प्रसङ्ग बौद्धिक रुपान्तरण

प्रा.डा. सुरेन्द्र केसी

 

राजनीतिमा बेइमानी र अधर्मीको जति नै जगजगी भए तापनि सूचना र प्रविधिमा आउँदै गरेको तीव्रताले गर्दा हामी आफैँ पछ्यौटे अवस्थामा रहेकै सन्दर्भमा पनि हाम्रो देशमा उल्लेखनीय बौद्धिक जागरण र प्रसारण भइरहनसक्नु सुखद् पक्ष बनेको भन्नुपर्ने अवस्था छ । फलस्वरुप ०४७ को परिवर्तनपछि होस् वा ०६३को परिवर्तनपछि, दुवै परिपे्रक्ष्यमा देशको बौद्धिक चहलपहल त्यत्ति नै जीवन्त देखिन्छ । जहाँ अनेकौं दैनिक, साप्ताहिक, पाक्षिक र मासिकमात्र होइन टीभी, एफएम र अनलाइनहरु पनि त्यत्तिकै छ्यापछ्याप्ती प्रकाशन भइरहेका छन् ।

तिनमा जति नै तेरो मेरो र अन्य सङ्कीर्ण पक्षहरुको प्रमुख रहने भए पनि कुनै न कुनै रुपमा सञ्चारजगतबाट हामीले न्याय र अवसर पाएकै छौं । अन्ततः तिनको असर वा प्रतिफल कमी–बेसी हामी सबैले पाएका छौं । र, तिनले नचाहेर पनि हामी सबै जीवितै छौं । हाम्रो विचार पनि गएकै छ र दुईजनाले हामी र हाम्रो विचार पनि सुनेकै छन्, पाएकै छन् । निश्चय नै यो सामान्य कुरा होइन । त्यसैले ती सञ्चारसाथीहरु धन्य छन्, जसले हामीलाई यो अवसरमात्र दिएनन्, तिनीहरु हाम्रा लागि अँध्यारोमा ‘जूनकीरी’ नै भए ।

परिवेश
तथापि सत्य के छ भने नेपालमा अझै पनि सिठ्ठो बौद्धिकले गरी खान पाउँदैन । उसका लागि सम्पूर्ण ढोका बन्द छन् । ‘गोरखापत्र’मा सम्म एउटा लेख छपाउनु प¥यो भने पार्टीको सिफारिस चाहिन्छ । अन्य ‘ब्रोडसीट’को त कुरै रहेन । प्रज्ञा–प्रतिष्ठानदेखि विश्वविद्यालय अनि अस्पतालदेखि प्रहरी प्रशासनसम्म पूराका पूरा पार्टीकरण गरिएको छ । आज पार्टी प्रवेश गर्नुहोस् भोलि प्राज्ञ भइहाल्नु हुनेछ । दलका भ्रातृ सङ्गठनले सिफारिस नगर्दासम्म त्यहाँ कोही पनि पुग्न सक्दैन । त्रिवि त यस्तो अखडा भइसक्यो, जसलाई ‘विश्वविद्यालय’ भन्नुभन्दा पार्टी मुख्यालय भन्नु धेरै उचित हुनेछ ।
राजाको पालामा उत्तरपुस्तिका केरमेट गरी पदोन्नति पड्काउनेहरुविरुद्ध लोकमानले झैं डण्डा लाएको प्रतिफल दुवैले भोगेकै छन् । तर, यो प्रक्रिया तिनको आवशानसँगै पुनः व्याप्त बनेको छ । जसले यस्तो भन्छ, उसले ‘प्रतिगामी’को खप्की खाने परम्परा पनि त्यत्तिकै बढेको छ । आश्चर्य के भएको छ भने हाल त्यही ‘मरञ्च्याँसे’ अख्तियारले पनि पन्छिन नसकेर त्रिविको ‘सेवा आयोग’मा हात हाल्दा त उनै राजा र लोकमानले नपाएको तत्व र प्रवृत्ति पो नाङ्गै देखिए त्यहाँ त ! अकल्पनीय अपराध, बौद्धिक अपराध रङ्गेहात फेला प¥यो त्यहाँ ! के यसो भन्नु वा गर्नु प्रतिगामी हो ? तर, हाम्रो देशमा लगातार सत्यको हार र ढाकछोप बढेरै गइरहेको अवस्था छ, किन ? निश्चय नै यो गम्भीर प्रश्न र खोज्नैपर्ने विषय वस्तु बन्दै गएको छ ।

