नेपाली गीति ऐनामा वीरेन्द्र राईको अनुहार

–चन्द्र रानाहँछा
म मरेको पल तिमी डोली चढ्नू…
माथि उद्धृत गीतको सम्वेदनासित तपाईं कति भिज्नुभएको छ ? नेपाली गीति जगतका गम्भीर स्रोता÷पाठकहरु पृथ्वीमा रहुञ्जेलसम्म तिनका हृदयमा बाँचिरहने यस गीतसँग आफ्नो अन्तर्यको चरमअनुभूतिको मापन सायद गीतकार स्वयम्ले पनि गरेका छैनन् कि गर्न असमर्थ भए ? सोध्नू छ, भेटमा । यो यस्तो गीत हो, जहाँ प्रवाहित करुणा, मर्म र उच्च प्रणयी भावुकताले स्रोता जोकसैको मन प्राणलाई मैन जसरी पगालिदिन्छ र पुनर्निर्माण गरिदिन्छ ।
संसारमा अहिले पनि गीतलाई हृदयले सुन्ने र कानले सुन्ने यी दुई प्रकारका स्रोताहरु छन् । म दाबी गर्न सक्छु कि नेपाली आधुनिक गीति दुनियाँमा हृदयले सुनिएका गीतहरुमध्ये अत्याधिक रुचाइएको अर्थात् आमस्रोतालाई द्रविभूत पारेका गीतहरुमध्ये अग्रपङ्क्तिमा आउँछ यो गीत । जसको लोकप्रियताको रेकर्ड आज पर्यन्त सुरक्षित छ हामीमाझ । यद्यपि तिनै प्रसिद्ध गीतका सर्जक वीरेन्द्र राईलाई प्रथमचोटी भेट्दा तपाईंमा उनीप्रति उनका रचनाभन्दा पृथक दृष्टिकोण बन्न सक्छ । सत्य ओकल्ने हो भने झण्डै दशकअघि उनीसित प्रथ चोटी ठोक्किँदा त्यस बेलासम्म मभित्र उनको गीतद्वारा निर्मित उनीप्रतिको सुन्दर विम्ब तत्काललाई नराम्ररी भत्किएको थियो ।
हुन सक्छ मैले अरु असल स्रष्टामा खोजिरहेको अझ भनौं लागू हुनैपर्ने केही आधारभूत स्वभावगत सर्तहरु उनमा पनि खोजे हुँला र ती सर्जकहरुबाट उनी विमुख भएको पाएपछि ढलेको थियो सायद त्यो उनीप्रतिको भव्य विम्ब । मेरो अज्ञानता नै सही, अहिले पनि म हरेक सिनियर स्रष्टाहरुमा तिनका सिर्जनाहरुसित तादाम्यता राख्ने त्यस्ता स्वभावगत सर्तहरु खोजिरहन्छु, जसका पर्यायहरु हुन्– हार्दिकता, शालीनता, गम्भीर्यता र इमानदारीता । फेरि पनि कुनै मानिस त्यसमा पनि गहकिला स्रष्टाहरुभित्र प्रवेश गर्न अनि उनका तमाम रहस्यहरु पत्ता लगाउन एकचोटी भेट नै पर्याप्त रहेनछ भन्ने बोध म मा वीरेन्द्र राईसँगको दोहोरो–तेहोरो भेटहरुपछि हुँदै गयो । यसरी बारम्बारको भेट र भेटपछिको प्रत्येक आत्मिक घर्षणहरुपछि मभित्र लगभग ढलिसकेको उनीप्रतिको त्यो विम्ब पुनःनिर्माण भएर आयो । जो अहिलेसम्म मेरो हृदयमा कैद छ । सम्बन्धको वृक्ष जब फैलिँदै जान्छ, तबमात्र त्यसका जरा, हाँगा, पात र फूलका पत्र–पत्र पढ्न सम्भव रहेछ ।

गाउँमै हुँदा रेडियो नेपालबाट प्रशस्त सुनिएका सुन्दर काव्य करिब पचहत्तर प्रतिशत जटिल जीवनपछि आफू सहर छिरेपश्चात् सहरमै पढ्ने अवसर प्राप्त गरें ।

२०३८ सालतिर कविताबाट लेखन यात्रा प्रारम्भ गरेका वीरेन्द्र प्रथमचोटी २०४३ सालमा रेडियो नेपालको आँगन टेकेका थिए । त्यस बेला उनको भेट नातिकाजी, तारादेवी, पाण्डव सुनुवार र श्याम थापाजस्ता भीमकाय प्रतिभाहरुसित भएको थियो । प्रथम भेटमा ती अग्रजहरुलाई भगवान्लाई जसरी एघार हात परैबाट दर्शन फूलमात्र फर्काएका उनी त्यो रातभर निदाउनै सकेनन् । उनलाई आफैभित्रको गीतकारले लगातार ऐठन गराइरह्यो । रेडियो नेपालप्रतिको अगाध मोहले व्याग्र तानिरहेको उनलाई अन्ततः उनीभित्रकै गीतकारले घचेट्दै त्यही आँगनमा पुनः अर्कोचोटी उभ्यायो । दोस्रोचोटी रेडियो नेपाल पुग्दा भेटिएका होनाहार सङ्गीतकर्मीहरु बुलु मुकारुङ, दिनेश सुब्बा, प्रकाश श्रेष्ठ र सुरेश अधिकारीसँगको चिनाजान र सृजनात्मक उठबससँगै त्यही समय भर्खरै साङ्गीतिक क्यारियर सुरु गरेका गायक यम बरालको आवाजमा वीरेन्द्रको वेदनाको हुरी चल्छ जिन्दगीको माझमा बोलको पहिलो गीत रेकर्ड भयो । जसमा दिनेश सुब्बाले सङ्गीत भर्न भ्याए । २०४७ सालमा रेकर्ड भएको यो गीतले आंशिक सफलता प्राप्त गरेपछि हौसिएका वीरेन्द्रको दोस्रो रेकर्डडेट गीत हो ‘म मरेको पल, तिमी डोली चढ्नू…’ सुरेश अधिकारीले आफ्नै सङ्गीतमा गाएको यो गीतले अन्ततः गीतकार वीरेन्द्रलाई मात्रै नभएर गायक सुरेश अधिकारीलाई समेत नेपाली सुगम गीत–सङ्गीत मञ्चमा पर्दापर्णमात्रै गराइदिएन, दुवैलाई अमर बनाइदियो । यस गीतले कमाएका प्रसिद्धिले तब समयसम्म अन्य गीतहरुले बनाएका चर्चाका सहश्र सीमाहरु भत्काइदियो । अब सामान्य मानिसबाट रातारात वीरेन्द्र राई सेलिब्रेटी गीतकार बने भने सुरेश अधिकारी सेलिब्रेटी गायक । त्यसपश्चातका दिनहरुमा सृजनात्मक किनारा छोएर कहिले भँगालो छुट्दै त कहिले मिसिँदै बगिरहेका यी दुई सृजनाका प्रसिद्ध नदी अहिले एक अर्काबीच सामिप्यताको कुन दोभानमा कसरी सुसाइरहेछन्, म अनभिज्ञ छु । परन्तु, कदापि भुल्न नहुने सत्य के हो भने दुवै स्रष्टाको अमिट नामको न्वारन गरिदिने यो गीत नै भोलि अवशानपछि पनि दुवैलाई सगरका शुक्रताराजस्तै सदा चम्काइराख्ने कालजयी गीत बन्यो । जानकारहरुका अनुसार अहिले पनि झट्ट हेर्दा कवि÷गीतकारै होइनन् जस्ता लाग्ने सौखिन तथा रवाफिला वीरेन्द्र राई त्यसताका भूइँको कुरै गर्दैनथे रे । जसको अवशेष यदाकदा उनमा अझैसम्म भेट्न सकिन्छ । यद्यपि उनले आफ्ना हर रचनामा सधैं भूइँकै जीवन र कथाहरु लेखे । मानिसका तप्त पीडाहरुलाई कति कलात्मकरुपले गीतिमालामा उन्न सक्थे भन्ने कुराको पुष्टि यम बरालकै आवाजमा रेकर्डेड उनको यस गीतले गर्छ–
‘जति भोग्छु आफैँलाई
भार भा’छ जीवन,
जित्न खोज्दा यिनै खेलमा
हार भा’छ जीवन…’
यसरी अक्षरहरुमा हारहरु लेखे पनि वीरेन्द्र राई सधैँ जित्नेमात्र सपना देख्थे । सपना देख्ने मान्छे नै बोल्छ पनि । वीरेन्द्र राईका विराट स्वप्नाकाशमा दोस्रोलाई उज्यालो बाँड्ने प्रेमको चहकिलो जून थियो । सुन्दा कठोर लाग्ने उनका हरेक शब्दमा प्रोमिल लय निहित हुन्छ । अझै त्यस बेलाका युवा आकर्षण प्रेमिल गीतकार वीरेन्द्र रङ्गीन स्केच कैयन युवतीले कल्पनाको सफेंद क्यानभासमा नकोर्ने कुरै भएन । तीहरुमध्येका कुनै युवतीलाई वीरेन्द्रले पनि भनेको कलशमा दीपसरी प्रज्वलित गरेका थिए । अफसोच ! यस्तो परिस्थिति आइदियो जीवनको मोडमा कि उनका सपनाका तमाम फूलहरु विपना घोचिरहने काँढा बनिदिए उनका लागि । अतीत भन्नु आफैँले कुल्चिछाडेको पाइलाको डोबजस्तो कदापि हुँदैन, जो आफूसित छुट्टिनासाथ बाटोमै हराई जान्छ । अतीत त बरु बाटैजस्तो हुन्छ, जो छलिएरै हिँड्दा पनि सधैँ भेटिरहन्छ । जसरी भेटे वीरेन्द्रले पनि कुनै विशेष मोडमा बाटोजस्तो आफ्नो अतीत । तब कोरे हृदयको निबले उनले यी कालजयी गीति लाइन–
तर आज यो शहरमा
कताबाट आयौ
बिर्सिएकी थिइनौ भने
उपहार के ल्यायौ
उपहारमा तिमीले
चिठ्ठी लेखेजस्तो लाग्यो
रोधीघरमा तिमीले
बाटो छेकेजस्तो लाग्यो ।
बुलु मुकारुङको सङ्गीत र उदय सोताङको आवाजमा खिलेको यो गीत २०४९ तिर रेडियोमा रेकर्ड भएपछि अझ आमस्रोतामाझ प्रिय बने वीरेन्द्र । उसो त त्यसताका गीतकार भुपाल राई र बुद्धवीर लामाहरुको दबदबा सानो थिएन । श्रवण मुकारुङ र रमेश क्षितिजहरुको रापताप पनि उस्तै थियो । त्यस्तो चुनौतीपूर्ण समयमा समकालीन पुस्ताका घगडान गीतकारहरुको बीचबाट गीतकार वीरेन्द्रले आफ्नो छुट्टै फराकिलो बाटो बनाए । गीतहरुमा स्वयम्ले सङ्गीत भरेर गाउनेसम्म क्षमता राख्ने उनले शम्भु राईसँगको संयुक्त गायनमा ‘सल्लेरी वन प¥यो…’ बोलको लोकदोहोरी एल्बम पचासको दशकमा बजारमा ल्याए, जुन पूर्वेली ठेट लोकलयमा स्थानीय जनजीवन र प्रेमलाई जस्ताको तस्तै टिपेर मिठास ढाँचामा उनिएको थियो । उक्त गीत त्यस बेला पूर्वाञ्चलमा एकछत्र घन्किएको थियो । भोगाइको शूक्ष्मतम् अनुभूति, अनन्त सपना, अगाध तृष्णा र अतृप्तताहरुलाई नै उनको कवि अन्तर्यले आफ्नो काव्यिक पथ बनाए । नत्र कसरी लेखिन सम्भव थियो यस्तो गीत–
उस्तै होला जस्तो लाग्छ
तिम्रो घरको आँगन
हेर्ने मृगतृष्णा सारै
बढिरहेछ झन्–झन्…
बुलु मुकारुङकै गहिरो सङ्गीतमा राजेश पायल राईले स्वर भरेको वीरेन्द्रको यो गीत मलाई उनको सबैभन्दा मनपर्ने गीत हो । गीतसङ्ग्रह ‘हिरेम्पा’ प्रकाशनमा ल्याएका उनको पछि ‘सादाङ्गी फूल’ शीर्षकको कवितासङ्ग्रह बजारमा आयो । असल गीतकार, असल कवि पनि हो भनेर दावी गर्नलाई उनको उक्त सङ्ग्रहमा सङ्ग्रहित करिब ७५ प्रतिशत कविताहरु पर्याप्त छन् । गीत र कविता यी दुईमध्ये उनको प्रिय विधा गीत नै हो ।
सर्वोत्कृष्ट गीतकार (रेडियो नेपाल–२०६१) एलम्वर सङ्गीत पुरस्कारलगायत दर्जनौं प्रतिष्ठित पुरस्कार÷सम्मान प्राप्त गरिसक्नुभएका गीतकार वीरेन्द्र राई एक स्वाभिमानी गीतकार हुन् । उनी गीतको मुठ्ठा च्यापेर कुनै गायक÷सङ्गीतकार समक्ष झुक्दै कहिल्यै गएनन् । बरु केही समयअघि बागबजारस्थित साकेला आर्ट सम्मुखको कवि क्याफेमा एक चलेका गायक÷सङ्गीतकारले गीत माग्दा वीरेन्द्रले उल्टै ती कलाकारको झाँको झारेको दृश्य अहिले पनि मेरो मानसपटलमा ताजै छ । पछिल्लो समय कला साहित्यमा राजनीतिको कुरुप प्रभाव परेको जिकिर गर्ने उनी यस सन्दर्भमा बोल्छन्– ‘राजनीतिले मानिसको जीवन–जगतसँग सरोकार राख्ने हरेक अवयव तथा मानिसले जिउने क्रममा प्राप्त गर्ने र गुमाउने प्रत्येक मूर्तता÷अमूर्ततासित प्रत्यक्ष अर्थ राख्छ र राख्नैपर्छ तर त्यसको पनि निश्चित सीमा र सौन्दर्य हुन्छ ।’ उनी थप्छन्– ‘जब त्यो सीमा र सौन्दर्य नष्ट हुन्छ, तब स्रष्टाहरु असलमा स्रष्टा नभएर उनीहरु राजनीतिको बाउसेजस्तामात्रै हुन्छन्, यसो हुनु हुँदैन ।’
प्रायःजसो विशेष सभा–समारोह र साहित्यक जमघटमा मात्रै उपस्थित हुने चुजी कवि÷गीतकार वीरेन्द्रको मूल विशेषता भन्नु उनी सर्जकको होइन सृजनाको अनुहार हरेर फ्याक्ट प्रतिक्रिया दिन्छन् । कुनै स्रष्टा तत्काललाई रिसाउला कि भनेर उनको सृजना–क्वालिटी ध्वस्त हुने गरी चिप्लो प्रंशसा गर्दैनन् । भित्री ब्रह्मले जे देख्छन्, बाहिर त्यही ओकल्ने स्वभावका कारण बिरामी कलमवीरहरु उनीसित टाढिएका छन् भने कति स्वस्थ कलमवीरहरु नजिकिएका पनि छन् । तर, यो सबको उनलाई रत्तिभर प्रभाव छैन । प्रभाव छ त उनलाई केवल लेख्न बाँकी जीवन्त रचनाहरुको । त्यही कारण अक्सर उनी राजधानीको शान्तिनगर आसपासका सहज र एकान्तिक क्याफेहरुमा सिसाकलम र कापीका पानाहरुसित खेलिरहेका भेटिन्छन् । जुन बेला वीरेन्द्र सारथी सिर्फ ब्ल्याक कफी, सूर्य चुरोट र उनैभित्रका गीतकार वीरेन्द्र राई मात्र हुन्छन् । म उनीभित्रको त्यही गीतकार वीरेन्द्रलाई नमन गर्दै सृजना निरन्तरताको कामना गर्छु ।

यसमा तपाइको मत

अन्य समाचार