साहित्य बौद्धिक योगा हो

वर्ष कवि चन्द्र रानाहँछा निर्मलीडाँडा–८, खोटाङमा जन्मनुभएको हो । कवि रानाहँछाले चौबन्दी किनिदिउँला (गीतिएल्बम, २०५५), चिनो रुमाल (गीतिएल्बम २०५६), मनमा आँधी चलेपछि (गीतिसङ्ग्रह, २०६७), भाउजू लडेको भीर (कथासङ्ग्रह, २०६८), थिविया चराको गीत (कवितासङ्ग्रह, २०७१) जस्ता कृतिहरु प्रकाशित गर्नुभएको छ । राष्ट्रिय कविता महोत्सव–२०७४ का प्रथम पुरस्कार विजेता रानाहँछा यसअघि किप मिडिया पुरस्कार–२०६७, छत्र विष्णु राई कृति सम्मान–२०७१, टेम्के–तुवाचुङ साहित्य पुरस्कार–२०७२ लगायतबाट सम्मानित भइसक्नुभएको छ । हालै उहाँले जितासिं स्मृति साहित्य सम्मान–२०७४ समेत प्राप्त गर्नुभएको छ । साहित्यलाई बौद्धिक योगाको रुपमा व्याख्या गर्नुहुने कवि रानाहँछासित राष्ट्रिय कविता महोत्सवका सन्दर्भमा मिलापका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी सारसंक्षेप :-

 

नेपाल प्रज्ञा प्रतिष्ठानले गर्र्ने राष्ट्रिय कविता महोत्सव २०७४मा प्रथम स्थान चुम्न सफल हुनुभएपछि कतिको व्यस्तता बढेको छ  ?
यो उपाधिले केही व्यस्तता बढेको पक्कै हो, त्यो व्यस्तताबीच एक चलचित्रको स्क्रिप्ट लेखिरहेको छु ।

कस्तो अनुभूति गर्दै हुनुहुन्छ  ?
मेरो जुन अठोट अर्थात् विश्वास थियो, त्यो पूरा भएको बोध गरेको छु यतिखेर । तर, यतिमै कविताको लक्ष्य प्राप्त गरिसकेँ भन्ने होइन । लक्ष्य भेटाउन सक्ने बाटो भने तय भएको छ ।

तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ  ?
पहिले त म आफूलाई एक असल नागरिकको रुपमा चिनाउन चाहन्छु, त्यसपछि एक इमानदार स्रष्टा ।

साहित्य के हो  ?
साहित्य बौद्धिक योगा हो, जसले मानिसलाई तन्तुरुस्त मात्रै राख्दैन । मानिसको सपनालाई समेत पुनर्जन्म दिएर सदा सङ्घर्ष र सम्भावनाको नजिक डो¥याउँछ, यसका अलवा समाजलाई जोड्ने विज्ञान पनि हो साहित्य ।

एकेडेमीले गर्ने राष्ट्रिय कविता महोत्सव विगतका वर्षहरुमा विवादमुक्त हुन सकेन । राजनीति चलखेलको आधारमा पुरस्कार हात लाग्छ भन्ने आरोप लाग्दै आएको छ । तपाईं के भन्नुहुन्छ  ?
विवाद जन्मिएन भने कविता अस्तित्वमै रहँदैन । त्यसमाथि यो त प्रज्ञा प्रतिष्ठानद्वारा वर्षमा एकचोटि आयोजना हुने राष्ट्रिय कविता महोत्सव हो । यो बृहत् महोत्सव विवादमुक्त हुनै सक्तैन तर संयोगवश म पुरस्कृत भएको यो वर्षचाहिँ विगतको वर्षहरुमा जस्तो विवादमा नतानिएको सत्य हो । जहाँसम्म चलखेल र दलीय भागवण्डाबाट पुरस्कार पाउने आरोप छ, मैले प्राप्त गरेको पुरस्कार ती चिजहरुभन्दा पर छ ।

एकेडेमीमा प्रथम भएको तपाईंको कविता ’आँधीको यात्रा“ कसरी र कहिले जन्मियो  ?
प्रज्ञाले कविता आह्वान गरेपछि म निकै दिन तनावबीच गुज्रिएँ । नबुझाऊँ यो महोत्सव कविहरुलाई कविकै हैसियतमा प्रमाणित गर्ने अत्यन्तै ठूलो अवसर थियो, बुझाऊँ, सोचेजस्तो कवितै थिएन । त्यसमाथि स्थानीय चुनावको व्यस्तताबीच नसाको रोगले ग्रस्त थिए । यस्तो अवस्थामा महोत्सवका निम्ति टक्कर दिने लेवलको कविता लेख्नु चुनौतीपूर्ण थियो । उता, कविता बुझाउने समयावधि नजिकिँदो थियो भने यता कविता लेख्न नसकेर म रन्थनिरहेको थिएँ । यस्तैमा एक साँझ अचानक फु¥यो दिमागमा ‘आँधीको यात्रा’ । सुरुको बसाइँमा पाँच लाइनमात्रै लेखेको यो कविता चारटक साफी गरेपछि बुझाएको हुँ एकेडेमीमा ।

यो वर्ष महोत्सवमा समावेश भएका अन्य कविताहरुलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ  ?
यसपटक प्रज्ञामा बुझाएका अरु पनि केही राम्रा कविताहरु थिए । तर, सबै कविता पुरस्कृत पनि त हुँदैनन् नि । जुन कविता प्रज्ञाले बनाएको मापदण्डभित्र रहनुका साथै निर्णायकहरुको नजरमा बस्न सफल हुन्छ, त्यही कविता नै पुरस्कृत हुने हो ।

नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ  ?
अहिले साहित्यिक पुनर्जागरण काल हो । यद्यपि नगन्य मात्रामा साहित्य सिर्जनाहरु भइरहेको यस सुखद् स्थितिमा परिणामलाई भन्दा गुणलाई प्राथमिकतामा राख्ने हो भने हामीले सयमा तीस प्रतिशतमात्रै काम लाग्ने साहित्य लेखिरहेका छौं । यो दुःखद् यर्थाथ हो ।

यहाँको लेखनयात्रा कहिले र कसरी सुरु भयो  ?
बाल अवचेतनले काम गर्न सुरु गरेसँगै मेरो हृदयलाई ‘साहित्य र सङ्गीत’ यी दुई कुराले सूक्ष्म तबरले छुन थालिसेकेको थियो । बिस्तारै ती दुवै मेरो जीवनको सहयात्री बनेर मसँगै हिँड्न थाले । पछि कुनै मोडमा आएर सङ्गीतसँगको यात्रा छुट्यो । यतिखेर मसँग मात्रै साहित्य हिँडिरहेछ । स्कुल पढ्दाताका कविता लेखनबाट सुरु भएको मेरो साहित्यिक यात्राको बीचमा छु म यतिखेर ।

साहित्यमा तपाईंलाई सबैभन्दा मनपर्ने विधा कुन हो  ?
मलाई साहित्यका सबै विधा प्रिय लाग्छन् । किनभने प्रत्येक विधाको आ–आफ्नै विशिष्ट मूल्य–मान्यताहरु छन् । तिनका आ–आफ्नै सौन्दर्य र सीमाहरु छन् । यति हुँदाहुँदै पनि मलाई सबैभन्दा कविता यस कारण मनपर्छ कि जो मानिसको जीवन जस्तै अमूर्ततामा मूर्त बाँच्दछ । संसारको सबैभन्दा शक्तिशाली मन्त्र अर्थात् आवाज हो– कविता, जहाँ अन्य विधाभन्दा विशिष्ठ कम्पन हुन्छ ।

तपाईंका कृतिहरुमध्ये पाठकले बढी रुचाएको कुन हो ?
मेरा तीन साहित्यिक कृतिहरु आए बजारमा । जस्तो मनमा आँधी चलेपछि (गीतसङ्ग्रह), भाउजू लडेको भीर (कथासङ्ग्रह) र थिविया चराको गीत (कवितासङ्ग्रह) । यीमध्ये राम्रो भएर पनि धेरै पाठकसामु पुग्न नसकेको कृति ‘भाउजू लडेको भीर’ हो । थिविया चराको गीतलाई धेरै पाठकले मन पराइदिए ।

साहित्य कसका लागि लेखिन्छ  ?
सुरुमा त आफ्ना लागि लेखिन्छ साहित्य । तर, त्यो साहित्यले जब अरुको समेत कथा भन्न थाल्छ, तब साहित्यमा समाज प्रतिविम्बित भएर आउँछ, त्यो साहित्य स्रष्टाबाट फुत्किएर समाजको बन्न पुग्छ । यसर्थ, आफ्ना लागि लेखिन थालिएका साहित्य बिस्तारै सामाजिक दायित्व बहन गर्न समाजकै खातिर लेखिन्छ ।

कविता लेख्दा कस्तो अनुभूति हुन्छ तपाईंलाई  ?
कविता लेख्दाभन्दा सोच्दाचाहिँ निकै तनावग्रस्त हुन्छु म । विचारका अनेक तरङ्गहरु करेन्टको झट्का जसरी मस्तिष्कमा छिटछिटो आउँदै–हराउँदै गर्छ । यो स्थितिमा कवितालाई चाहिने खास तरङ्ग समात्न म जब विशेष अवस्थामा पुग्छु, त्यो बेला संसार बिर्सन्छु । यो अवस्थाको अन्त्यपछि मात्रै म लेख्न बस्छु । लेखिसकेपछि ठूलो युद्ध जितेको बोध हुन्छ ।

अन्तर्राष्ट्रिय साहित्यक कृतिहरु कत्तिको अध्ययन गर्नुहुन्छ  ?
बजारमा जति छन् अन्तर्राष्ट्रिय साहित्यिक पुस्तकहरु, ती सबै त पढ्न सम्भवै भएन तर कुनै माध्यमद्वारा हात लागेका जति कृतिहरु छन् ती प्रायः पढेको छु । साथसाथै धेरै चर्चामा आएका साहित्य, दर्शन र चर्चित स्रष्टाहरुको जीवनीचाहिँ अहिले पनि किनेरै पढ्छु ।

अब लेखिने नेपाली साहित्य कस्तो हुनुपर्छ जस्तो लाग्छ  ?
अब लेखिने साहित्यमा समाधानको खोजि हुनुपर्छ । हामीले आजसम्म समस्याहरुमात्रै लेख्यौं । त्यो पनि एउटै ढाँचा र स्वरमा । अबको साहित्यको संरचना र स्वर बदलिनुपर्छ ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा कसरी स्थापित गर्न सकिन्छ  ?
पहिलो त अहिलेको विश्व दृष्टिकोणसित जोडेर हामीले हाम्रो मौलिक साहित्यको रचना गर्नुप¥यो । जसको ट्रान्सलेसन व्यापक न्यायपूर्ण हुनुप¥यो । त्यसपछि सम्बन्धित निकायको माध्यमबाट हाम्रो साहित्यलाई विश्व बजारमा लैजाने प्रयत्न गर्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार