अस्पताल निर्माण अभियानमा शान्ता


– गीता अधिकारी

हरेक मानिसका आ–आफ्ना चाहना–इच्छा हुन्छन् । कसैका चाहना–इच्छा आफ्नै लागि हुन्छन् भने त कसैका आफूसँगसँगै आफ्नो वरिपरिको परिवेश र समाजका लागि हुन्छन् । समाजको एकाई हो प्रत्येक मान्छे । उसका राम्रा–नराम्रा कार्यहरुले समाजमा त्यसको प्रभाव परिरहेको हुन्छ । मान्छेले आफूले चाहेर सगरमाथा चढ्छन्, अनेक साहसिक कार्यहरु गर्छन् । यस्ता साहसिक कार्य गर्दा सहज कहाँ हुन्छ र ? तर, मानिस त्यसैमा सुखानूभूति गर्छन् । सुख र दुःख पनि मान्छेको मनकै अवस्था हो । सुख र दुःख आफू बाहिर हुँदैन, जम्मै आफैँभित्र हुन्छ । मान्छेले ज्ञानपूर्वक आफूले चाहेर सगरमाथा चढ्छन्, ठूला–ठूला साहसिक कार्यहरु गर्छन् । उनीहरु आफूले गरेका कार्यलाई नै समापन गरेको सन्तुष्टिसँग हेरेर सुखानुभूति गर्छन् । त्यसैले सुख र दुःख भनेको मनको एउटा अवस्थामात्रै हो । मान्छेको सिर्जनाशक्तिलाई, मान्छेको आत्मबललाई, उसको सफलतालाई यही कुराले परिभाषित गरिदिन्छ । सर्वप्रथम त कुनै पनि कुरा फत्ते गर्न मनमा भाव आउनुपर्छ । शान्ता क्षेत्रीमा पनि समाजसेवामार्फत् बेजोड भाव सिर्जना भएको देखिन्छ । भावमार्फत् उनले आफना कर्महरुलाई समाजसेवमा लगाइरहेकी छन् ‘मानव सेवा संस्था नेपाल’मार्फत् ।

२०६४ सालमा मानव सेवा संस्था नेपालको स्थापना गरेर यसमार्फत् विभिन्न सामाजिक कार्य गर्दै आएकी शान्ता मानव सेवालाई नै आफ्नो मूल कर्म सम्झिएर लागिपरेकी छन् आहत मनहरुमा राहत पु¥याउन । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका विभिन्न ठाउँहरुमा पुगेर आफूले सक्दो सहयोग गरिरहेकी उनले ०७२ सालको विनाशकारी भूकम्पका समयमा तत्काल राहत लिएर पुगेकी थिइन् ती ठाउँहरुमा । अहिले के गर्दै हुनुहुन्छ भन्दा ‘सामाजिक पुण्यको काम गर्दै छु’ भन्ने शान्ता यतिबेला अस्पताल निर्माणको अभियानमा जुटेकी छन् । काभ्रेको दोलालघाटमा सामुदायिक अस्पताल निर्माण गर्ने अभियानमा लागिपरेकी छन् उनी । दोलालघाटबाट २९ किलोमिटर वरिपरि कुनै अस्पताल छैनन्, जसका कारण सिन्धुपाल्चोक र काभ्रे जिल्लाका बिरामीहरु धुलिखेल वा काठमाडौँ नै दौडनुपर्ने बाध्यता छ उपचारका लागि । यो बाध्यताबाट मुक्ति दिलाउनका लागि आफूले थालेकोे यो महान् अभियानमा सबैको साथ–सहयोगको अपेक्षा राखेकी छन् उनले । उनका यी कार्यका लागि मिलापको पनि शुभकामना– छिट्टै नै अस्पताल निर्माण भई सञ्चालनमा आओस् ।

के गर्दै हुनुहुन्छ  ?
यो धर्तीमा जन्म लिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राखेर २०६४ सालमा मानव सेवा संस्था नेपालको स्थापना गरेकी म यही संस्थामार्फत् विभिन्न कार्यहरु गरिरहेकी छु । मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्दै आफूले सकेको सामाजिक पुण्यको काममा आफूलाई लगाइरहेकी छु । यतिबेला हामी काभ्रेको भुम्लु गाउँपालिका दोलालघाटमा सामुदायिक अस्पाताल निर्माण गर्ने तयारीमा जुटेका छौँ । त्यस्तै, मेरा नियमित अन्य कार्यहरु अनि व्यापार–बिजनेस यस्तै–यस्तैमा तल्लीन छु भन्नुपर्यो ।

अस्पताल खोल्ने सोच कसरी आयो  ?
म विगत ८/१० वर्षदेखि सामाजिक क्षेत्रमा नै काम गरिरहेकी थिएँ । सिन्धुपाल्चोक जिल्लामा सामाजिक क्षेत्रबाट काम गरिरहेकी थिएँ । यसपालिको स्थानीय निर्वाचनमा भुम्लु गाउँपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार थिएँ म । एक महिनाको चुनावको दौरान १० वटा वडामा हिँड्दा त्यहाँका बासिन्दा राम्रो स्वास्थ्य सेवाका लागि धुलिखेल नै आउनुपर्ने बाध्यता देखेँ मैले । यहाँका स्थानीयहरुको स्वास्थ्य अवस्थाले मलाई पिरोलिरह्यो त्यो क्षेत्रमा डुल्दा । सामाजिक क्षेत्रबाट एउटा अस्पताल चलाउँछु भन्ने सोचचाहिँ ममा पहिलादेखि नै थियो । चुनावको दौरानमा मैले राम्रो स्वास्थ्य सेवाबाट बञ्चित स्थानीय समुदायलाई लक्षित गरी यही ठाउँमा अस्पताल निर्माण गर्नुपर्छ भन्ने लाग्यो । स्थानीयवासीले पनि मेरो चाहना–इच्छालाई साथ दिनुभएका कारण यो मूर्तरुप लिनेतर्फ अग्रसर छ । हामीले चाहेजस्तै उहाँहरुले जग्गा पनि उपलब्ध गराउनुभएको छ ।

 

यसका लागि आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ  ?
हामीले अहिले तत्काललाई २४ बेडको सम्पूर्ण सुविधासहितको अस्पताल बनाउने अठोट गरेका छौँ । मैले धेरै वर्षदेखि एउटा सामाजिक संस्था पनि चलाउँदै आएकी छु । तर, त्यो संस्थामा अस्पताल बनाउन र चलाउन सक्ने त्यत्रो रकम छैन । फेरि पनि मैले अठोट, आँट गरेर अघि बढेकी छु । मेरा आफन्त, अन्य शुभचिन्तक, केही सङ्घ–संस्था र व्यक्तिगतरुपमा सहयोग गर्छौं भन्नेहरुबाट आश्वासन पाएकी छु मैले । मेरो परिचयका साथीहरु सबैले ‘तिमी सुरुवात गर हामी सर्पोट गर्छौं’ भन्नुभएको छ । एक–दुईवटा सङ्घ–संस्थासँग पनि कुरा भइरहेको छ, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । दीर्घकालीन रुपमा कुनै सङ्घ–संस्थासँग मिलेर चलाउने र तत्काल आफ्नै व्यक्तिगत प्रयासबाट काम सुरु गर्ने योजना बनाएकी छु र त्यसैअनुसार अगाडि बढेकी छु ।

तपाईं राजनीति गर्ने मान्छे समाजसेवामा पनि आफूलाई त्यत्तिकै क्रियाशील राख्दै आउनुभएको छ । फेरि व्यापार–बिजनेसतिर पनि हुनुहुन्छ । तपाईं आफूलाई कसरी चिनाउन चाहनुहुन्छ  ?
तपाईंले भनेजस्तै म सबैतिर छु । एक दिन एक क्षणले मेरो यो परिचय बनेको पक्कै होइन । म आफूलाई सङ्घर्ष गरेर यहाँसम्म पुगेको महिलाका रुपमा चिनाउन चाहन्छु । जुन सामाजिक संस्था मैले सुरु गरेकी थिएँ, जुन सामाजिक अभियान मैले सुरु गरेकी थिएँ, त्यतिबेला मसँग कुनै स्रोत–साधन थिएन । र पनि मैले सङ्घर्ष गर्दै, घरपरिवार सम्हाल्दै आजको दिनसम्म आइपुगेकी छु । अन्य व्यापार पनि सुरु गर्दै सामाजिक कार्यलाई पनि सँगसँगै लैजाँदै यो ठाउँमा पुगेकी हुँ । यो अवस्थासम्म आइपुग्दा घर परिवार र धेरै मानिसहरुको सर्पोट पनि छ । जस्तोसुकै सङ्घर्ष गर्न पनि पछि नपर्ने महिलाको रुपमा म आफूलाई चिनाउन चाहन्छु ।

सङ्घर्षका दिनहरु सम्झँदा कस्तो लाग्छ ?
सङ्घर्षका दिनहरु निकै कठिन थिए । ती दिनहरु सम्झँदा कहालीलाग्दो पनि छ । दुःखका क्षणहरु धेरै छन् । ती मेरा जीवनका पाटा हुन् । ती दिनहरु आज सम्झँदा के म हिजोकी त्यही शान्ता क्षेत्री हुँ ? भन्ने लाग्छ । यति धेरै दुःख–कष्ट व्यहोरेकी छु कि त्यसलाई कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ । अझ सामाजिक क्षेत्रमा काम गर्दा महिलाहरुलाई एकदमै गाह्रो हुन्छ । हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि त्यति राम्रो छैन । यी सबै दुःख, पीडा र अनेक व्यावधानबीच अघि बढिरहेकी छु म । र पनि के भन्छु भने जो मान्छेले सङ्घर्ष गर्छ, दुःख गर्छ, मिहिनेतपूर्वक लगनशील भएर कुनै काम गर्छ, त्यसको फल एक न एक दिन प्राप्त गर्छ । मैले पनि मेरो सङ्घर्षका दिनबाट त्यो अनुभव गरेकी छु । दुःख गरेपछि सुख प्राप्त हुन्छ भन्ने कुरा म सबैलाई बताउन पनि चाहन्छु ।

सामाजिक कार्यका लागि उत्प्रेरणा दिने कोही थिए कि  ?
सानैदेखिको मेरो रुचि हो सामाजिक कार्य । यसका लागि मैले परिवार र साथीभाइको सर्पोट पनि यथेष्ट पाएँ । अरुको सेवामा नै मलाई सुखानुभूति हुन्थ्यो सानैदेखि । त्यसैले नै होला बिस्तारै म यसतर्फ हेलिँदै गएँ । स्कुलका दिनहरुमा पनि मेरो रुचि थियो यसतर्फ । स्कुलमा शिक्षकहरुले पनि मेरा कार्यका लागि उत्प्रेरण दिनुहुन्थ्यो । उहाँहरुले सधैँ हौसला दिनुभयो । त्यसैले म होमिएँ यो क्षेत्रमा । फेरि म आफैँलाई एकदम रुचि लाग्थ्यो, सामाजिक कार्य गर्नका लागि । सेवा गर्दा आफूलाई खुसी मिल्थ्यो । त्यसबाट म सामाजिक कार्यका लागि अगाडि बढ्दै गएँ ।

नेपालमा केही सामाजिक संस्थाहरुले राम्रो काम गरेका भए पनि अधिकांशलाई विभिन्न दातृ निकायले दिएको रकम फिल्डको काममा भन्दा कागजमा मात्र गर्ने गरेको, रकम उचित कार्यमा खर्च नगरेको भन्ने आरोप पनि छ । तपाईं लामो समयदेखि हुनुहुन्छ । के यस्तै नै छ त यो क्षेत्रमा  ?
तपाईंले भनेजस्तै केही विकृतिहरु छन् यो क्षेत्रमा । मैले पनि सुनेकी छु । तर, प्रत्यक्ष देखे–भेटेकी छैन । सबै ठाउँमा राम्रा र नराम्रा त हुन्छन् नै । राम्रा काम गर्नेहरु दीगो हुन्छन् भने कुरा एउटा काम अर्को गर्ने क्षणिक हुन्छन् । यति धेरै आईएनजीओ र एनजीओ छन् कि सबैले साँच्चिकै सेवामूलक भावनाले काम गर्ने हो भने कायापलट नै हुने थियो । तर, त्यस्तो हुन सकिरहेको छैन । यो तीतो यर्थाथ हो । उद्देश्यअनुरुप काम नहुँदा तपाईंले भनेजस्तै भएको हुनुपर्छ । तपाईंले भनेजस्तै यस्ता आरोपबाट सङ्घ–संस्थाहरु टाढा रहनुपर्छ अनि मात्रै सामाजिक कार्य हुन सक्छ । मेरो आफ्नो कुरा गर्दा मैले मानव सेवा संस्था भनेर २०६४ सालमा जन्माएको संस्था हो । स्थापनाकालदेखि नै हाम्रो रेकर्ड हेर्नुहुन्छ भने कुनै पनि ठाउँमा व्यक्ति वा सङ्घ–संस्थामार्फत् लिएको रकम दुरुपयोग गरिएको छैन ।

तपाईंको संस्थाले कहाँ–कहाँ, के–कस्ता कार्य गरिरहेको छ  ?
२०६४ सालदेखि अहिलेसम्म हामीले गरेका कार्यहरुको फेहरिस्त निकै लामो नै छ । यसलाई संक्षिप्तमा भन्नुपर्दा शिक्षा क्षेत्रमा हामीले धेरै काम गरेका छौँ । बालबालिकाका क्षेत्रमा काम गरेका छौँ । बालबालिकालाई पढाइदिने, युनिफर्म तथा शैक्षिक सामग्री उपलब्ध गराउने काम गरिरहेका छौँ । त्यस्तै, वृद्धा, वृद्ध, अपाङ्ग, महिला बालबालिकाका क्षेत्रमा काम गरेका छौँ । तर, जोडचाहिँ शिक्षामा नै दिएका छौँ । ०७२ सालको विनाशकारी भूकम्पका बेलामा पनि भूकम्पपीडितहरुसम्म तत्काल राहत पु¥याउन विभिन्न कार्य ग¥यौँ । त्यस्तै, विभिन्न अस्पतालमा पनि सहयोग गरिरहेका छौँ । अहिलेको योजना भनेको माथि भनेजस्तै अस्पताल निर्माण र सञ्चालन नै हो ।

यति धेरैतिर आफूलाई संलग्न गराउनुभएको छ । समयको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?
घरपरिवार, बच्चा, सामाजिक क्षेत्र, मेरो आफ्नो व्यवसाय त छँदैछ, राजनीतिमा पनि आफूलाई सक्रिय राख्दै आएकी छु । तपाईंले भनेजस्तै समय व्यवस्थापन गर्न गाह्रो छ । तर, सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो । मैले व्यवस्थापन गरेकै छु । हरेक काम गाह्रो हुन्छ तर मनदेखि म यो गर्न चाहन्छु भन्ने इच्छा, अठोट र प्रतिबद्धता हुनुपर्छ अनिमात्र केही गर्न सकिन्छ भन्ने लाग्छ । अनि अर्को पाटो भनेको घरपरिवाबाट सर्पोट हुनुपर्छ । ती कार्यका लागि मेरा श्रीमान् तेजबहादुर क्षेत्रीले मलाई धेरै सर्पोट गर्नुभएको छ । मैले उहाँको पूर्ण सहयोग पाएकै कारण आज यो ठाउँमा छु । उहाँको एकदमै धेरै सर्पोट छ मलाई ।

महिलालाई सफलता पाउनका लागि महत्वपूर्ण कुरा के हो जस्तो लाग्छ  ?
अझै धेरै सफलता प्राप्त गर्नु छ मैले पनि । जे जति भोग्दै आएँ, देख्दै आएँ यसको आधारमा के भन्न सक्छु भने सफलताका लागि आफैँमा आत्मबल हुन जरुरी छ । म महिला हुँ, म केही गर्न सक्दिनँ भन्ने भावना त्याग्न जरुरी छ । महिला भएका कारण अप्ठ्यारो पर्छ कि भन्ने जुन कमजोर मानसिकता छ, त्यसलाई हटाउन जरुरी छ । आफूमा आत्मबल सँगसँगै घरपरिवारको सर्पोट पनि जरुरी हुन्छ । हिम्मत र आँट हुनुपर्छ । पुरुषले मात्रै गर्ने काम हो भनेर पछि हट्नु हुँदैन, आफूमा म पनि गर्न सक्छु भन्ने साहस चाहिन्छ । पुरुषमात्रै सक्षम छन् भन्ने मानसिकता त्याग्नु जरुरी छ ।

अन्त्यमा  ?
मिलापमार्फत् मेरो व्यक्तिगत केही कुरा र मेरो अभियानका केही कुरा पस्किने मौका दिनुभएकोमा तपाईंहरुको सम्पूर्ण टिम विशेषगरी तपाईं गीताजीलाई विशेष धन्यवाद । हामी एउटा अभियानमा छौँ । बिरामीहरुको सेवा गर्ने अभियानमा । स्थानीय स्तरमै सर्वसुलभ उपचारको अभावमा छटपटिरहेकाहरुलाई उचित उपचारको चाँजोपाँजो मिलाउने उद्देश्यले अस्पताल निर्माण र सञ्चालन अभियानमा छौँ । यो अभियानमा तपाईंको सानो सहयोग पनि त्यस क्षेत्रका लागि महत्वपूर्ण हुन सक्छ । यस कार्यका लागि सबैतिरबाट साथ–सहयोगको अपेक्षा राखेकी छु ।

यसमा तपाइको मत

अन्य समाचार