सन्दर्भ पुस्तक समीक्षा
नेपालमा सदैव राजनीतिक क्रान्ति भयो, बौद्धिक क्रान्ति कहिल्यै भएन । युरोपमा पहिला बौद्धिक क्रान्ति भयो, औद्योगिक क्रान्ति भयो र पुनर्जागरण भयो । त्यसपछि मात्र राजनीतिक क्रान्ति भयो । फलतः ती सबै प्रक्रियाहरु अर्थपूर्ण भए परिणामदायी बने । हाम्रोमा सदैव राजनीतिक क्रान्ति भए तर बौद्धिक क्रान्ति कहिल्यै भएनन् । फलतः जसले जे लेख्यो त्यसमा पनि अत्याधिक आफ्नो दल, विचार र पक्षहरुमात्र प्रतिध्वनित भए ।

बौद्धिकता र बौद्धिक धर्म सदैव उपेक्षित भइरहे । फलतः त्यहाँ पनि तेरो विचार, मेरो विचार र मेरो दल आदि हावी हुन पुगे । जो आज तेरो जाति, मेरो जाति, यो क्षेत्र र ऊ लिङ्गको तहसम्म ओर्लिन आइपुगेको स्थिति छ । यो आफैँमा त्यत्रो विरोधाभाष पूर्णतः अवश्य पनि होइन किनभने तिनै समष्टि नै हाम्रो हो । तर, त्यसको तरिका, शैली र आशय ठ्याक्कै यसको विपरीत नै हो । जहाँ स्रष्टा लेखन संसारको अखडामा त आइपुग्यो तर उसको सिर्जनालाई सिङ्गो मानवजगतले नभई आ–आफ्नो पन्थले मात्र अपनायो । आफू पक्षधरले मात्र त्यसलाई अँगाले, समग्रले अँगालेनन् । फलतः समाज रुपान्तरणको बौद्धिक वर्गले जुन योगदान दिनसक्नु पथ्र्यो, त्यो विल्कुलै हुन सकेन । त्यसको विपरीत स्रष्टाहरु पनि दल, गुट, जातजाति, क्षेत्र, लिङ्ग र पन्थको सिकार हुन पुगे ।

 

यसै सेरोफेरोमा हालैमात्र अमेरिका कार्यक्षेत्र रहेका स्रष्टा दम्पत्ति राजेन्द्रप्रसाद अर्याल र सीता अर्याल अनि राजनीति क्षेत्रका आरके मैनाली र रामरिझन यादवले विधागतरुपमा बेग्लाबेग्लै सिर्जना बौद्धिक बजारमा पस्किनाले नेपाली वाङ्मयको भण्डारमा यी कृतिले आफ्नो स्थानबाट योगदान पु¥याउने कार्य हुन निश्चय नै सुखद् पक्ष बनेको छ । स्वभावतः मैनाली र यादवका पुस्तकले समाजमा उल्लेख्य विवादहरु उब्जाए ।

अर्याल दम्पत्तिका चाहिँ सुन्दर उपहारमात्र हुन सके समाजका लागि किनभने दम्पत्तिले चाहिँ आफूहरुले विदेशी भूमिमा पसिना बगाइरहँदा मनमा उत्पन्न डायस्पोरिक मनोविज्ञान र विदेशी अनुुभूतिको जगमा उभिई सिर्जनाको सुगन्ध फैलाउने प्रयास गरे । तथापि, रचनाहरुमध्ये सीताका आधा यसपूर्व मधुपर्कलगायतका काठमाडौंबाट प्रकाशित पत्रपत्रिकामा प्रकाशित भइसकेका र बाँकीमात्र हाल आफू कार्यरत क्षेत्रकै जगमा उभिएर लेखिएका सिर्जना देखिए भने राजेन्द्रले चाहिँ पूराका पूरा अमेरिकी, पेरिसदेखि लण्डनसम्मको यात्रामा समेटिएका अनुभूतिहरु उभ्याउने प्रयास गरेको पाइयो ।


यादवले देशमा जातीय–क्षेत्रीय असन्तुष्टि, विद्वेष र विद्रोहको परिवेश छ, त्यसैको आगोमा घ्यू थप्नेतर्फ नै स्वयंलाई उद्वेलित गराइराखेको पाइयो । तथापि, ०४६ पृष्ठको भीमकाय ग्रन्थमा सय बढी तस्वीरका साथै जसरी झण्डै ६१ परिष्टअन्तर्गत ऐतिहासिक सामग्री राख्ने कार्य भयो । त्यसरी नै मैनालीबाट जसरी सही अर्थमा नलेखिएको इतिहास लेख्ने कार्य भयो । दुवैले नेपाली इतिहासको तुलनात्मक अध्यापनमा उल्लेख्य योगदान पुग्यो भने अर्याल दम्पत्तिले पनि नेपाली साहित्यको डायस्पोरिक लेखनमा वाञ्छित योगदान हुन पुग्यो । अतः चारै लेखक धन्य र बधाईको पात्र रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार