लोकदोहरीमा फणिन्द्र


– दिनेश यात्री

पछिल्लो समय लोकदोहोरी गायक फणिन्द्र ठकुरी निकै व्यस्त बन्दै आएका छन् । गायक फणिन्द्र युवापुस्ताका निकै लोकप्रिय लोकदोहोरी गायक हुन् । सानै उमेरदेखि लोक तथा दोहोरी क्षेत्रमा रमाएका फणिन्द्र २०४२ सालमा बाग्लुङको पैन्यु चन्थापस्थित बुबा गगनबहादुर उचै ठकुरी र आमा अम्बकुमारी उचै ठकुरीको कोखबाट जन्मिएका हुन् । उनी परिवारमा कान्छा सदस्य हुन् ।

लोकदोहोरी भनेपछि गाउँका प्रतियोगिता हुन् या स्कुलका, उनी सहभागी हुने गर्थे र सम्मान पनि लिने गर्थे । भविष्यमा लोकदोहोरी गायक बन्छु भन्ने सपना उनको मनमा थिएन । पारिवारिक पृष्ठभूमि हेर्दा उनी ठकुरी, त्यसमा पनि लाहुरे खानदानका । उनीभित्र पनि पहिला लाहुरे नै हुने र गाउँ आउँदा क्यासेट काँधमा हालेर लोकदोहोरी गीत बजाउँदै आउने सपना थियो । जसका लागि बुबा इन्डिया आर्मीमा भएकै बेला उनी पनि एसएलसी दिएर इन्डिया गए । इन्डियाको १४ जीटीसीमा एक वर्ष बसेका फणिन्द्रले आफ्ना दाजु राजन ठकुरीको गीत सिमसिम पानी चर्चामा आएपछि स्वदेश नै फर्किए । लाहुरे हुने रहर छाडेर उनले गीतसङ्गीतमा आफ्नो पाइला राख्न थाले । उनले २०६३ सालमा काठमाडौं प्रवेशसँगै ‘फूल झ¥यो डाली मौलायो’ बोलको लोकदोहोरी गीत रेकर्ड गराए ।

उनलाई उक्त गीतले फणिन्द्र ठकुरी नामको अगाडि गायक थप्न सफल बनायो । हुन त उनले एल्बम निकाल्नुपुर्व नै गायिका सिर्जना विरही थापाको ‘जमाना खराब छ’ बोलको गीतमा स्वर दिएका थिए । उक्त गीत आजको दिनसम्म पनि निकै लोकप्रिय बन्दै आएको छ ।

तत्कालीन समयमा अडियो क्यासेटको बिक्री राम्रो हुने भएकाले त्योभित्र फणिन्द्र पनि पर्न सफल भए । उनी ०६४ सालमा रेडियो नेपालबाट स्वर पास भए । ०६५ सालमा फणिन्द्रले रेडियो नेपालले ‘वातावारण दिवस’को खवसरमा आयोजना गरेको ‘पग्लिँदो हिम श्रीङ्खला’ नामको लोकगीत प्रतियोगितामा चौंथो स्थान हाँसिल गर्न सफल भए ।

त्यसपछि लगातार बिन्ती गर्छु म, पिरलो भो झन्, वचनको घाउ दुख्छ निरमाया, माया फाट्यो जुनीभर पिरलो, तिम्रै कसम भो, संसार घाती छ जस्ता गीतहरु बजारमा ल्याए । ती गीतहरुले फणिन्द्रलाई एउटा राम्रो प्रतिभा भएको गायक हो भनेर चिनायो । त्यतिमात्र होइन, अडियो बिक्रीबाट राम्रो आम्दानी पनि गर्न सफल भए । ‘तिम्रै कसम र बिन्ती गर्छु म’ बोल रहेको गीतहरु सबैभन्दा धेरै आम्दानी गर्ने गीत बन्न सफल भएको थियो ।

पछिल्लो समय अडियो बिक्री हराउँदै गयो र डिजिटल बजारले फराकिलो ठाउँ लियो । डिजिटल बजारको यात्रामा उनले आफूलाई दोहोरी गायनमा मात्र सीमित राखे । दोहोरी साँझ, मेला–महोत्सवमा मात्र व्यस्त हुँदै आएका फणिन्द्रले रेकर्डको कार्यलाई थाती राखेका थिए । लामो समयपश्चात् उनले पञ्चेबाजामा ‘पा¥यो तिरीमिरी’ बोलको गीत सार्वजनिक गरे ।उनका प्रायः गीतहरुमा आफ्ना दाजु गायक तथा सर्जक राजन ठकुरीको शब्द तथा लयमा गीतहरु निर्माण गरेका छन् ।

फणिन्द्र भन्छन्, ‘गायक भइसकेर गाउँ जाँदाको यादले अझै पनि झझल्काउँछ । मनमा लाहुरे हुने सपना, सबै साथीभाइसँग पनि लाहुरे हुन्छु भन्ने कुरा भनेकोमा पछि एक्कासि गायक भएर गाउँ जाँदा गाउँलेले ‘ऊ टीभीमा देखिएको मान्छे आयो’ भन्दा अचम्म लाग्थ्यो ।’ उनले थपे, ‘मनमा कता–कता लाहुरे भएको भए सीमितले चिन्ने भइन्थ्यो, अर्काको देशको सेवा गरिन्थ्यो होला तर गायक हुँदा आफ्नै देशमा सबैले चिन्दा रहेछन् भन्ने सोचले मनमा आनन्द र खुसी मिलेको छ ।’ लोकदोहोरी गायनमा सुरूमा आफ्ना दाजु राजन ठकुरीकै प्रेरणाबाट होमिएको उनले बताए । दाजुको चर्चाले चुली टेकिरहेको अवस्थामा आफ्नो प्रवेशले पनि सफलता पाएको र गीतसङ्गीतमा मानसम्मान पाउनुका साथै स्रोताहरुको माया ममता पनि उत्तिकै मिलेकोमा उनी खुसी व्यक्त गर्दछन् ।

देशका विभिन्न स्थानमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका फणिन्द्र आफूलाई दर्शक तथा स्रोताहरुले माग गरिरहेको र विभिन्न कारणले जान नपाएको उनी बताउँछन् ।

फणिन्द्रले भने, ‘०६४ सालमा तिम्रै कसम भो हिट भएपछि पाल्पा टुँडिखेलमा पहिलोचोटी स्टेजमा गीत गाउँदा कता– कता डर लागेको जस्तो भएको थियो । धेरै मान्छेको बीचमा गाउनुपर्दा मन ढुकढुक गर्दो रहेछ ।’ ०६३ मा तनहुँस्थित एक प्रतियोगितामा शिव हमालसँगको समूहमा दोस्रो स्थान हासिल गरेका फणिन्द्रले लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगिताहरुमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् ।

गायनकै सिलसिलामा ठकुरी साहित्य कला प्रतिष्ठान, ठकुरी महासङ्घलगायतका विभिन्न सङ्घसंस्थाबाट सम्मान पाइसकेका उनले अहिलेको परिवेशमा व्यापार घटेको भए पनि स्रोता भने बढेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार