहिरोसँग उठाउनसक्ने उनका लघुुकथा दर्शनझैं पनि लाग्छन् । जे होस्, सुुमन सौरभका लघुकथाहरुले नेपाली लघुकथामा फरक अस्तित्व जमाउन सफल भएका छन् । उनका आधुनिक लघुकथाहरु (२०५२), पराइ विचार (२०६५) , चौथो लिङ्गी (२०६८), मृत्युसङ्ग्रह (२०७१) र स्वप्निस्तान (२०७४) गरी पाँचवटा लघुकथा कृति प्रकाशित छन् । उनका ‘मृत्युुसङ्ग्रह’ र ‘स्वप्निस्तान’मा मृत्यु र सपना केन्द्रित लघुकथा छन् । राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा प्रथम भएका सौरभका लघुकथामा स्वैरकल्पना र दर्शनको प्रशस्त प्रभाव परेको देखिन्छ । वि.सं. २०७४ का उत्कृष्ट दस आख्यानमा ‘स्वप्निस्तान’ पर्न सफल भएको छ । लघुकथा समाजका कोषाध्यक्ष तथा अभियन्ता सुमन सौरभसित ‘मिलाप’का लागि साहित्यकार श्रीराम राईले गरेकोे संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छः–

लघुकथामात्रै किन लेख्नुहुन्छ ?
लघुकथामात्रै किन नलेख्ने प्रश्नचाहिँ त्यसरी गर्नुपर्छ कि ? एउटा विधामा लाग्नु भनेको त्यो विधाप्रति आफ्नो लगाव हो । अरू विधामार्फत् भन्नुुपर्नेे कुरा पनि लघुुकथाबाटै भन्न सकिन्छ भने किन सबैतिर लागिरहनेु ? मेरो लघुकथाप्रतिको लगाव र लघुकथाको फरम्याटले गर्दा म यसैमा रमाइरहेको छु ।

यसको अर्थ अरू विधामा लाग्नेहरु एउटा विधाबाट आफ्नो कुरा व्यक्त गर्न सक्दैनन् भन्ने हो ?
हरेक फरम्याटमा एउटा विचार हुन्छ । त्यसलाई आर्टिकल बनाउने हो भने त्यही फरम्याटमा जानुपर्ने हुन्छ । त्यही विचारलाई कविता बनाउने हो भने कविताको नै फरम्याटमा जानुपर्ने हुन्छ । लघुकथाको फरम्याटमा छोटो र गहकिलो प्रस्तुत गर्न सकिने भएकोले मलाई यसैमा मजा लाग्छ । उपन्यास लेख्नेले पनि लघुकथा लेखेका छन् । लघुकथा लेख्नेले पनि कथा र उपन्यास लेखेका छन् । त्यो आ–आफ्नो रहरको कुरा भयो ।

लघुकथाको स्वरुपमा भन्नुपर्ने कुरा सबै भन्न सक्नुभएको छ त ?
भन्न सकिँदो रहेछ । करीब दुई सय पचास शब्दमा मैले लघुकथामा ठूलो– ठूलो कुरा भन्न सकेको छु । सुरूसुरूमा तीन सय पचास जति शब्द भए ठूलो कुरा पनि भन्न सक्छु जस्तो लाग्थ्यो । पछि लघुकथा समाजसँग आबद्ध भएर काम गर्दै जाँदा दुई सय पचासको हाराहारीमा राम्रो कथा बन्छ भन्ने मान्यतामा दृढ छु । मलाई जति ठूूलो विषयको लघुकथाका लागि पनि दुई सय शब्दभन्दा बढी चाहिन्छ भन्ने लाग्दैन । आयतनमा जति भन्न खोजेको हो, त्यति नै कुरा भनेर टुङ्ग्याउन सकिन्छ ।

शब्द सीमाको कुरा गर्नुभयो । त्यो कत्तिको व्यावहारिक छ ?
हामीले लेख्दाताका सिकाउने मान्छे कोही थिएनन् । अध्ययनअनुसन्धान भएको थिएन । अब अध्ययनअनुसन्धान र २००७ सालदेखि लेखिएका कथाहरुको अध्ययनका आधारमा पनि दुई सय पचास शब्दमै छरितो लेख्न सकिन्छ भन्ने प्रष्ट भएको छ ।
कथामा भन्न खोजेको दृष्टिविन्दु वा सन्देशलाई निचोरेर लेख्न सकिन्छ । योचाहिँ नितान्त सीपमा भर पर्ने हुनाले यसमा विवाद गरिरहनु जरूरी छैन ।

सिर्जनामा शब्द सीमा राख्नुलाई उपयुक्त होइन भनिन्छ नि ?
सिर्जनामा शब्द सीमा हुनु हुँदैन । पहिले छन्द कवितालाई मात्र कविता मानिन्थ्यो । पछि छन्दलाई तोडेका नै कविता बने । चार–पाँच लाइनका कवितालाई पनि मुक्तक नभनी कविताको शैलीमा लेखियो भने त्यो कविता नै मानिन्छ । लेखकलाई मनमा उम्लिएको जम्मै कुरा लेख्न मन लाग्छ । तर, भन्न खोजेको मूल चुरोको वरिपरि रहेर लेख्दा दुई सय पचासले पुग्छ । दुई सय पचासमा केही शब्द प्लस–माइनस पनि होला । तर, एउटा आयतनमा बस्नु जरूरी हुन्छ । हामीले ठ्याक्कै यति नै भनेर गुरूगुरू, लघुलघु भनेर गरेजस्तो गर्नु जरूरी छैन ।

लघुकथामा तपाईंको आफ्नोपनचाहिँ के हो नि ?
मेरो कथामा के–कति फरक छ भन्ने कुरा लेखकले भन्दा पाठकले छुट्याउने कुरा हो । मेरा लागि सम्पूर्ण जायजेथा भनेकै लघुकथा हो । त्यसैले धेरै विचार पु¥याएर लेख्छु । सकेसम्म मिहिनेत गर्छु । सानो क्यानभासभित्र रङ भरेको जस्तो, क्यामेराम्यानले फोटो खिचेको जस्तो लघुकथामा विशेष एङ्गल दिने कोशिस गर्छु म ।
मलाई लाग्छ, म बढी दत्तचित्त भएर लेख्छु । बयान गर्नका लागि वा लेखिदिऊँ भनेर मात्रै लेख्दिनँ । मेरा प्रत्येक लघुकथा आर्टपिसजस्तो होस् भन्ने प्रयास गर्छु । हुन सक्ला वा नसक्ला त्यो आफ्नै ठाउँमा छ ।

चलनचल्तीको लघुकथाभन्दा तपाईंका लघुकथाहरु फरक नै छन् । फेरि किन फरक बन्न खोजिरहनुभएको छ  ?
यो भीडमा केही गरेर चिनिन र साहित्यमा लागिसकेपछि लघुकथालाई साहित्यिक फ्लेबर दिनका लागि मात्र हो । फरक बन्न खोजेको छैन  ।

विषयवस्तु पनि अलिक फरक ढङ्गले प्रयोग गर्नुहुन्छ नि  ?
म जे देख्छु, त्यसलाई कथामा कमै लेखेको छु । मैले पढेका, मैले सुनेका र अनुभव गरेका कुराहरुलाई नयाँ ढङ्गबाट कसरी प्रस्तुत गर्न सकिन्छ भनेर मनमा खेलाएपछि मात्रै लेख्छु ।

तपाईंका लघुकथाहरुमा स्वैरकल्पना, विम्ब र प्रतीकहरु बढी भएकाले सामान्य पाठकका लागि नहुने भनिन्छ नि  ?
यो पछिल्लो किताबमा विम्ब र स्वैरकल्पना बढी भएको हो । किनकि मैले एउटा मात्रै विषयवस्तुलाई लिएको छैन । मैले फिजिक्स पढेर पात्रलाई बोलाएको छुु । बायोलोजी पढिसकेपछि त्यसको केमेस्ट्रीलाई कथामा प्रयोग गरेको छु । त्यसैले केही कथा नबुझ्नेजस्ता भएका छन् । तर, सामान्य पाठकले पढ्दा पनि लघुकथा बुझियोस् । गम्भीर पाठकले पनि बुझोस् र प्रत्येक लाइनमा थरीथरीका इन्टरप्रिटेसनहरु पाइयोस् भन्ने प्रयास गरेको हुनाले यो फरक देखिएको हो ।

जस्तो २०७४ सालका दश उत्कृष्ट आख्यान भनेर तपाईंको पुस्तक प¥यो । यसको अर्थ नेपाली साहित्यका पाठकहरु बौद्धिक बन्दैछन् भन्ने हो त ?
कति पाठकको हातमा यो पुस्तक प¥यो, कतिले पढे, त्यो मेरो जानकारीमा छैन । मैले गरेको मिहिनेतको मूल्याङ्कन भयो भन्ने लाग्छ । मैले मेरो तेस्रो कृति ‘चौथो लिङ्गी’ को भूमिकामा भनेको थिएँ, मैले बुझेको लघुकथा र मेरो उद्देश्यको लघुकथा भनेको लघुकथा मात्रै होइन । लघुकथा आख्यान भएको हुनाले आख्यानका सबैसँग चुनौती स्वीकार्न सक्नुपर्छ र मुख्यतया कथासँग सिँगौरी खेल्नुपर्छ । कथा पढ्दा जुन मजा आउँछ, लघुकथा पढ्दा पनि त्यही मजा आउनुपर्छ । लघुकथाको प्रतिस्पर्धा कथासित हुनुपर्छ भन्ने लेखेको थिएँ । अहिले पनि त्यसैमा प्रतिबद्ध छु । त्यसैले उत्कृष्ट ‘टप टेन’ मा पर्नुलाई लघुकथाले कथासित निहुँ खोज्ने कुरामा पाएको पुरस्कार हो भन्ने लाग्छ ।

लघुकथा कृति उत्कृष्ट दस आख्यानमा पर्नु लेखकको मात्रै उपलब्धि हो कि समग्र लघुकथा विधाकै पनि उन्नयन हो भन्ने लाग्छ  ?
मेरो विचारमा यो विधाकै उन्नयन हो । लघुकथालाई अहिलेसम्म पनि व्यङ्ग्य मात्रै भयो । चुट्किला हुनु हुँदैन भनिरहेका छन् । अझै पनि कतिपय कथाहरु चुट्किलाकै रुपमा आएका छन् ।
बीस वर्षअगाडि लेखिएको कथा र अहिले लेखिएको कथामा कुनै शैली परिवर्तन छैन । विषयवस्तु पनि परिवर्तन छैन । त्यसैले अहिले टपटेनमा एउटा लघुकथाको किताब पर्नु र त्यो पनि लघुकथा नभनी आख्यान भनेर पर्नुमा यसले केही योगदान पक्कै गरेको होला भन्ने लाग्छ ।

वर्षमा पाँच–सात सय किताब निस्केका होलान् । त्यसमा आख्यानका दसवटामा पर्नुको सङ्केत लघुकथाको क्षेत्र विस्तार भएको हो ?
टपटेनमा पर्दैमा लघुकथा स्थापित हुने होइन । पचासको दशकदेखि नै लघुकथा क्षेत्र व्यापक भएको हो । कार्यपत्र लेख्ने, पीएचडी गर्ने र वर्कसप चलाउने कार्यहरु पहिल्यै भइसकेका छन् । व्यक्तिगतरुपमा भने म खुसी छु । लघुकथा समाजसँग आबद्ध भएर झण्डै दस वर्षसम्ममा जे–जति सिकियो र जेजति सिकाइयो, त्यसको पनि प्रतिविम्ब त्यसमा आ’को छ भन्ने लाग्छ ।

