सार्थक होस् कम्युनिष्ट मिलाप


नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच मिलाप भएको छ । यो मिलापबाट नयाँ कम्युनिष्ट पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएको छ । जेठ ३ गते एमालेका तात्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २५औं स्मृति दिवसका दिन यी दुई दलको एकीकरण भएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ६९ वर्षमा थुप्रै कम्युनिष्ट पार्टी जन्मिए भने धेरैपटक एक–अर्कामा एकीकरण पनि भएका छन् । २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालपछि अनेक चिरामा विभाजन हुँदै आएका घटनाक्रम छन् । अहिले मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एकीकृत हुनु आफैँमा एउटा महत्वपूर्ण घटना हो ।

यी दुई ठूला कम्युनिष्ट पार्टी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत मङ्सिर १० गते पहिलो चरण र २१ गते दोस्रो चरणमा भएको निर्वाचनमा दुई पार्टी एकता गर्ने भन्दै वामगठबन्धन बनाएर चुनावमा होमिएका थिए । गत १७ असोजमा चुनावी तालमेल तथा पार्टी एकता गर्ने कुरा यी दुई दलले सार्वजनिक गरेका थिए । देशमा शान्ति, स्थायित्व र समृद्धि चाहेका आमनेपाली जनताले यी दुई पार्टीले अघि सारेका एजेण्डालाई मतदानमार्फत् स्वीकृत प्रदान गरेका थिए । यसैले यी दुई दललाई अझ दबाव बढेको थियो एकीकरणका लागि । गठबन्धन बनाएर संयुक्त घोषणापत्रका साथ निर्वाचनमा गएका यी दुई पार्टीले सबै अन्योल र आशङ्का चिर्दै साढे सात महिनापछि एक भएका छन् । लम्बिँदै गएको एकता प्रक्रियाले उत्पन्न आशङ्का चिर्न नेताहरुले ‘पछाडि फर्किने पुल भत्काइसकेको र एकता भइछाड्ने’ आश्वासन दिँदै आएका थिए । घोषणासभामा प्रचण्डले पार्टी एकतापछि हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको भन्दै अब पानीमा हाइड्रोजन र अक्सिजन खोजेर नपाइने बताए । त्यस्तै, ओलीले दुई पार्टीको एकतालाई पार्टी मिसिएको होइन, घोलिएको हो भन्दै हिन्द महासागरमा गएर कोशी र सेतीको पानी खोजेर नभेटिने बताए ।

पार्टीमा ओली र दाहाल दुईजनै अध्यक्ष बनेका छन् । दुवै अध्यक्षको समान हैसियत रहने र निर्णयमा दुवै उत्तिकै शक्तिशाली हुने भनिएको छ । केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुनेछ । यसमा एमाले पक्षबाट २ सय ४१ र माओवादी पक्षका २ सय रहनेछन् । त्यस्तै, ४५ सदस्यीय स्थायी कमिटी गठन भएको छ । पार्टीको ९ सदस्यीय सचिवालयमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेतामा माधव नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सदस्यहरुमा वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा र महासचिवमा विष्णु पौडेल रहेका छन् ।

घोषणासभामा दुवै अध्यक्षले दुई दलको एकतालाई मुलुकको ऐतिहासिक घटना भनेका छन् । उनीहरुले नयाँ युगको प्रारम्भ भएको र मुलुक र जनताका लागि काम गर्न पार्टीको शक्ति परिचालन गरिने प्रतिबद्धता व्यक्त गरेजस्तै यो एकीकरणको मिलापले सार्थकता पाओस् । आमजनताले अपेक्षा राखेको र सरकारले भन्दै आएको ‘समृद्ध नेपाल र सुखी नेपाल’ भन्ने नारा सफल होस् । ठूलो पार्टीको दम्भ नदेखियोस् । हार्दिक शुभकामना ।

यसमा तपाइको मत

अन्य समाचार