आत्मविहिन कविताको आयु नै हुँदैन – चन्द्र रानोहोंछा

७ भदौ, २०३७ निर्मलीडाँडा–८, खोटाङमा जन्मनुभएका साहित्यकार चन्द्र रानोहोंछाले चौबन्दी किनिदिउला (गीतिएल्बम, २०५५), चिनो रुमाल (गीतिएल्बम २०५६), मनमा आँधी चलेपछि (गीतिसङ्ग्रह, २०६७), भाउजू लडेको भीर (कथासङ्ग्रह, २०६८), थिविया चराको गीत (कवितासङ्ग्रह, २०७१) जस्ता कृतिहरु प्रकाशित गर्नुभएको छ । किप मिडिया पुरस्कार २०६७, छत्र विष्णु राई कृति सम्मान २०७१ लगायतका पुरस्कार÷सम्मानहरु प्राप्त गर्नुभएका चन्द्र रानोहोंछाले आमा र शिशुको जस्तै हुनुपर्छ कविता र समाजको सम्बन्ध भन्नुहुन्छ । कविता स्वयम्मा कलात्मक आवाज हो, जहाँ समय र समाजको संवेदना निर्विकल्प प्रतिध्वनित हुनैपर्छ भन्ने मान्यता राख्ने रानोहोंछासँग मिलाप मासिकका लागि गरिएको कुराकानीको संक्षिप्त अंशः
तपाईंका कसका लागि लेख्नुहुन्छ कविता ?
संसारका हरेक कविजस्तै म पनि सर्वप्रथम आफ्नै लागि लेख्छु । यद्यपि जबसम्म म स्वतन्त्रताको खोजिमा निस्किरहन्छु । म बाँचुन्जेल म सँगै बाँचिरहन्छ सपना र तनाव, जोबाट मुक्त रहन मैले आफूलाई जुन साङ्केतिक अभिव्यक्त गर्छु, त्यही अभिव्यक्ति नै मेरो निजी कविता हो । यस्ता अभिव्यक्तिमा जब आत्मा अर्थात् प्राण हुन्छ, निसन्देश त्यो विस्तारै समाजको कविता बन्दै जान्छ । यसर्थ, म कविता आफू र समाजका लागि लेख्छु ।


कवितामा “आत्मा” केलाई मान्नुहुन्छ ?
पढिरहँदा जुन कविताले गम्भीर पाठकको मस्तिष्कमा अनन्त प्रश्नहरु निर्माण गर्न सक्छ, हृदयमा असीम तरङ्ग प्रवाह गर्न सक्छ, अर्थात् कविता पढिसकेपछि पाठकीय चेतनाको प्रकाश जब अदृश्य रहस्योद्घाटनतर्फ उन्मुख हुन्छ, जसले समय र समाजलाई समेत गति दिने सामथ्र्य राख्छ, त्यही सामथ्र्य नै हो कविताको आत्मा ।
आजभोलि लेखिरहेका कविताहरुमा कतिको “आत्मा” भेट्नुहुन्छ ?
प्रशस्त भेटिन्छ, समयले अत्यन्त सामथ्र्यवान् कविहरु जन्माइरहेको छ । जसको कविताहरुले समाजलाई हिडाउन आज कहीँ न कहीँ वैशाखीको काम गरिरहेको छ ।
असल कविताको नजिक कति पाठकहरु पुग्न सफल छन् जस्तो लाग्छ ?
असल कविता र पाठकबीच दूरी बढाउने काम साँच्चै भन्ने हो भने ठूला मिडिया हाउस र तथाकथित समालोचक, विद्वानहरुले नै गरेको देखिन्छ । जसले अपवादमा वाहेक (असल होस् कि खराब) आफ्ना अनुकूलका लेखक र किताबहरुको मात्रै स्वर सुकिन्जेल महिमा गाइरहेको पाइन्छ, जसले ओझेलिएका सुन्दर कविता र गम्भीर पाठकबीच दूरी सिर्जना गर्दछ ।
यो तपाईंको आरोपभित्र आम स्वाभिमानी कवि-लेखक पनि उभिएको छ भन्ने प्रमाण के छ ?
छ, अवश्य उभिएको छ । जो मेरा कुरासित असहमति राख्छन्, तिनलाई स्वाभिमानी लेखकको सूचीमा राख्दिनँ म । जहाँसम्म मेरो कुरा छ यो आरोप होइन, तर्क हो । साहित्यमा डाडु–पन्यु चलाउनेहरुको विकृत मानसिकता या कुनियतमाथिको यक्ष प्रश्न हो । इतिहासदेखि नै असल स्रष्टाहरुमाथि जो चरम विभेद हुँदै आइरहेको छ, त्यसले स्वयम् स्रष्टाहरु त शिकार भए नै, विभेदकारीहरुलाई पनि समयले पत्ता साफ गरिरहेछ । जस्तो केही समयअघि मात्रै एक सरकारी पत्रिकाको सम्पादकले अत्यन्तै सङ्कीर्ण नियतले ‘नेपाली कविताको समकालीन अनुहार’ शीर्षकअन्तर्गत जसरी कवि र कविताहरुमाथि जथाभावी खेलवाड ग¥यो, त्यसले उसको कुनियत तथा बौद्धिकीमाथि व्यापक प्रश्न मात्रै उठाएन, जागिरसमेत च्वाट भयो ।
तपाईंले लेख्ने कविताको मुख्य आधार चाहिँ के हो ?
मेरो कविताको आधार भनेकै मेरै सपना र सङ्घर्ष हो ।
कविता र समाजको सम्बन्ध कस्तो हुनुपर्छ ?
आमा र शिशुको जस्तै हुनुपर्छ कविता र समाजको सम्बन्ध । कविता स्वयम्मा कलात्मक आवाज हो, जहाँ समय र समाजको संवेदना निर्विकल्प प्रतिध्वनित हुनैपर्छ ।
तपाईं कुन समय छुट्टयाउनुहुन्छ लेख्नलाई ?
लेख्नलाई मलाई कुनै विशेष समय चाहिँदैन । तर, मस्तिष्कमा उम्लिरहेको विषयलाई सेलाउनचाहिँ एकान्तै चाहिन्छ ।
प्रेम के हो ?
प्रेम यस्तो अनुपम शक्ति हो, जसलाई आफूभित्र कैद गरेर मानिसले सङ्घर्षका अनन्त यात्रा तय गर्न सक्छ ।

यसमा तपाइको मत

अन्य समाचार