अहिले लघुकथाका कृतिहरुको सङ्ख्या बढ्दै गएकोप्रति तपाईं के भन्नुहुन्छ  ?
यसमा दुईटा कुरा छन् । लेखकको तर्फबाट हेर्दा अहिले सङ्ख्यासँगै गुण पनि चाहिएको छ । अभियन्ताको हिसाबले नयाँ लघुकथाकारहरुका लघुकथा मापदण्डभित्र परेका छन् । नयाँँ विषयवस्तु र शैलीहरु अपनाउन खोजेका देखिन्छन् । हालको स्थिति हेर्दा हामी क्वान्टिटी र क्वालिटीमा सुधारोन्मुख छौं । निराशै हुनुपर्ने स्थिति छैन । पहिलाको जस्तो प्रशिक्षणको अभाव छैन । कतै केही खोज्नुप¥यो भने शोध व्यक्ति र शोध संस्था सक्रिय छ । बुझ्न चाहनेका लागि पुुस्तकहरु तयार भइसकेका छन् ।

२०५२ सालमा निस्केको पहिलो कृतिपछिको तपाईंको लघुकथा यात्रालाई कसरी हेर्नुभएको छ  ?
त्यतिबेला लेख्न सुरू गर्दा सिकाउने कोही थिएन । अरूका कथा पढेर लेख्न थालेको हुुँ । पैंसठ्ठी सालमा दोस्रो कृति निकालेदेखि सन्तुष्ट नै छु । लघुकथालाई सचेत भएर प्रस्तुत गर्ने र त्यसको विषयवस्तुचाहिँ जटिल बनाउने भन्ने प्रोजेक्टअनुसार लेखेको हुनाले सन्तुष्ट छु । मैले विषयवस्तुमा मात्रै काम गरेको छैन । त्यसको कन्टेन्टभन्दा क्र्याफ्टिङमा पनि बढी ध्यान दिएको छु ।

अरूले पनि यस्तै लेख्नुपर्छ भन्ने हो  ?
होइन, आग्रह गर्न सकिँदैन । यस्तै लेख्नुपर्छ भनेर डो¥याएर लेख्न सक्ने कुरा हुँदैन । कुनै कथा कसैको राम्रो लाग्यो भनेदेखि त्योभन्दा राम्रो कथा लेख्नका लागि कन्टेन्ट, कन्सेप्ट वा क्र्याफ्टिङको बुनोटमा नयाँ शैली आउनुपर्छ ।

सबै लेखकले कोशिस गर्ने भनेकै नयाँपनमा हो त  ?
त्यत्ति मिहिनेत गरेको देखिँदैन । प्रायःजसो कथाहरु सजिलोपनले लेखिएका छन् भन्ने लाग्छ । हामी कन्टेन्टमा मात्रै कुरा गर्छौं । मुख्यरुपमा यसको उठान यस्तो हुनुपर्छ, यसको मध्य हुनुपर्छ र अन्त्य हुनुपर्छ । अन्त्यले झल्याँस्स पार्नुपर्छ । के ग¥यो भने झल्याँस्स हुन्छ । एउटा कथालाई कसरी घुमाईफिराई कुरा गर्न सकिन्छ भनेर चाहिँ क्र्याफ्टिङको बारेमा बढी चर्चा भएको मैले सुनेको छैन ।

विषयवस्तु कसरी खोज्नुहुन्छ  ?
विषयवस्तु देखेको भन्दा आफ्नो लेखन र अनुभवसँग सम्बन्धित हुुन्छन् । घटनालाई कुनै आफूले पढेको सिद्धान्त बेरेर वा सिद्धान्तलाई दुईतिर राखेर घटनालाई अगाडि बढायो भनेदेखि त्यसमा अलिकति नयाँ फ्लेबर आउँछ । जुन गाह्रोचाहिँ छ । एउटा कथा लेख्नका लागि दुई महिना लाग्छ । दुई महिना लागेको कथा सच्याउनलाई चार महिना लाग्छ । त्यही भएर म अरूले जस्तो फटाफट कथा लेख्न सक्दिनँ ।

समग्र नेपाली साहित्यमा लघुकथाको स्थिति कस्तो देख्नुभएको  ?
पचास दशकदेखि लघुकथाको स्थिति राम्रो छ । अहिले पीएचडी भइसकेको छ । वर्कसपहरु भइरहेका छन् । थेसिसहरु लेखिरहेका छन् । कार्यपत्रहरु लेखिरहेका छन् । लघुुकथा समाजले नै वर्षको आधा दर्जनभन्दा बढी अभियानकै रुपमा प्रमोसनल कामहरु गरिरहेको छ । पुरस्कारहरुको स्थापना भएको छ । त्रिभुवन विश्वविद्यालयले मान्यता दिएर यसको पठनपाठन भइसकेको छ । यतिबेला लघुकथा नछापिएको पत्रिकै हुँदैन । थुप्रै पत्रिकाहरुले विशेषाङ्क निकाल्न थालिसकेका छन् ।
यसको इतिहास सात सालदेखिको भए पनि पिकअप लिन समय लागेकै हो । यसको मूल कारण भनेको जान्नेबुझ्ने कथाकारहरुले यसलाई वास्तै नगरेर हो । छोटो छ । एउटा लेखिदिऊँ भनेर झारा टार्नका लागि मात्रै लेखे । सुुुरूमा पनि प्रतिष्ठित साहित्यकारबाट लेखिएन । देवकोटा, सम, तिवारी, मैनालीजस्ताले लघुकथासङ्ग्रह निकालेका भए त्यसको महत्व नै अर्कै हुुन्थ्यो । तीसको दशकमा लघुकथा लेखनको बाढी नै आयो । पचासको दशकदेखि निरन्तररुपमा अगाडि बढिरहेको छ । अझ पैसठ्ठी सालमा लघुकथा समाजको गठन भएपछि यसले एउटा राष्ट्रव्यापी आन्दोलनको रुप लिएको छ । त्यही समयमा सूचना र प्रविधिको बढी विकास हुनु पनि एउटा महत्वपूर्ण कारण हो । सूचनाको कुरा एकातिर भयो भनेदेखि अभियानको रुपमा बढाउने लघुकथा समाज अर्कोतिर भयो । त्यसैले यो विधा बिस्तारै–बिस्तारै परिपूर्णतिर गइसकेको छ ।

लघुकथाको विकास र विस्तारमा विद्युतीय माध्यमलाई कसरी लिनुुभएको छ  ?
सञ्चारमा आएको क्रान्ति सबै क्षेत्रलाई प्रभावित पारेको जस्तै लघुकथालाई पनि पारेको छ । साहित्यका अन्य विधाको तुलनामा लघुकथाको स्वरुप र शक्तिका कारण पनि विद्युतीय माध्यम अझ बढी प्रभावकारी भएको छ । आफूले लेख्नासाथ फेसबुकमा पोष्ट ग¥यो भने तुरून्त प्रतिक्रिया सुरू हुन्छ । यसबाट नयाँहरु निकै प्रेरित पनि भएका छन् । तर, त्यसैबाट पूर्णता पाउन भने सजिलो छैन । फेसबुकबाट प्रशंसा पाइन्छ तर लघुकथाको सुरू, अन्त्य र गुणवत्ताको बारेमा कमै मात्र छलफल भएको पाएको छु ।

यसमा तपाइको मत

अन्य समाचार